Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

भन्सारमै रोकियो ६७ लाखको चिनी

भन्सारमै रोकियो ६७ लाखको चिनी

बाँके । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगन्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिवन्ध लगाएपछि उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो ।
गत भदौ ३१ मा मन्त्रिपरिषद बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दसैं र तिहारलाई लक्षित गरी ल्याइएको उक्त चिनीको मूल्य ६७ लाख २० हजार (४२ लाख भारतीय) रुपैयाँ रहेको छ ।
सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरिद गरेको चिनी नेपालगन्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नदिएको अधिकृत जोशीले बताए ।
उनले भने, ‘भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।’ सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ । तर, कति परिमाणमा चिनी नेपालगन्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशी बताउँछन् ।