Loading... आजः ३ आश्विन २०७७, शनिबार

चालिस चौतारासहितको बाटोमा २० औं सडक महोत्सव

पोखरा । व्यक्तिगत पहुँच र विकासका नाममा चौतारा मासिने क्रम चुलिएका अवस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइडस्थित चालिस चौतारायुक्त बाटोमा बीसौं संस्करणको सडक महोत्सव हुने भएको छ ।
फेवाताल किनाराको तीन किमि दुरीमा यति धेरै चौतारा रहेको सडकमा रेस्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले यहि पुस १३ देखि १७ गतेसम्म अंग्रेजी नयाँ बर्षको (डिसेम्वर २८ देखि जनवरी १ गतेसम्म) सडक महोत्सव गर्न लागेको हो ।
अन्तर्राष्ट्रियरुपमा पहिचान कमाई सकेको गण्डकी प्रदेशको राजधानी पोखरामा अत्याधिक बजारीकरण भएपनि सहिद चोकस्थित ऐतिहासिक महत्वको चौतारादेखि डिहिको पाटनसम्मको तीन किलोमिटर लम्वाईको सडकमा अहिले पनि साना ठूला गरि ४० वटा चौतारा रहेका छन् ।
अन्य समयमा होस वा महोत्सवका अवसरमा आन्तरिक एवम् बाह्रय पर्यटकको प्राकृतिक विश्रामस्थल बन्ने गरेका यी चौतारामध्ये कतिपय त सडकको बीच भागमा ट्राफिक पोष्ट एवम् मोटरसाईकल पार्किङका रुपमा समेत काम गरेको स्पष्ट देख्न सकिन्छ ।
प्रदेश सरकारले आप्mनो बार्षिक नीति तथा कार्यक्रममा चौताराको संरक्षणलाई प्राथमिकता दिनुका साथै बजेट पनि विनियोजन गरेको छ । बर, पिपल, आँप सम्मी जस्ता बहुउपयोगी बोट विरुवा सहितका चौताराले यहाँको पर्यटकीय गतिविधिमा योगदान पु¥याएको छ नै वातावरणीय स्वच्छतामा पनि महत्वपूर्ण योगदान गरेको छ ।
फेवातालको किनारास्थित तीन किलोमिटर सडकको सहिदचोक, बसुन्धरापार्क, अम्वोट, गौरीघाट, बाराहीघाट, मिडप्वइन्ट, हल्लनचोक र डिहिको पाटन क्षेत्रमा बर्षौदेखि रहेका चौतारा अझै पनि सुरक्षित देखिनु लेकसाइडको विशेषता हो ।
सडकको उत्तरपट्टिको भागमा व्यक्तिका घर जग्गा रहेपनि दक्षिण फेवातालको किनारातर्पm सार्वजनिक जग्गामा बढी चौतारा लगायत अन्य बोट विरुवाको हरियालीले उक्त स्थानलाई वातावरण मैत्री बनाएको छ ।
सडक महोत्वमा आउने आन्तरिक तथा वाह्रय पर्यटकको अत्याधिक भीड लाग्ने गरेको र त्यस्ता अवस्थामा चौतारामा विश्राम मात्र नभई आनन्द लिने र विभिन्न समूहद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने थलोको रुपमा समेत विकास भएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले बताए ।
सडकको दायाँवाँया प्रसस्त मात्रमा रहेको चौतारा सहितका विभिन्न खाले बोट विरुवाबाट झरेका पात पतिङगरको सरसफाई स्थानीय व्यवसायीले गर्ने गरेको वताउँदै उहाँले त्यसका लागि पोखरा महानगरपालिकाको पनि महत्वपूर्ण भूमिका रहदै आएको छ ।
पोखरा शहर क्षेत्रभित्र २०५८ सालसम्ममा ६७२ वटा चौतारा रहेपनि हाल उक्त संख्या ह्वात्तै घटेर ३०० को हाराहारीमा आएको नागरिक अगुवा रामबहादुर पौडेलले बताए । पोखरा मुख्य पर्यटकीय स्थलकोरुपमा परिचित लेकसाईड तथा राष्ट्रबैंक चोकदेखि रत्नचोकसम्म अत्याधिक चौतारा रहेको बताउँदै उनले रुख काटन नहुने उच्च अदालत पोखराको अन्तरिम आदेशसँगै चौतारा संरक्षणमा उल्लेख्य सहयोग पुगेको बताए ।
फेवाताल किनाराको सडकका यी चौताराले यहाँको पर्यटकीय वातावरणलाई महत्वपूर्ण टेवा पु¥याएको बताउने यहाँका स्थानीयवासी चौताराको मर्मतका साथै वर्षै पुराना रुखलाई विस्थापन गर्दै नयाँ बोट लगाउनुपर्ने बताउँछन् । पोखराको शहरीकरण हुनु पूर्व नै ओहोरदोहोर गर्ने बटुवाका साथै पानी, घाँस दाउरा ल्याउँदा लैजाँदा समेत विसौना बनेका यी चौतारा बजारीकरण पछि पनि उत्तिकै महत्वका रहेको स्थानीयले बताए ।
सडक कार्यालयले लेक साईडको सडकको दाया बायाको फुटपाथलाई व्यवस्थित गराउँदा पैदलयात्रीलाई आवतजावत गर्नुका साथै त्यस क्षेत्रका चौताराको संरक्षणमा समेत सहयोग पुगेको छ । रेवान पोखराका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल(भिमसेन)ले सडक महोत्सवको पोखराको एउटा विशेष कार्यक्रमका रुपमा स्थापित भैसकेको बताउँदै लेकसाईडको तीन किलोमिटर क्षेत्रलाई समेटेर सडकमै खाउ, सडकमै रमाउँ भन्ने नाराका साथ यस वर्षको महोत्सव हुन लागेको जानकारी दिए ।