Loading... आजः १३ आश्विन २०७७, मंगलवार

न्यौपाने बस्तीका ५२ घर जलेर नष्ट, जस्तापाता लिएर मुख्यमन्त्री घटनास्थलमा

कालीकोटमा भिषण आगलागी
न्यौपाने बस्तीका ५२ घर जलेर नष्ट, जस्तापाता लिएर मुख्यमन्त्री घटनास्थलमा

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर १ खाँडामा आगलागी हुँदा न्यौपाने बस्ती नै सखाप भएको छ । न्यौपाने समुदायको मात्र बसोबास रहेको उक्त बस्तीका ८५ घरमध्ये ५२ घर जलेर नष्ट भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।
उक्त स्थान न्यौपाने समुदायको उद्गम थलो मानिन्छ । ‘सबै घर खरले छाएको तथा पानीको संकट भएको स्थान भएकाले तुरुन्तै आगो नियन्त्रणमा लिन नसकिएको हो,’ अध्यक्ष बमले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा भर्खरै नियन्त्रणमा आएको छ, अझै राम्रोसँग आगो निभेको छैन ।’
आगलागी आइतबार राति १ बजे सुरु भएको थियो । तर आगलागी के कारणले भयो भन्ने खुलेको छैन । पलाँता गाउँपालिकाका कार्यालय सहयोगी कलमबहादुर बमका अनुसार आगलागीमा परी ६ जना सामान्य घाइते भएका छन् । १४ गोरु र दुई भैंसी मरेका छन् ।

राहत लिएर मुख्यमन्त्री घटनास्थलमा
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुर्खेतबाट हेलिकप्टरमा राहत सामग्री लिएर घटनास्थल पुगेका छन् । राहत लिन पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम पनि सुर्खेत आएका थिए । उनका अनुसार हेलिकप्टरमार्फत कम्मल, डसना, ज्याकेट लगायतका न्याना लुगा, भाँडाकुँडा, खाद्यान्न तथा तत्काल पुनःनिर्माण गर्नुपर्ने भएकाले सय बन्डल जस्तापाता पनि पीडितका लागिएको छ ।

पीडित परिवारलाई २० हजार दिइने
पलाँता गाउँपालिकाले आगलागीबाट पीडित परिवारलाई जनही २० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रतिपीडित परिवारलाई तत्काल राहतका लागि यस्तो निर्णय गरिएको अध्यक्ष बमले जानकारी दिए ।