Loading... आजः ५ आश्विन २०७७, सोमबार

‘कक्षामा छिर्दा मृतक साथीहरूको अनुहार झलझल्ती याद आयो’

राम्री भीर दुर्घटनामा बाँचेका विद्यार्थी भन्छन्
‘कक्षामा छिर्दा मृतक साथीहरूको अनुहार झलझल्ती याद आयो’

दाङ । सल्यान जिल्लाको बागचौर नगरपालिकाका १६ वर्षीय विजय डाँगी र १७ वर्षीय चूडामणि वली यही पुस ६ गते अरू साथीहरूसँगै शैक्षिक भ्रमणमा गएका थिए । भ्रमणबाट फर्कंदा दुवै कपुरकोटमा ओर्लिए । उनीहरूलाई छाडेर अघि बढेको बस करिब सवा ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्री भीरमा दुर्घटना पर्यो ।
दाङको घोराहीस्थित सहिद कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयमा अध्ययनरत कुल ३८ विद्यार्थीमध्ये १९ जनाको दुर्घटनामा मृत्यु भयो । दुई जना शिक्षकले ज्यान गुमाए । १४ जना विद्यार्थी घाइते छन् । चालक र सहचालकसमेत २३ जनाको ज्यान गएको यो दुर्घटनाबाट विजय र चूडामणिसहित ५ जना विद्यार्थी जोगिएका थिए ।
बाँकी ३ जना ज्वरो, रुघाखोकीजस्ता संक्रमणले भ्रमणमै नआएको शिक्षालयका संयोजक केशरमान बुढाथोकी बताउँछन् । विजय र चूडामणिले साँझ अबेर मात्र दुर्घटनाबारे थाहा पाए । अन्य कलेजमा पढ्ने चिनजानका साथीले फोन गरेर सुनाउनासाथ खङरङ्ग परेका उनीहरूको मनोदशा अझै उक्सिसकेको छैन । रौं अन्तरले दुर्घटनाबाट छलिएका उनीहरू केही दिन विद्यालय टेक्नधरि सकेनन् ।
विद्यालय परिसरसम्म पुगेर पनि कक्षाकोठा छिर्न सकेनन् । सुनसान विद्यालय र रित्तो कक्षाकोठा देखेर त्यसै आँत भरिएको उनीहरू बताउँछन् । ‘विद्यालय छिर्नेबित्तिकै मेरो मनस्थिति अर्कै भयो,’ विजयले भने, ‘मृतक र घाइते साथीहरूका अनुहार झलझल्ती याद आयो । कक्षाकोठामा प्रवेश गर्ने हिम्मतै जुटेन ।’
शिक्षकहरूको हालत यस्तै छ । तै उनीहरू आँट बटुलेर भन्ने गर्छन्, ‘तिमीहरू जति जना आए पनि पढाउँछौं ।’ विद्यार्थीहरू भने अझै टुंगोमा पुग्न सकेका छैनन् । सँगै पढेका र सँगसँगै शैक्षिक भ्रमणमा गएका साथीहरूलाई एकाएक गुमाउनुपर्दाको चोटले उनीहरू होसहवास गुम भएजस्ता देखिन्छन् । ‘म त कति दिन राम्ररी सुत्न पनि सकिनँ,’ चूडामणिले भने, ‘पहिलेकै कक्षाकोठामा बसेर पढ्न सक्छु जस्तो लाग्दैन ।’

‘विद्यालय छिर्नेबित्तिकै मेरो मनस्थिति अर्कै भयो,’ विजयले भने, ‘मृतक र घाइते साथीहरूका अनुहार झलझल्ती याद आयो । कक्षाकोठामा प्रवेश गर्ने हिम्मतै जुटेन ।’

घाइते साथीहरूसँग फोनमा कुराकानी गर्दा अधिकांशले ’फेरि त्यहाँ फर्केर पढ्न नजाने’ जवाफ दिएको उनले बताए । वन विज्ञान अध्ययनरत यहाँका विद्यार्थी सल्यान, कपुरकोटस्थित मूलपानीको बोटानिकल गार्डेन घुम्न गएका थिए । उक्त शिक्षालय गत असोज १८ देखि सञ्चालनमा आएको हो । दुई महिनामै पहिलो ब्याचका आधा विद्यार्थीको ज्यान गएपछि शिक्षालय बन्द छ । सबै विद्यार्थी एउटै कक्षामा पढ्थे ।
घाइते विद्यार्थीमध्ये ८ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् भने ६ जना अस्पतालको फलोअपमा छन् । प्रिन्सिपल यादव सुवेदीका अनुसार दुर्घटनापछि १३ दिन शिक्षालय बन्द रह्यो । त्यसपछि पनि विद्यार्थीहरूले पुरानै ठाउँमा पढ्न रूचि नदेखाएपछि अन्यत्रै कोठा भाडामा लिएर कक्षा सुरू गर्ने तयारी गरेको उनले बताए ।
’विद्यार्थीको मनोभावना बुझेर हामीले पुरानो ठाउँमा नपढाउने निर्णय गरेका छौं,’ उनले भने, ‘कतिपय विद्यार्थीले यहाँ पढ्दै नपढ्ने भनेका छन् । नआउनेलाई करकाप गर्ने कुरा आउँदैन, जति आउँछन् त्यति विद्यार्थीका लागि मात्र भए पनि पढाइ सुरू गर्छौं ।’ उनका अनुसार काठमाडौंमा उपचाररत जुम्लाका एक विद्यार्थीले उतै पढ्ने इच्छा व्यक्त गरेका छन् भने अर्का एक जनाले पढाइ छाड्ने बताएका छन् ।
अरू घाइते विद्यार्थीले पनि पढ्ने कि नपढ्ने निश्चित जवाफ नदिएको उनले बताए । ‘लामो उपचार गर्नुपर्ने घाइते विद्यार्थीलाई अर्को ब्याचमा राखेर पढाउन सकिन्छ,’ उनले भने । शिक्षालयले घोराहीको कर्जाहीस्थित गैरागाउँ प्राथमिक विद्यालयमा केही कोठा लिएर पढाउँदै आएको थियो । यो प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को आंगिक शिक्षालय हो । यहाँ तीनवर्षे वन विज्ञान पढ्न प्रतिविद्यार्थी १ लाख रूपैयाँ तिर्नुपर्छ ।
यही कोर्स निजी संस्थामा ३–४ लाख पर्छ । सस्तो भएकाले दाङ, जुम्ला, रूकुम, रोल्पा, अछाम, डोटी लगायत जिल्लाबाट विद्यार्थी आउँछन् । विद्यार्थीहरूले भर्ना हुँदा नै ३५ हजार बुझाएका हुन्छन् । मृतक १९ जना विद्यार्थीका परिवारलाई जतिसक्दो छिटो उक्त रकम फिर्ता गरिने सुवेदीले बताए । शिक्षालयले फागुन १ देखि नयाँ कार्यक्रम पनि सुरू गर्न लागेको छ । दलित, मुस्लिम र विपन्नलाई पूर्ण छात्रवृत्तिसहित ५६० जना विद्यार्थीका लागि आवेदन माग गरिएको उनले जानकारी दिए ।