Loading... आजः १३ आश्विन २०७७, मंगलवार

पर्यटकीय गन्तब्य बन्दै ‘सत्खलुवा होमस्टे’

पर्यटकीय गन्तब्य बन्दै ‘सत्खलुवा होमस्टे’

बाँके । बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको संख्या दिनप्रतिदिन बढिरहेको छ । पर्यटनको आवागमन बढ्न थालेसँगै खैरेनीका स्थानीयहरुले ‘सत्खलुवा होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।
पर्यटकको गास र बासलाई व्यवस्थित र सहज बनाउन होमस्टे सञ्चालनमा ल्याइएको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाई बताउँछन् । उनी भन्छन्, ‘खुला चरिचरणको रुपमा रहेको ताल संरक्षण गरेसँगै पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । उहाँहरुको बसाईलाई व्यवस्थित गर्न होमस्टे सञ्चालनमा ल्याएका हौं ।’
पूर्वपश्चिम राजमार्गको बैदी चोकदेखि ४ किलोमिटर उत्तरपूर्वमा पर्ने उक्त ताल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको छ । ताल संरक्षणमा स्थानीयहरुको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जाने आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । ‘अझ हिउँदे सिजनमा पिकनिक टोलीको निकै भीड छ ।
ताल घुम्न र पिकनिकका लागि दैनिक ५/६ वटा टोली आइरहेका छन् । कुनै टोली त बास बस्ने गरी आउँछन् । हामीले होमस्टेमै बास बसाल्ने गरेका छौं,’ अध्यक्ष चापागाईले भने । मानव बस्तीबाट मुस्किलले तीय सय मिटर टाढा रहेको तालमा सजिलैसँग विभिन्न प्रजातिका चराचुरुङ्गीहरु देख्न सकिन्छ ।
सहजै चराचुरुङ्गी हेर्न पाउने भएपछि आन्तरिक पर्यटकहरुका लागि सत्खलुवा ताल आकर्षणको गन्तव्य बनेसँगै होमस्टे सञ्चालकहरुको दैनिकी पनि बदलिँदो छ । दैनिक मेलापातमै बिताउने स्थानीयहरु आजभोली पाहुनाको स्वागत र सत्कारमा विताउँदै आएका छन् । ताल हेर्न र चराहरुको अवलोकन गर्न आउने पर्यटकहरुको व्यवस्थापनका लागि स्थानीयहरुले दुई वर्षदेखि होमस्टे सञ्चालन गरेपछि उनीहरुको दैनिकी बदलिएको छ ।

‘ताल संरक्षणसँग जोडिएका कामले तालमात्रै होइन, थारु लगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भैरहेको छ ।’

जैविक विविधता र बन्यजन्तुको संरक्षणमा जुटेका स्थानीयहरुले आफ्नै गाउँमा ‘होमस्टे’ स्थापना गरेपछि स्वरोजगारसमेत बनेका छन् । सत्खलुवा ताल नजिकै रहेको खैरेनी गाउँमा अहिले १० वटा होमस्टे सञ्चालनमा छन् । लोपोन्मुख दुर्लभ बन्यजन्तुको अबलोकन गर्न आउने पर्यटकहरुलाई उनीहरुले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नै होमस्टेमा खानपिन र बसोबाससँगै विविध साँस्कृतिक कार्यक्रम गरेर मनोरन्जन दिँदै आएका छन् ।
होमस्टेले स्थानीयहरुको जीविकोपार्जनमा टेवा पुर्याउनुका साथै पर्यटकहरुलाई घुमफिरपछि सहजरुपमा बास बस्ने व्यवस्था गरिएको सत्खलुवा सामुदायिक होमस्टे सञ्चालन उपसमितिका अध्यक्ष एवं होमस्टे सञ्चालक सुरेश आचार्यले बताए । ताल र पशुपंक्षी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस भनेर खैरनीमा स्थानीयले होमस्टे सञ्चालन गरेको आचार्यले बताए ।
थारु बाहुल्य क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक भेषभुषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्यु, खैजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ । अध्यक्ष आचार्य भन्छन्, ‘ताल संरक्षणसँग जोडिएका कामले तालमात्रै होइन, थारु लगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भैरहेको छ ।’
जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण सत्खलुवा ताल नजिक बस्ने स्थानीयमा साँस्कृतिक र जातीय विविधता पाइन्छ । खैरेनीमा थारु समुदायका ४ र बाहुन क्षेत्री समुदायका ६ वटा होमस्टे सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाहरुको ब्यवस्था गरिएको छ ।
होमस्टे सञ्चालन उपसमितिका अनुसार एक वर्षको अवधिमा करिब १ हजार ५०० आन्तरिक पर्यटक ताल घुम्नका लागि पुगेका छन् । पर्यटकहरु प्रतिदिन रु.८०० तिरेर होमस्टेमा बस्न सक्छन् । जसमा लोकल कुखुराको परिकारसमेत समावेश गरिएको छ । होमस्टेमा एकै पटक ६० जनासम्म बास सक्छन् ।
ताल घुम्न आउने कतिपय पर्यटकहरु होटलमा बस्नुभन्दा गाउँकै सफा र रमणीय पारिवारिक वातावरणमा खान र बस्न रुचाउने भएकाले यस्ता पर्यटकलाई होमस्टे सेवाले आर्कषण गरेको होमस्टे सञ्चालन उपसमितिका अध्यक्ष आचार्यले बताए । ‘विगतमा तालबाट माछा मारेर सिमित व्यक्तिले आन्दानी गर्दै आए पनि ताल संरक्षणपछि भने गाउँकै आम्दानीको स्रोत बनेको छ,’ आचार्यले भने ।
जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको तालमा विशेषगरी चैत–वैशाखको खडेरीमा जंगली जनावर तिर्खा मेट्न आउने गरेका छन् । ६० बिगाहामा क्षेत्रफलमा फैलिएको तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । सत्खलुवा ताललाई सरकारी क्षेत्रबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गर्न स्थानीहरुको माग छ ।