Loading... आजः ८ आश्विन २०७७, बिहीबार

वेश्यावृत्तिको दर्दनाक चित्र : ग्रोथ हार्मोन खुवाएर हलक्कै बढाइन्छन् नेपाली बालिका

वेश्यावृत्तिको दर्दनाक चित्र : ग्रोथ हार्मोन खुवाएर हलक्कै बढाइन्छन् नेपाली बालिका

काठमाडौं । भारतका विभिन्न सहरमा वेश्यावृत्तिका लागि पुराइएका नेपाली बालिकालाई ग्रोथ हार्मोन खुवाएर हल्लकै बढाउने गरिएको छ । वेश्यावृत्तिको यो अर्को चित्रबारे पीडितहरूले खुलेर बोलिसकेका छन् । विभिन्न बहानामा भारत पुराइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको हो ।
किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा भने यस्तो प्रकारको समस्याको उजुरी अहिलेसम्म नआएको प्रहरीको बुझाई छ । शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले बताएका छन् ।
त्यस्तै मध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘मलाई दिनको दुई पटक लामो लामो रातो चक्की औषधि खान दिइन्थ्यो । त्यो खाँदा मलाई बान्ता आउँथ्यो ।’ उनले अगाडी थपिन्, ‘सकेसम्म खान नपरोस् जस्तो लाग्थ्यो । तर खाएन भने गाली गर्थे, कुट्थ्ये र उनीहरूले नै खुवाइ दिन्थे । त्यो खायो भने छिट्टै ठूलो हुन्छौ र घर जान पाउँछौ भन्थे उनीहरूले ।’
उनी आठ वर्षकी हुदाँ पढ्नका लागि काठमाडौं आएकी थिइन् । एक महिलाले छोरीलाई गुणस्तरीय शिक्षा दिने भनी आश्वस्त पारेपछि आठ सन्तानमध्येकी एक उनलाई अभिभावकले ती महिलाको जिम्मेवारीमा पठाइदिएको उनले बताइन् । तर काठमाडौंबाट लगी भारतको एउटा शरहमा एउटा नेपाली परिवारसँग राखियो ।
जहाँ ती बालिकाले घरधन्दा गर्थिन्, त्यहाँ बसेको करिब दुई वर्षपछि उनलाई अर्को शहरमा पुराइएको उनी बताउँछिन् । ‘यहाँ पनि नेपाली परिवारसँगै बसेँ । उनीहरूले मलाई त्यो औषधि दिन थाले । त्यस्तो औषधि खुवाए र करिब दुई वर्षपछि उनीहरूले मलाई बेचिदिए । त्यो नराम्रो काम गर्ने ठाउँ थियो जहाँ म सबैभन्दा सानी थिएँ ।’
‘ती मानिससँग जादिनँ भन्यो भने तिमीलाई हामीले किनेको पैसा तिर्नपर्छ भन्दै कुट्थ्ये । धन्न म त्यहाँ पुगेको छ महिनामै पुलिसले छापा मार्योल र म त्यहाँबाट बाहिर आउन सकें ।’ भारतसँगका नाकामा प्रहरी र विभिन्न गैरसरकारी संस्थाको जाँच तीव्र भएपछि मानवतस्करहरूले साना बालिकाहरूलाई लक्ष्ति गर्न थालेको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन् ।
‘किशोरीहरूमाथि निगरानी भइरहेको समयमा साना बालिकालाई लिएर नाका पारि जान सजिलो भयो। कसैले सोध्यो भने मेरै बच्चा हो भने भइहाल्यो, सजिलो हुन्छ ।’ बालिकाहरूलाई राम्रो विद्यालयमा पढाइदिने प्रलोभन देखाएर लैजाने र पछि बेच्ने गरेको पाइएको खड्काले बताए । भारतमा रहँदा एउटी बालिकालाई समयभन्दा अघिनै किशोरी बनाएको देखेको अनुभव बेचबिखनविरुद्ध सक्रिय शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारको पनि छ ।
उनी भन्छिन्, ‘म भारतमा समस्यामा परेको बेला म परेकै ठाउँमा एक ९ वर्षको बालिका ल्याएको थियो । त्यसपछि ऊ दुई महिना जति गायब भयो । ऊ फर्किँदा मैले उसलाई चिन्न सकिनँ । मान्छै हलक्कै बढेर आएको थियो। तर बोली चाहिँ एकदम सानो थियो ।’ प्रायः गरीब र सीमान्तकृत परिवारका बालिकाहरू त्यहाँ भेटेको दुनुवारले बताइन् ।
यस्ता औषधि सुईमार्फत दिने गरेको भेटिएको र यसको थुप्रै नकारात्मक असर हुने चिकित्सकहरू बताउँछन् । डा. अरुणा उप्रेती भन्छिन्, ‘यस्ता औषधिले बालिकाको शरीर किशोरीको जस्तो बनाइदिन्छ । यसले जीवनभरि नराम्रो असर पार्छ । विशेषगरी पाठेघरमा असर गर्छ अनि हड्डीमा पनि समस्या आउनसक्छ ।’ पछिल्लो समय मानव बेचबिखन बढेको प्रहरीको आँकडाले देखाउँछ । २०७१–७२ सालमा बेचबिखनसम्बन्धी १८१ वटा मुद्धा दर्ता भएका थिए ।
त्यो बढेर २०७२–७३ त्यो संख्या २१२ रहेको मा २०७३–७४मा २२७ र २०७४–७५मा २५० भन्दा बढी पुगेको नेपाल प्रहरीले जनाएको छ । पीडितमध्ये करिब ८० प्रतिशत महिला छन् । विदेशमा घरभित्रको काम लगाइदिने, स्थायी बसोबासको व्यवस्था मिलाइदिने, विदेशीसँग विवाह गराइदिने जस्ता प्रलोभन देखाएर महिलाहरूको बेचबिखन हुने गरेको भेटिएको प्रहरीले जनाएको छ । मानव तस्करीको स्वरुप बदलिँदै गएको र यसलाई रोक्न सरकारी निकाय सजग हुनुपर्ने अभियानकर्मीहरू बताउँछन् ।