Loading... आजः ७ आश्विन २०७७, बुधबार

कैदीबन्दीका ‘बा’ले पाए मानार्थ बढुवा

कैदीबन्दीका ‘बा’ले पाए मानार्थ बढुवा

कुमार श्रेष्ठ । बाँके । ‘आज त मेरो बढुवा भयो नि । साढे २२ वर्ष सुब्बा रहेका नेपालगञ्ज कारागारका सहायक जेलर श्याम लामिछानेले अधिकृत भएको खुशीयाली साट्दै भने, माघ १० गते जेलमा आउनु होला । मेरो बर्थडे छ । धुमधामले मनाउनु पर्छ ।’
‘जेलमा बर्थडे मनाउने हो । अनि घरतिर जाने हो, कारागारका बन्दी र कर्मचारीका ‘बा’ लामिछानेले थपे, घर जाने बेलामा मानार्थ अधिकृत भएको खुशीयाली भब्यतरिकाले साटासाट गर्नुपर्छ ।’ कारागारमा लामिछानेलाई सबैले ‘बा’ भनेर बोलाउँछन् ।
२०६३ साउन ८ गतेदेखि लामिछाने नेपालगञ्ज कारागारमा छन् । कहिले जेलर त कहिले सहायक जेलरको भूमिकामा । साढे १२ वर्ष जेलको प्रशासक बनेका लामिछाने माघ १० गते ५८ वर्ष पुग्दैछन् । अवकास पाउन एक महिना बाँकी रहदा गृहमन्त्रालयले लामिछानेलाई मानार्थ अधिकृत दिएर खुशीयाली थपिदिएको हो ।
त्यसो त कुनै कर्मचारी एक पदमा १५ वर्ष बसेको छ भने उसलाई अवकास पाउने बेलामा एक पद बढुवा गर्ने चलन छ । लामिछानेले यो सौभाग्य साढे २२ वर्ष पाएका छन् । ‘मानार्थको मान खान आउनु पर्छ हैं, लामिछानेले आफन्ती, चिनजान, शुभचिन्तकलाई निम्ता गर्दैछन् ।
२०३९ मंसीर ९ गते दाङ्गको तत्कालिन बेला गाविसको सचिवबाट निजामतिमा प्रवेश गरेका लामिछाने यो बीचमा धेरै ठाउँमा गाविस सचिवदेखि जनस्वास्थ्य कार्यालयमा काम गर्ने मौका पाए । पछिल्लो समयमा नेपालगन्ज कारागारको स्थायी कर्मचारीजस्तै भएका लामिछाने जेलबाट नै घर जाने भएका हुन् । हुन त यो बीचमा लामिछानेलाई सल्यान सरुवा गरिएको थियो । फेरि अवकास पाउने बेलामा किन सरुवा गर्ने भनेर रोक्का गरियो । कारागारको लामो बसाईमा लामिछानेका तितामिठा अनुभव छन् । उनी भन्छन्, ‘तिता भन्दा धेरै मिठा अनुभव नै संगालेको छु ।’ सैफु नाउ नाम गरेका कैदी भाग्दा र केही पहुँचवाला बन्दीलाई अन्यत्र सरुवा गर्दा लामिछानेलाई तनाव भएको थियो ।
जेल बसाईमा यो उनको सम्झनामा रहिरहने तितो अनुभव रहने छन् । कारागारबाट भर्खरै कोठामा पुगेर कपडा चेन्ज गरिरहदा उनलाई सैफु भागेको खबर पुगेको थियो । त्यसपछि तत्कालै खोजी थालियो । उनी फेला परेनन् । त्यो घटनाको छानबिन समिति गठन भयो । जेल प्रशासक, प्रहरी इन्चार्ज र डिउटीवालालाई निलम्बन गरियो ।
यो घटनामा उनको गल्ती त थिएन । तर, नैतिक जिम्मेवारी लिनु पर्ने थियो । धन्न, सैफु बर्दियामा फेला परे । सबैले राहत पाए । जेल प्रशासकको कैदी बन्दीलाई गर्ने व्यवहार अझ महत्वपूर्ण हुन्छ । लामिछानेको सरल र मायालु व्यवहारले गर्दा बन्दीहरु खुशी भएको अन्य कर्मचारीहरु बताउँछन् । त्यसैले त सबैले उनलाई बा भनेर सम्बोधन गर्दछन् ।
निजामतिमा एउटै पदमा लामो समयसम्म रहदा र घर जाने बेलासमेत भइसक्दा बढुवा नहुँदा कति पीडा हुँदोरहेछ । लामिछानेको मुहारमा देखिएको खुशीयाली प्रष्ट देखाउँछ । त्यसै पनि साढे २२ वर्ष एउटै पदमा बस्नु चानचुने कुरो होइन ।

 

 

#देश सञ्चार