Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

संघर्षशील एक महिला पत्रकारका दुई भारी, ‘अगाडि क्यामरा पछाडि छोरी’

संघर्षशील एक महिला पत्रकारका दुई भारी, ‘अगाडि क्यामरा पछाडि छोरी’

प्रेम सुनार । बुटवल ।

नाम– रिता लामा
पेसा –पत्रकारिता
ठेगाना दाङ ।
साथमा नछुट्ने सामान–छोरी र क्यामेरा
यतिमा मात्रै सीमित हुँदैन उनको परिचय । सुत्केरी अवस्थामा पनि विस्ताराबाटै पत्रकारितालाई निरन्तरता दिने संघर्षशील, निडर र क्रियाशिल महिलाका रुपमा पनि चिनिन्छिन् रिता । २०६५ सालदेखि हालको राप्ती समाचार राष्ट्रिय दैनिक र तत्कालीन राप्ती साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेकी लामालाई महिला हुनुमा गर्व छ । त्यसमा पनि कसैकी श्रीमति र सन्तानकी आमा समेत बनेकी लामालाई पत्रकारितामा ती दुवैले अवरोध सिर्जना गरेन ।
गणतन्त्र अनलाइन र राष्ट्रिय समाचार समितिमा समेत आवद्ध लामाले आफू सुत्केरी हुँदासमेत आराम गर्न चाहिनन् । अहिले त झन् उनको पहिलो सन्तानका रुपमा दुई वर्षकी छोरी भइन् । पिठ्युमा छोरी र गलामा क्यामरा बोकेर रिर्पोटिङ्गमा दौडिन्छिन् लामा । श्रीमान नेपाली सेनाको जागिरे, घरमा छोरी हेर्ने मानिस कोही छैन । त्यसका वावजुद पनि उनी एकाविहानै उठ्छिन् । जरुरी छ भने विस्तराबाटै समाचार बनाउन सुरु गर्छिन् । छैन भने छिटोछोटो खान बनाएर रिर्पोटिङस्थलमा पुग्छिन् ।
दाङका चोकचोकमा र ग्रामिण भेगमा देख्न सकिन्छ उनको संघर्षको यात्रा । धेरैजसो महिलाहरु अविवाहित छउञ्जेल पत्रकारितामा सेलीब्रेटी हुने विवाह लगत्तै अस्ताउने गरेको कुरा लामालाई थाहा नभएको होइन । तर, उनी विवाहपछि पनि पत्रकारितामा उस्तै सक्रिय रहिन् । प्युठानको मरन्ठान घर भएका सैनिक श्रीमानले रिताको पत्रकारितामा सघाएका छन् । फलतः उनको पत्रकारिताले थप उचाई पाउँदै गएको छ ।
उनमा औपचारिक समाचारभन्दा खोजपत्रकारिता नै रुचि छ । एक सुत्केरी महिलालाई स्वास्थ्य चौकीका डाक्टरले चेकअप गराउन नआई अन्यत्रै लागेको र पछि घुम्ती शिविरका डाक्टरले सुत्केरीलाई औषधी उपचार गरेको समाचार लेखेबापत निकै धम्की खेप्नु परेको अनुभव सुनाउँदै भनिन्, ‘आखिर ती डाक्टरलाई जिल्ला स्वास्थ्यले सरुवा गरेरै छाड्यो ।’ यस्ता धम्कीसँग पत्रकारहरु डराउन नहुनेमा उनको जोड छ ।

चकचके छोरी, रमाउँछिन् आमा
समाचार रिर्पोटङ गर्दै गरेका बेला चकचके छोरीको कचकच सुरु हुन्छ । त्यसबेला रिस उठनु स्वभाविक हो । तर एक छिनपछि ममतामयी मुस्कान ओठमा लिँदै समाएर भुलाउन थाल्छिन् उनी । काँखमा राखेर भुलाउँदा पनि उनको चकचक रोकिन्न । कुनै विशेष पात्रको ‘बाइट’ रेकर्ड गर्दैछिन् क्यामरामा । तर त्यही बेला छोरीले चकचक गर्न थाल्छिन् । ती पात्रसँग सम्वाद गरिरहेको बेला रोइदिन्छिन् । रेकर्डको ब्याकराउन्डमा उनकै चकचक र रुवावासी ।
‘त्यतिमात्र हो र ? बोल्दै गरेका बेला क्यामरा समातेर अर्को्तिर तानीदिन्छिन् । कुरा गर्दै गरेको मोवाइल हातबाट खुस्काएर भूइँतिर खसालिदिन्छिन । आमाले मन्त्रीसँग कुरा गर्दै छिन् कि सिडियोसँग– अबोध बच्चालाई के थाहा ? फोनमा कुरा गर्यो । कागजमा टिप्यो । केही छिनपछि हेर्दा लेखेको त्यो कागज कहाँ पुर्याइदिन्छिन् पत्तै हुन्न । घरमा वा कार्यालयमा त उनको चकचकलाई हाँसीखुशी साम्य पार्छिन् लामा । तर बाहिर हुने औपचारिक कार्यक्रममा उनलाई खुल्ला छाड्नु अरु पत्रकारमाथि पनि डिस्टर्व हो ।
त्यसैले उनले छोरीलाई नियन्त्रणमा लिन वेवीक्यारी (बच्चा बोक्ने झोला) किनेकी छन् । त्यसैमा उनले छोरीलाई पछाडि बोक्छिन् अगाडि क्यामरा भिरेर रिर्पोटिङ्गमा हिँड्छिन् । पत्रकार लामा भन्छिन्, ‘कहिलेकाँही सिडियोसाव लगायतका ठूला मान्छेहरुसँग फोनमा कुरा गरिरहेकी हुन्छु, फोन समातेर भूँईमा फालिदिन्छिन् । तर मलाई उनको चञ्चले व्यवहारले दिक्क पार्दैन झन् रमाउँछु । जति मलाई पत्रकारिता प्रिय लाग्छ त्यति नै छोरी र श्रीमान प्रिय हुनुहुन्छ ।’

काभ्रेली चेली दङ्गाली पत्रकार
खास त उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक हो । उनका पिता खानेपानी तथा सडक डिभिजन कार्यालयका जागिरे छँदा दाङमा सरुवा भएर आए । त्यतै जग्गा किनेर बसाईसराईँ गरे । लामा दाङमै जन्मेकी हुन् । दाङमै जन्मेकोले उनलाई आफ्नो घर दाङ नै हो भन्न मन लाग्छ । ‘पुख्र्यौली घर काभ्रे जाने मन छ तर मौका नै मिलेको छैन,’ उनी भन्छिन् । लामाको चौबिसै घण्टा तनमन पत्रकारितामै छ । सपनामा पनि उनी रिर्पोटिङ नै गरिरहेकी हुन्छिन् ।
स्वास्थ्यकर्मी बन्ने इच्छाले राप्ती शिक्षा क्याम्पसबाट स्वास्थ्यमा स्नाकोत्तर गरेकी उनले दाङकै एक भ्रष्टचार निवारण सम्बन्धी सामाजिक संस्थामा काम गर्ने क्रममा पत्रकारिता सम्बन्धी तालिम लिएकी थिइन् । त्यसपछि उनमा पत्रकारिता नशा नै बन्यो । उनी भन्छिन्, ‘कुनै पनि अवरोधले मेरो पत्रकारिता रोक्न सक्दैन । रिर्पोटङ गर्दा गर्दै कहिले काहिँ रात पर्छ । अवेर भए पनि पिठ्युमा छोरी बोकेर घर फर्किन्छु ।’
छोरी सम्हाल्न र क्यामरा मिलाउन गाह्रो पर्दो हो नि ? प्रश्न गर्न नपाउदै भन्छिन्, ‘गाह्रो सम्झे गाह्रो हुने हो, मलाई त सजिलै लाग्छ आमाछोरी एउटै शरीर लाग्छ । अरु छरिता पुरुषले भन्दा दोब्बर तेब्बर रिर्पो्टिङ्ग गर्न सक्छु भन्ने आँट छ ।’ नयाँ पुस्तामा अल्छीपना, एउटा न्युजमा नाम आएपछि सेलीब्रटी भएँ भन्ने अहँकार बढेको उनको अनुभव छ । पत्रकारिता पढेर मात्र नहुने र काम गरेर पत्रकारिता तिखारिने उनको बुझाई छ । श्रीमानले आफूलाई थप उत्साहित गर्ने गरेको बताउँदै उनले आफ्ना लागि पत्रकारिता जस्तै प्रिय श्रीमान र छोरी रहेकोमा हर्ष ब्यक्त गर्छिन् ।
कुराकानी गर्दागर्दै पनि छोरीको चकचक कम थिएन । उनले देखाउँदै भनिन् ‘ल हेर्नुस् नानीको चाल यस्तै हो ।’ रिताझै अर्की महिला पत्रकार जयन्ती चौधरी पनि त्यसरी नै खटेकी छन् । तुल्सीपुरको रेडियो संजिवनीमा समाचार वाचिका रहेकी चौधरीले २०६५ सालदेखि रेडियो बागेश्वरीबाट पत्रकारिता सुरु गरेकी थिइन् । चौधरी पनि चार वर्षिया छोरी बोकेर पत्रकारिता गर्छिन् । लामा र चौधरीसहित दाङमा करिव २४ जना क्रियाशिल महिला पत्रकार रहेको बताइएको छ ।

 

 

#रातोपाटी