Loading... आजः ७ आश्विन २०७७, बुधबार

केन्द्रले मोफसललाई विभेद गर्छ भन्नेहरू कमसल लेखक हुन् : रेशम विरही

केन्द्रले मोफसललाई विभेद गर्छ भन्नेहरू कमसल लेखक हुन् : रेशम विरही

मंगली गुप्ताको पान, देब्रे आँखा, मुलाको बोक्रा, भित्ताको रङजस्ता कवितासंग्रहका रचनाकार रेशम विरही मूलतः कविता र निबन्ध विधामा कलम चलाउँछन् । गत वर्ष प्रेमदासको डायरी प्रकाशनमा ल्याएर उपन्यास विधामा पनि उपस्थिति जनाएका विरही चितवनमा बसेर साहित्य सिर्जना गरिरहेका छन् । विरहीसँग साहित्यका विविध विषयमा मनोज खतिवडाले गरेको कुराकानी :

अहिलेको नेपाली साहित्यको विषयवस्तु, कलापक्ष र यसले समाजमा छाडेको प्रभावलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
यतिवेला नेपाली साहित्यमा आख्यानहरू बढी लेखिएका छन् । बजारमा आएका सबैलाई म आख्यानकै रूपमा लिन्न, तर पुस्तक विशेषमा नगई सारमा भन्दा केही राम्रा कृति आएका छन् । ती आख्यान विचार प्रधान छन् । साथै समाज र मानवजीवनसँग समेत जोडिएका छन् । त्यसका अलावा सस्ता र विचारविहीन कृतिहरू पनि आइरहेकै छन् । हरेक कालखण्डमा गम्भीर, विचार प्रधानका साथै कमसल र विचारविहीन पुस्तक पनि आउँछन्  । हामीले भर्खरै साहित्यतर्फको यात्रा तय गर्दा पनि त्यस्ता सस्ता र कमसल साहित्य प्रशस्तै थिए । त्यसैले असल–कमसल, विचार प्रधान–विचारविहीन, कला र विषयवस्तुको ओज भरिएका र नभरिएका पुस्तकहरू हरेक कालखण्डमा आइरहन्छन् । कमसल साहित्य जुन वेला प्रकाशन भयो, दुई–चार हजार बिक्छन् र दुई–चार दिन हल्ला पिट्छन् । तर, गम्भीर साहित्य चीरकालपर्यन्त जीवित रहन्छन् । कमजोर साहित्य समयक्रममा आफैँ मर्छन् ।

पछिल्लो समय बजारको मागले नेपाली साहित्यलाई निर्देशित गरिरहेको छ भन्ने तर्क हाम्रा लागि नौलो रहेन । आममान्छेको जीवनभित्र नपसेर चाउचाउ बेचेजस्तो साहित्य बेच्न थालिएको छ भन्ने तर्कमाथि तपाईंको धारणा के छ ?
यसमा असहमत हुनुपर्ने ठाउँ छैन । तपाईंले भनेजस्तै चाउचाउ बेचेजस्तो बेचिएका साहित्यलाई मिडियाले पनि उछालिरहेको छ । यद्यपि मेरो आक्षेप सबै मिडिया र मिडियाकर्मीलाई होइन । सस्ता साहित्यलाई मिडियाले ठाउँ दिएका कारण गम्भीर साहित्य लेखिरहेका लेखक र तिनका रचना छायामा परिरहेका छन् । काठमाडौं र अझ त्यसभन्दा बाहिर बसेर गम्भीर ढंगले साहित्य सिर्जना गरिरहेका लेखकलाई खोज्नुपर्ने दायित्व मिडियाको पनि हो ।

केही वर्षयता आत्मकथा भन्दै लेखिने आत्मप्रदर्शनका सामग्री नेपाली साहित्यमा आइरहेका छन् र तिनले आत्मकथाको हुर्मत लिइरहेका छन् पनि भनिन्छ । आत्मकथाको बाढीले ‘आत्मकथा’लाई चाहिँ न्याय गरेको छ कि छैन ?
हामीले अघि पनि चर्चा गर्यौँ कि सबै आत्मकथालाई एकै ठाउँमा राखेर मूल्यांकन गर्न त सकिँदैन । तर, आत्मकथाहरू प्रायोजित ढंगले आइरहेका छन् । आफूलाई यो देशको ‘बिग पर्सनालिटी’ हुँ भन्ने र आफ्ना अनुभव महत्वपूर्ण भएको ठान्नेहरूले आत्मकथा लेखिरहेका छन् । टन्न पैसा भएका, आफूलाई ठूलै ठान्ने तर लेख्न नसक्नेहरूले पैसाकै बलमा आत्मकथा लेखाउने गरिरहेका छन् । यसरी थुप्रै आत्मकथा आएका छन् । कतिपय प्रकाशकले पैसा लिएरसमेत त्यस्ता आत्मकथा छापिरहेका छन् । म अहिले कसैको नाम किटेर भन्न चाहन्न, स्वस्थ आलोचना पनि दुस्मनी कमाउनु हुन्छ यो देशमा । अधिकांश आत्मकथा प्रकाशकलाई पैसा तिरेर, अरूलाई लेख्न लगाएर आइरहेका छन् । यो साहित्यका लागि राम्रो होइन । असल पाठकले यस्ता सामग्रीको स्तर आफैँ छुट्याउँछन् ।

साहित्यमा डायस्पोराले पनि कुनै नवीन दृष्टिकोण र सौन्दर्य मूल्य प्रदान गर्न सकेको छैन भन्ने आरोप छ । विदेश बस्नेहरूले कस्तो लेखिरहेका छन्, नेपाली साहित्यमा डायस्पोराको योगदान कस्तो छ ?
छोटो शब्दमा भन्दा यो डायस्पोरिक साहित्य भनेकै म बुझ्दिनँ । मैले जति कृति हेरेँ, केही पनि बुझिनँ । म सचेत पाठक हुँ । लेखिरहेको छु । पढ्ने र बुझ्ने कोसिस पनि गरिरहेकै छु । तर, डायस्पोरिक साहित्यलाई मैले त्यति बुझेको छैन । राम्रो लेख्ने साथीहरू पनि ‘डायस्पोरिक मुभमेन्ट’मा हुनुहुन्न । यस विषयमा मेरो अध्ययन नपुगेको पनि हुन सक्छ ।

तपाईंहरूले साहित्य लेख्न सुरु गर्दाका स्थापित साहित्यिक पत्रिकाहरू कतिपय बन्द भैसके, कतिपय निष्प्रभावी छन् । साहित्यिक पत्रिका लगालग बन्द र निष्प्रभावी हुँदै जानुले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको छ ?
उत्तम कुँवर र बालमुकुन्द नेपालहरू मिलेर रूपरेखा चलाउनुभयो । रूपरेखा छाड्दा बालमुकुन्दजीले ‘नेपालीहरूको मिलेर काम गर्ने चरित्र छैन’ भन्नुभएको थियो । नेपाली साहित्यिक पत्रिकाको अवस्था हेर्दा उहाँले ठीकै भन्नुभएछ जस्तो लाग्छ । साझा प्रकाशनले गरिमा प्रकाशन गथ्र्यो । साझा प्रकाशन डुबाउनुमा धेरथोर दायित्व साहित्यकारहरूको पनि छ, राज्यको उदासी पनि यसमा जिम्मेवार छ । गोरखापत्र संस्थानजस्तो प्रतिष्ठित संस्थाबाट प्रकाशन हुने मधुपर्कको हालत हेर्नुस्, केही न कामको भएको छ । मधुपर्कले रचना माग्दा मैले दिन सकिनँ । पाँच–सात वर्षअघि मेरा केही रचना मधुपर्कमा छापिए, त्यसमा एक ठाउँ पनि ‘प्रुफ मिस्टेक’ छैन । तर, अहिले त्यसको अवस्था नाजुक छ ।

नेपालका माक्र्सवादीहरूले माक्र्सवाद नै बुझेका छैनन् । उनीहरूले माक्र्सवादी सौन्दर्य नै बुझेका छैनन् । मैले सम्पूर्ण माक्र्सवादीलाई भन्न खोजेको होइन, केही औँलामा गन्न सकिने माक्र्सवादी सौन्दर्यशास्त्रीले बुझेका होलान् । जतिले आफूलाई प्रगतिशील र माक्र्सवादी लेखक भनेर लेखेका छन्, तिनले नारा लेखेका छन् । नारा लेखेर उनीहरू आफूलाई माक्र्सवादी भन्छन् ।

नेपाली साहित्यमा केन्द्र र मोफसल भन्ने दुई शब्द खुब प्रयोग हुन्छ । केन्द्र र मोफसलको यो सीमारेखा कति जायज छ ?
भौगोलिक रूपमा मोफसल र केन्द्र भन्ने हुन्छ । तर, सिर्जनामा केन्द्र र मोफसल हुन्छ भन्ने धारणा झुट हो । राजधानीबाहिरै बसेर राम्रो सिर्जना गर्ने, आफ्नो व्यक्तित्व उठाउनेहरू प्रशस्तै छन् । यदाकदा काठमाडौंबाहिरका राम्रा लेखकहरू ओझेलमा परेका छन् । तर, उनीहरूलाई योजनाबद्ध ढंगले कसैले छायामा पारेको हैन । मैले राजधानीमै बसेर राम्रा लेख्ने त्यस्ता केही लेखक देखेको छु, जसलाई मिडियाले चिन्न सकेको छैन । कतिपय सम्पादक साथीहरू चिनजानका आधारमा लेखकलाई पत्रिकामा महत्व दिन्छन् । तर, यो अवस्था अपवादका रूपमा मात्रै छ । तर, केन्द्र र मोफसल भन्ने अनि केन्द्रले मोफसललाई पेलेको छ भन्ने धारणा नै झुटमा आधारित छ ।

त्यसो भए मोफसलमा रहेर लेखिरहेकाहरू किन केन्द्रले हेप्यो भनिरहन्छन् ?
यसमा छुच्चै भएर बोल्नुपर्ने हुन्छ । पैसा छ, शक्ति छ, तिनीहरू लेख्न त लेख्छन् तर उनको लेखाइ कमसल हुन्छ । मिडियामा पनि सबैले चिनजानकै आधारमा छापिदिन्छन् भन्ने हुँदैन । कमसललाई हटाएर राम्रो छाप्ने खुबी भएका थुप्रै सम्पादक छन् । त्यसैले कमसल चिजलाई मिडियाले टेर्दैनन्, त्यसपछि उनीहरू मोफसलको भएर हेपेका हुन् भनेर प्रोपोगान्डा मच्याउँछन् । केन्द्र र मोफसलका बीचमा विभेद भयो भनेर हल्ला मच्चाउनेहरू कमसल लेख्ने मान्छेहरू हुन् । म पनि मोफसलकै लेखक हुँ । छोरा–बुहारी र नाति–नातिनी भेट्न वेलावेला काठमाडौं जान्छु । तर, अधिकांश समय घरमै बस्छु, काठमाडौंबाहिरै बसेर लेख्छु । तर, अहिलेसम्म काठमाडौंबाहिर बसेकै कारण कसैले हेपेको थाहा छैन ।

मिडियाले चिनजानका आधारमा रचना छाप्ने गुनासो पनि पुरानै हो । तपाईंको अनुभवले के भन्छ, मिडिया पक्षपाती भएकै हो ?
नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुनुअघि राजनीतिक कारणले लेखकहरू चेपुवामा थिए । प्रजातन्त्र पुनस्र्थापना भइसकेपछि मिडियाको दुरुपयोग हुन थालेको हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना भइसकेपछि पनि निरंकुश ढंगले चलिरहेको सत्ताले नै विकृति जन्माएको हो । सिर्जनामा पनि परोक्ष रूपमा राज्यको हात हुन्छ । प्रजातन्त्र स्थापना भएपछिको अत्यधिक सम्पादकीय स्वतन्त्रताले मिडियामा सिन्डिकेटको सुरुवात गरेको हो । आफ्ना मान्छेलाई च्याप्ने यहाँ खराब अभ्यास छ । राजनीतिमा पनि त्यस्तै छ । मिडियामा विचारहीन मान्छेहरूको राजनीतिक अन्तर्वार्ता आइरहेको छ । विचारवान् मान्छेहरू छायामा छन् । राष्ट्र निर्माण गर्न चाहने र सशक्त विचार भएका मान्छेहरूको विचार मिडियामा आइरहेको छैन । प्रायोजित ढंगले बोल्ने मान्छेहरूका जसरी अन्तर्वार्ता आउँछन्, साहित्यमा पनि त्यही अवस्था छ ।

तपाईं वामपन्थप्रति झुकाब राख्ने लेखक, अहिले साहित्यमा वामपन्थप्रति रुझान राख्ने दाबी गर्नेहरूका सिर्जना गुणवत्ताका हिसाबले कस्ता छन् ? तिनले माक्र्सवादी सौन्दर्यशास्त्रमाथि न्याय गरिरहेका छन् ?
माक्र्सवादी सौन्दर्यशास्त्र निकै गहन विषय हो । नेपालका माक्र्सवादीले माक्र्सवाद नै बुझेका छैनन् । उनीहरूले माक्र्सवादी सौन्दर्य नै बुझेका छैनन् । मैले सम्पूर्ण माक्र्सवादीलाई भन्न खोजेको होइन, केही औँलामा गन्न सकिने माक्र्सवादी सौन्दर्यशास्त्रीले बुझेका होलान् । जतिले आफूलाई प्रगतिशील र माक्र्सवादी लेखक भनेर लेखेका छन्, तिनले नारा लेखेका छन् । नारा लेखेर उनीहरू आफूलाई माक्र्सवादी भन्छन् । आफूलाई प्रगतिशील भन्ने एउटा तत्व पार्टीको झोला बोकेका आधारमा आफूलाई प्रगतिशील दाबी गरिरहेको छ । प्रगतिशील लेखक संघमा अपवादबाहेक झोले कार्यकर्ताभन्दा अरू छैनन् । म पनि प्रलेसको साधारण सदस्य हो, तर त्यो प्रतिभाशाली लेखकहरूको ठाउँ होइन । प्रलेसमा पनि सिन्डिकेट छ ।

प्रलेसको कुरा ल्याइहाल्नुभयो, प्रज्ञा प्रतिष्ठानले पनि भर्खरै पूर्णता पाएको छ । हिजो एउटा कालखण्डमा साहित्यको उन्नयनमा प्रशंसनीय भूमिका खेलेको प्रज्ञा प्रतिष्ठान र यसका गतिविधिलाई तपाईंले कसरी हेर्नुभएको छ ?
०४६ पछिको प्रज्ञा प्रतिष्ठान मृत अवस्थामा छ । बरु पञ्चायत कालमा राम्रा काम भएका थिए । यसो भन्दा पञ्चायतको प्रशंसा गर्यो भनेर केहीले आरोप लगाउलान् । प्रधानमन्त्री केपी ओली र संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको गंगाप्रसाद उप्रेतीसँग के नाता छ कुन्नि, तीनपटक प्रज्ञा प्रतिष्ठानमा लैजान उहाँभन्दा अर्को पात्र भेट्नुभएको छैन । नेपालमा कुलपति हुने अर्को मान्छे कोही छैन ? जुन शैलीले प्रज्ञा प्रतिष्ठानको नियुक्ति भएको छ, केपी ओलीसँग प्रज्ञा प्रतिष्ठान कस्तो बनाउने भन्ने कुनै दृष्टिकोण नै छैन भन्ने प्रस्ट हुन्छ । चन्द्रागिरिमा कविता सुनाए पनि उहाँलाई साहित्यको नाममा ‘स’ पनि थाहा छैन । उहाँहरूको बुद्धिमत्ता, राज्य चलाउने शैली र ढंग एकेडेमीजस्तै छ ।

 

 

#नयाँ पत्रिका