Loading... आजः ८ आश्विन २०७७, बिहीबार

गोही संरक्षण गर्न बाँकेमा अध्ययन गरिँदै

गोही संरक्षण गर्न बाँकेमा अध्ययन गरिँदै

बाँके । विश्वमै अति सङ्कटमा रहेको घडियाल गोही संरक्षणका लागि बाँकेमा पहल थालिएको छ । राप्ती नदीमा माछा र गोहीको प्रशस्त पाइने भएकोले तिनीहरुको अवस्था, संख्या र बासस्थानको अवस्था पत्ता लगाउन पहल थालिएको हो ।
‘निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदी र आसपासको क्षेत्रमा विभिन्न प्रजातिका चरा, माछा, गोही र जलचर जनावरहरुका बारेमा अध्ययन भइरहेको छ,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले भने, ‘राप्ती नदी र आसपासमा बसोबास गर्ने जलचर जनावरको अवस्था अध्ययन गरिरहेका छौं ।’
संरक्षणको अभावमा गोहीहरु लोप हुने अवस्थामा पुगेका छन् । राप्ती नदीमा मगर गोहीका साथै विश्वकै दुर्लभ घडियाल गोही पनि पाइने गरेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । गोही संरक्षण गर्न सके पर्यापर्यटनको विकासका लागि नयाँ गन्तब्यको खोजीमा सहयोग पुग्ने उनको विश्वास छ ।
स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो । प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर ३ सयभन्दा केही बढी भएको अनुमान छ । नेपालमा खासगरि नारायणी, राप्ती, कर्णाली र बबई नदीमा घडियाल पाइने बताइन्छ । घडियाल गोहीले स्वच्छ वातावरणको संकेत गर्ने संरक्षणकर्मी हेमन्तराज काफ्ले बताउँछन् ।
काफ्लेले भने, ‘घडियालको दुश्मन प्रदूषण तथा चोरी शिकार रहेको छ । फागुन चैत ताका पारेका अण्डालाई बालुवामुनि उसले लुकाएको स्थानबाटै मानिसहरुले झिकिदिने र खाइदिने एवं उसको मासु र छालाका लागि मारिदिने जस्ता घटनाले गोही जोखिममा परेका छन् ।’ यद्यपी नेपालले प्रजनन केन्द्रमा कृत्रिम रूपमा बच्चा कोरेलेर संरक्षण गर्न थालेको छ ।
बाँके निकुञ्ज अन्तरगत पर्ने राप्तीसोनारी गाउँपालिका–१ गाभरदेखि अगैयासम्मको क्षेत्रमा करिब पाँच घण्टा लगाएर अध्ययन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए । केही दिनअघि जनप्रतिनिधी, निकुञ्ज लगायतको टोलीले राप्ती नदी र आसपासमा बसोबास गर्ने गोहीलगायत जलचर जनावरको बासस्थान अवलोकन गरेको थियो ।
‘राप्ती नदी माछा र गोहीको अवस्था, संख्या र बासस्थानको अवस्था पत्ता लगाउन अध्ययन गरेका हौं,’ उनले भने, ‘अहिले पनि राप्ती नदीमा गोहीको संख्या सन्तोषजनक रहेको हामीले अनुमान गरेका छौं । राप्ती नदी गोहीका लागि उपयुक्त बासस्थान बन्नसक्छ ।’ राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गोही संरक्षणका लागि निकुञ्जले थालेको प्रयास सकारात्मक भएको बताए ।
नेपालमा सन् २०१६ को गणनामा चितवनको राप्ती, नारायणी, बबई र कर्णाली नदीमा गरी कुल १९८ संख्या रेकर्ड गरिएको छ भने भारतमा एक हजार २५५ वटा घडियाल गोहीको संख्या रेकर्ड गरिएको छ । यद्यपी गोहीको यसको संख्या वृद्धि भएको अनुमान गरिएको छ । हाल घडियाल गोही संसारमा नेपाल र भारतमा मात्र पाइने गरेका छन् ।