Loading... आजः ७ आश्विन २०७७, बुधबार

पोल्ट्री व्यवसायीको माग ‘पूर्ण सुरक्षा’

बाँके । बाँके र बर्दियाका पोल्ट्री व्यवसायीहरु पहिलो पटक एकै ठाउँमा भेला भएर विश्व पोल्ट्री दिवस २०७५ मनाएका छन् । दिवसका अवसरमा नेपागन्जमा आयोजित कार्यक्रममा उनीहरुले कुखुरा व्यवसायको पूर्ण सुरक्षाको माग गरेका छन् । व्यवसायीहरुले भारतबाट अवैधरुपमा भित्रिने कुखुरा पूर्णरुपमा बन्द गरिनुपर्नेमा जोड दिए ।
अझै पनि अवैध मानिएको कुखुरा तथा कुखुराजन्य बस्तुहरु ६० प्रतिशत भारतबाटै भित्रिने गरेकोमा यसलाई पूर्णरुपमा रोक्न व्यवसायीले माग गरे । व्यवसायीले नेपालगन्जमा बृहद कार्यक्रमको आयोजना गरी कृषि तथा पंशुपक्षी विकास मन्त्रालयलाई विभिन्न मागसहितको ज्ञापन पत्रसमेत बुझएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले छिट्टै नै कुखुरापालक किसानका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी गराइन् । किसानको माग सहितको ज्ञापनपत्र बुझ्दै सदस्य केसीले किसानको सकरात्मक माग पुरा गराउन आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाइन् ।
खुला सीमाका कारण भारतीय कुखुराको अवैद्य आयात भइरहेकाले बाँके र बर्दियामा कुखुराको परिक्षण गर्न छुट्टै ल्याव हुनुपर्ने, सरकारले कुखुरापालनमा अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि मिटरको सुविधा दिइनुपर्ने लगायतका मागहरु रहेको कार्यक्रमका संयोजक यज्ञप्रसाद सुवेदीले जानकारी दिए ।
सीमाबाट आयात भएकै कारण लागत अनुसार उत्पादन तथा विक्रीमा समस्या भइरहेको कुखुरा व्यवसायी सघं बाँकेका सचिव ईश्वरीप्रसाद सुवेदिले जानकारी दिए । कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके र बर्दियाका पाँच सय कुखुरापालक किसान तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।