Loading... आजः १३ आश्विन २०७७, मंगलवार

‘गफाडी’ मुख्यमन्त्री : समृद्धिलाई नाघेर भने, ‘प्रदेशलाई विश्वकै नमूना बनाउँछौं !’

‘गफाडी’ मुख्यमन्त्री : समृद्धिलाई नाघेर भने, ‘प्रदेशलाई विश्वकै नमूना बनाउँछौं !’

शेरबहादुर थापा । सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना बनाउने गरी काम भइरहेको बताए । प्रदेशवासीले आधारभूत सेवासुविधा समेत नपाइरहेको अवस्थामा मन्त्रीको भाषणले सहभागीहरू छक्क परे ।
पुस १० गते जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशलाई विश्वकै नमूना बनाउने अभिव्यक्ति दिए । क्रिकेटको कार्यक्रममा अगाडि बढ्दै मुख्यमन्त्री शाहीले विश्वकै नमूना प्रदेश बनाउने भनेपनि प्रदेशलाई समृद्ध बनाउने भाषण गर्न मुख्यमन्त्री कहिल्यै बिर्सिदैनन् ।
मुख्यमन्त्री मात्रै होइन, कर्णाली प्रदेश सरकारका मन्त्रीले समेत समृद्धिलाई हरेक भाषणमा जपिरहन्छन् । गत मंसिर १२ गते मुख्यमन्त्री शाही उपराष्ट्रपतिसँगै कर्णालीको रारा ताल र शे–फोक्सुण्डो ताल अवलोकन गर्न गए । त्यहाँ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णालीलाई सबैले चिन्ने बताए । ‘सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछ । सबैले भ्रमण गर्नेछन् ।
कर्णालीलाई धेरैले अझै पिछडिएको, गरीब प्रदेश भनेर चिन्छन् । तर अब हामी पर्यटन विकासका माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौं,’ उनले भने । गत जेठको १४ गते मुख्यमन्त्री शाहीले उद्यमीलाई उत्साह दिने गरी भनाई राखेका थिए । उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास मोडल सम्बन्धी वीरेन्द्रनगरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले उद्यमीलाई ‘तपाईहरू उत्पादन गर्नुस्, तपाईका उत्पादन बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्नेछ’ भने ।
उनले उद्यमीलाई बजारको चिन्तै नमान्न आग्रह गर्दै उत्पादित सामग्रीलाई हरेक गाउँ तथा नगरमा बजारीकरण गरिनुका साथै नेपालगञ्ज, काठमाडौंमा समेत बजारीकरण गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता जनाएका थिए । तर प्रदेश सरकारले स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि न त कुनै सरकारी संगठन नै खडा गरेको छ, न त नीतिगत निर्णय र प्रक्रिया नै । औपचारिक कार्यक्रममा भाषण गर्ने मौका मिल्ने बित्तिकै मुख्यमन्त्री शाही सहभागिताको मनोभावना र आवश्यकता हरेर भाषण ठोकिहाल्छन् ।
‘वीरेन्द्रनगरका खाल्डाखुल्डी पुर्न र फोहोर छोप्न नसक्ने सरकारले कसरी विश्वकै नमूना प्रदेश बनाउला र खै ?’ स्थानीय सीता शाहीले भनिन्, ‘सरकारले अनावश्यक गफ दिने र ठूला सपना देखाउनुभन्दा काम गर्न ध्यान दिए राम्रो हुने थियो ।’ उनले कर्णालीको राजधानीबाट प्रकाशित हुने पत्रिकामा आएका समाचार हेर्दा कर्णालीमा मुख्यमन्त्रीले समृद्धि ल्याइसके कि भन्ने भान हुने गरेको बताइन् । ‘सपना बाँड्न त सबैलाई आउँछ,’ उनले भनिन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वकै नमूना प्रदेश बनाउने भन्ने अभिव्यक्ति ‘हावादारी’ भएको बताए । बरु सरकारले अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्न सक्ने प्रदेश, अझ भनौं पोखरा जत्तिको बनाउन सकिने सपना देख्न सकिने भएपनि विश्वकै नमूना बनाउने भन्ने कुरा हाँस्यास्पद रहेको उनले टिप्पणी गरे ।
‘विश्वकै नमूना भन्नु ठट्टाको विषय भयो । भुसको घरमा आगो लाग्दा ८७ घरमा आगो लागेको छ । अहिले पनि जनताहरू भुसको घरमा बसिरहेका छन् । जनताले खानेपानी पाएका छैनन् । सडकमा पहुँच पुगेको छैन । जताततै अभावै–अभाव मात्र छ,’ उनले भने, ‘कर्णालीलाई राम्रो बनाउँछौं भन्नु ठीकै हो । विश्वकै नमूना भनेपछि कुरा सकियो ।’
उनले सरकारलाई सुर्खेत राम्रो बनाएर देखाउन चुनौती समेत दिए । ‘कम्तिमा सुर्खेतलाई त राम्रो बनाएर देखाउनुस् अनि पत्याउला,’ उनले भने, ‘संसद भवन जाने बाटोमा रोलरसम्म गुडाइएन । मन्त्रालय जाने सडकहरूमा खाल्डाखुल्डीले कालोपत्रे भएको हो भन्ने देखिँदैन । जहाँ जानुहुन्छ त्यहाँ धुलैधुलो छ । त्यो समस्या समाधान गर्न सरकारलाई मेरो सुझाव छ ।’
नेता शाहीले नेतृत्वले बोल्दाखेरी विचार पुर्याउनुपर्ने बताए । ‘उहाँ सरकार प्रमुख हो । कहाँ के बोल्ने, कस्तो सपना बाँड्ने भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘सरकार सपना नदेखेर हुन्छ भन्छ । सपना देख्न पाइन्छ । तर व्यावहारिक सपना देख्नुस् भन्ने हाम्रो सुझाव छ ।’ प्रदेश सरकारलाई नेपाली कांग्रेसले पनि साथ दिइरहेको उनले बताए ।
‘हामीले विकासको लागि सरकारलाई साथ दिएका हौं । हावा कु्राको लागि सरकारलाई साथ दिएका होइनौं,’ उनले भने, ‘सरकार बनेपछि कहाँ बाटो बन्यो ? कहाँ के काम भयो ? हामीलाई देखाओस् । अनि विश्वको नमूना बनाउँछु भन्दै सरकार हिँडोस् ।’ नेपाल कम्यूनिस्ट पार्टी प्रदेशसभा सदस्य देवी वलीले प्रदेशलाई नमूना बनाउनुपर्ने बताइन् ।
‘विश्वको भन्नुभन्दा पनि नेपालकै नमूना प्रदेश बनाउने गरी सरकार अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘जनतालाई मिठामिठा कुरा गरेर भुलाउनुभन्दा सरकारले राम्रो काम गरोस् । हामी साथ दिन तयार छौं ।’ प्रदेशसभा सदस्य वलीले भाषण गर्नुभन्दा पनि काम गर्न सकियोस् भन्नेतिर सरकार केन्द्रित हुनुपर्ने धारणा राखिन् । ‘कुराभन्दा काम गरेर सरकारले देखाउनुपर्छ । जनताले महसुस गर्ने गरी काम गरेर सरकारले देखाउनुपर्छ,’ उनले भनिन्, ‘ठूला सपना देखाएर काम नहुने अवस्था सिर्जना नहोस् ।’

 

#लोकान्तर