सबै सेवा निशुल्क भएको अस्पताल

दिलबहादुर केसी । दोलखा । कुनै दुर्घटनामा परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ । रोगको उपचार गर्नुभन्दा पनि खर्च पुग्छ कि पुग्दैन, कति खर्च लाग्ने हो, खर्च नपुगे के गर्ने भन्ने रोगको पनि महारोग खर्चकै विषयमा हुन्छ । सरकारले संविधानमै व्यवस्था गरेर शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकारको रुपमा राखेको छ ।
यस्ता आधारभूत अधिकार निशुल्क हुनुपर्ने हो । तर यिनै शिक्षा र स्वास्थ्य नै अहिले सबैभन्दा महङ्गो हुँदै आएको छ । त्यही भएर पनि शिक्षा र स्वास्थ्यका लागि पनि मानिसले सबैभन्दा बढी खर्च गर्नुपर्दा हरेकतिर लोभी बन्नुपरेको गुनासो पनि गर्न थालेका छन् । सरकारले संविधानमा उल्लेख गरेको निशुल्क स्वास्थ्यको नाराको अनुभुति हुने गरी अस्पतालमा पनि सञ्चालित छ । जहाँ पुगेपछि विरामी र विरामी कुरुवाका लागि पैसाको कुनै पनि चिन्ता लिनुपर्दैन ।
अस्पतालको गेटभित्र छिरेपछि विरामीका लागि कुनै पनि शुल्क नै लाग्दैन अर्थात हरेक सेवा पूर्ण रुपमा निशुल्क छ । दोलखाको चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) ३ वर्षदेखि पूर्णरुपमा निशुल्क रुपमा सञ्चालन भइरहेको छ । धेरैलाई यसको बारेमा जानकारी नहुन पनि सक्छ । सरकारी अस्पताल भन्ने वित्तिकै राम्रो सेवा हुँदैन, चिकित्सकहरु पनि नियमित हुँदैनन् भन्ने आम सर्वसाधारणको सोचाइ ३ वर्षमा प्रस्तावित चरिकोट अस्पतालले बदलेको छ ।
ग्रामीण भेगका विपन्न विरामीहरुलाई मध्यनजर गर्दै २०७२ माघ १ गतेदेखि सार्वजनिक–निजी साझेदारीमा सञ्चालन भइरहेको अस्पतालले सेवा सुविधाहरु थप गर्दै गएको छ । हरेक सेवा निशुल्क सञ्चालन गर्दै आएको चरिकोट अस्पतालमा ठाउँ भए थप सेवा विस्तार गर्ने योजना समेत बनाएको छ । अस्पतालमा युवा विशेषज्ञ डाक्डरहरुको टोली २४ सैं घण्टा विरामीका सेवामा तत्पर हुन्छन् । हरेक विरामीहरुको पहिलो रोजाइ चरिकोट अस्पताल हुने गरेको छ ।
पैसाकै अभावमा लामो समयदेखि रोग पालेर बसेका विपन्न नागरिकहरुका लागि त झन् यो अस्पताल बरदान सावित भएको छ । अस्पतालले दैनिक ३ सयदेखि ४ सयसम्म विरामीलाई ओपिडी सेवा दिंदै आएको छ । ३ वर्षदेखि सार्वजनिक निजी साझेदारीमा सञ्चालित अस्पतालमा विरामीको ई दर्ता सेवा रहेको छ । यो नेपालमै पहिलो सेवा हो । यसको सिकाइबाट काठमाडौंका ठूला अस्पताल ग्राण्डि जस्ता अस्पतालले पनि भर्खरै सुरु गरेका छन् ।
दर्ता सेवाले विरामीको एउटा कोर्ड नम्बरबाट उसका हरेक स्वास्थ्य सूचना दर्ता हुन्छ । अस्पताल सुरु गरेको ३ वर्षमा १ लाख ४० हजार विरामीको उपचार भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । अस्पतालमा आइसीयुमा राखेर गर्नु पर्ने जटिल खालको उपचार बाहेकको सेवा पुर्याउँदै आएको छ । जटिल खालको काठमाडौंमा ६र७ लाखसम्म लाग्ने अप्रेसन समेत निशुल्क चरिकोटमा हुन थालेपछि काठमाडौं पुगेका विरामी समेत चरिकोट फर्केर उपचार गर्न लागेको उनले बताए ।

सेवा थपिदो छ, तर ठाउँको अभाव छ
अस्पताल नेपाल सरकार स्वास्थ्य मन्त्रालय र न्याय हेल्थ नामक गैर सरकारी संस्था बीचको सम्झौता अनुसार १० वर्षसम्म साझेदारीमै सञ्चालन गर्ने छ । सम्झौता अनुसार नेपाल सरकारले भवनको व्यवस्थापन गर्ने, आवश्यक जनशक्तिको आधा र निशुल्क औषधी ५५ किसिमको व्यवस्थापन गर्नेछ । त्यस्तै न्याय हेल्थले नेपाल सरकारले दिने निशुल्क औषधी बाहेक थप औषधी, विशेषज्ञ सहित उत्तिकै जनशक्ति र आन्तरिक व्यवस्थापनको जिम्मेवारी लिने रहेको छ ।
तर सम्झौता अनुसार न त सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि बनाएको भवन बाहेक थप पूर्वाधार उपलब्ध गराउन सक्यो न त न्याय हेल्थले सेवा थप गर्न । मेडिकल डाइरेकटर दंगालले ठाउँको अभावमा अस्पतालले अत्याधुनिक सेवाहरु थप गर्न नसकेको स्वीकार गरे । ‘हामीले अहिले पनि अञ्चल अस्पतालले दिने सेवाभन्दा स्तरीय सेवा पुर्याउँदै आएका छौं,’ उनले भने, ‘विशेष प्रकृतिको जटिल उपचार बाहेक सबै सेवा हामी यहीं दिन चाहन्छौं तथा चाँहेर पनि सकेका छैनौं ।’

ठाउँको अभावमा ओपिडी सेवा समेत अत्यन्तै साँघुरो कोठाबाट दिनु परेको छ अन्य सेवा सञ्चालन गर्ने ठाउँ नै छैन । जिल्ला स्वास्थ्य कार्यालयको भूमिका कम हुँदा पुरानो भवन मागेको पनि लामो समय भयो । त्यो भवन उपलब्ध भए स्टोर लगायतका सेवा सञ्चालन गर्न सकिने अस्पताल व्यवस्थापन समितिको योजना छ । तर त्यसलाई समेत जिल्ला स्वास्थ्यले आलटाल गर्दै आएको छ । अस्पतालले उपचारात्मक सेवा प्राथमिक स्वास्थ्य केन्द्रका लागि बनेको भवनबाट सञ्चालन हुँदै आएको छ । त्यस्तै प्रशासनिक काम तथा योजनाका लागि २ कोठे सानो भवनबाट कष्टले सञ्चालन हुँदै आएको छ ।
ठाउँको अभावमा स्टोरका लागि गौरीशंकर बहुमुुखी क्याम्पससँग भाडामा लिएर चलाउँछै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको भुकम्पले भत्केको पुरानो भवनको ठाउँमा भारतीय दुताबासको सहयोगमा नयाँ ठूलो भवन बन्ने तयारी छ । त्यो भवन चाँडै बने सेवालाई चाँडै विस्तार गर्न सकिनेमा अस्पतालको आन्तरिक व्यवस्थापनको योजना छ । हुन त अस्पतालले केही कोठाका लागि नयाँ एउटा भवन निर्माण सुरु गरेको छ भने हाल कार्यालय सञ्चालन भई रहेको भवनमा पनि तला थप्ने योजना बनाएको छ । तर त्यो पनि प्रयाप्त नहुँने डा. दंगालले बताए ।

नगरपालिकाको योजना : आइसियू सेवा
भीमेश्वर नगरपालिका चरिकोट अस्पताललाई सुविधा सम्पन्न आइसीयु सहितको अस्पताल बनाउँन लागि परेको छ । चालु आर्थिक वर्षमा समेत नगरपालिकाले २५ लाख बजेट समेत छुट्याएको छ । यो रकम प्रयाप्त नभए तापनि बीऊ पुँजीको रुपमा भने काम गर्छ । नगरपालिकाका मेयर अस्पताल व्यवस्थापन समितिकोको अध्यक्ष हुने व्यवस्था छ । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले अब चरिकोटमै आइसीयुसहितको सेवा राख्नका लागि नगरपालिकाले पनि पहल गर्ने बताए ।
चालु आर्थिक वर्ष नगरपालिकाले केही बजेट छुट्याएको र अस्पतालको स्वीकृतीका लागि संघीय सरकारसँग समेत अनुरोध गरेको उने जानकारी दिए । अस्पतालमा अहिले ३६ बेडमा सञ्चालन भइरहेको छ । तर प्राथमिक स्वास्थ्य केन्द्रको स्वीकृत दरबन्दी मात्र हुँदा अस्पतालका लागि आवश्यक जनशक्ति र पूर्वाधार नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । अस्पतालको स्वीकृतिका लागि व्यवस्थापन समितिले पटक पटक स्वास्थ्य सेवा विभाग र मन्त्रालयलाई ताकेता गर्दै आएको छ ।
अस्पतालमा केही हप्ता अघि मात्र ब्लड कल्चरको सुविधा थप गरेको छ । यस्तो सेवा नभएको कारण उपचारको लागि आउने १० प्रतिशत भन्दा बढी विरामीलाई काठमाडौँ रिफर गर्नुपर्ने भएपछि अहिले अस्पतालले माईक्रो वायोलोजि सेवा थप गरेर बिभिन्न रोगको लागि ब्लड कल्चरको सुविधा समेत दिन थालेको अस्पतालका मेडिकल डाईरेक्टर डा विनोद दंगालले बताए । अस्पतालमा माईक्रो वायोलोजि सेवा थप भएपछि ब्लड कल्चर, पिसाब कल्चर र खकार कल्चरको सुविधा अस्पतामै सुरु भएको प्रस्तावित चरिकोट अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण रेग्मीले बताए ।
प्रयोगशालामा कल्चरको सुविधा भएपछि मानिसको शरीरमा हानि गर्ने बिभिन्न किसिमको किटाणुलाई कृतिम रुपमा विकास गरी त्यसलाई मार्नको लागि कुन औषधि आवश्यक हुन्छ भन्ने परिक्षण गर्ने प्रकृया हो । मानिसमा देखिने जरो, खोकी जस्ता समस्या लामो समयसम्म रहिरहेको अवस्थामा कुन किटाणुको कारणले समस्या भएको हो र त्यसको लागि कुन औषधि चलाउनु पर्छ भन्ने हेर्नको लागि ब्लड कल्चर आवश्यक हुने डा विनोद दंगाल बताउछन् । विगतमा माईक्रो वायोलोजि सेवा नभएकोले ब्लड कल्चर हुन नसक्दा कतिपय विपन्न विरामीलाई समेत उपचार सेवा दिन नसकिएको अवस्थामा अब त्यस्तो समस्या नरहने डा. दंगाल बताउछन् ।
प्रस्तावित चरिकोट अस्पतालमा रहेको प्रयोगशालामा दैनिक १०० भन्दा बढी विरामीको कोलेस्ट्रोल, सुगर, कलेजो, मिर्गौला, टिवि, एचविए १ सि लगायतका परिक्षण हुदै आएको छ । ग्रामीण भेगका विपन्न विरामीहरुलाई नै मध्यनजर गर्दै अस्पतालले चाँडैनै आईसियु सेवा समेत सुरु गर्न लागेको अस्पतालका मेडिकल डाईरेक्टर डा दंगालले बताए । भीमेश्वर नगरपालिकाले चरिकोट अस्पतालमा आइसीयु सेवा राख्न पाए उच्च पहाडी जिल्लाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्ने योजना बनाएको छ । अस्पतालको सेवा विस्तार गर्न नयाँ भवन थप गर्न समेत पहल गर्दै आएको छ ।

सामुदायिक स्वास्थ्य कार्यक्रम घरघरमा सेवा
अहिले प्रस्तावि चरिकोटले रोगको रोगथाम र अस्पतालमा विरामीको चाप घटाउँन सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । यस्तो कार्यक्रमले स्थानीयस्तरमा स्वास्थ्य कार्यकर्ता राखेर गर्भवती जाँच, सुगर, प्रेसर जस्ता सामान्य रोगको घरघरमै जाँच गर्ने र स्वास्थ्य सल्लाह दिन थालेको छ । अस्पतालले हाल भीमेश्वर नगरपालिका, वैतेश्वर गाउँपालिका, तामाकोसी गाउँपाकिा र कालिञ्चोक गाउँपालिकाका केही वडाहरुमा यस्तो कार्यक्रम सञ्चालित छ ।
कार्यक्रम सञ्चालन भएका घरहरुमा घर नं. समेत टाँस गरिउको छ । घर नं. अनुसार हरेक घरका सदस्यहरुको विवरण र स्वास्थ्य अवस्था ट्याव मार्फत लिइएको हुन्छ । त्यसको लिंक अस्पतालमा हुन्छ । स्वास्थय कार्यकर्ताको सल्लाह अनुसार विरामीलाई स्वास्थ्य चौकी र अस्पतालमा सिफारिस समेत गर्छन् । यो कार्यक्रम क्रमशः जिल्लाभर सञ्चालन गर्ने योजना बनाएको छ । अस्पतालको यस्तो सेवाबाट अहिले ९० प्रतिशत प्रसुती अस्पतालमा हुने गरेको छ ।

पुराना सरकारीतिर नयाँ जनशक्ति थपिदैं
अस्पतालमा पुराना जनशक्ति सरकारी सेवामा जाँदा नयाँ जनशक्ति थपिदै गएका छन् । अस्पतालमा हरेक दिन ९ बजेदेखि १० बजेसम्म कार्यरत सबै कर्मचारी र ओजेटीमा आउँने विद्यार्थीहरुका लागि कक्षा सञ्चालन हुन्छ । अस्पतालमा अघिल्ला दिनका कामको समिक्षा सहित अस्पतालको सेवा र विश्वमा नयाँ नयाँ विकसित उपचार पद्धतिका बारेमा पालैपालो प्रस्तुतीकरण हुन्छ । यस्तो कक्षा मेडिकल कलेजको जत्तिकै हुने मेडिकल डाइरेक्टर दंगालले जानकारी दिए ।
अस्पतालले भर्ना गरेका जनशक्तिहरु दैनिक सञ्चालन हुने कक्षाबाट लोकसेवा तयारीमा समेत सहयोग पुग्ने हुँदा धेरै लोकसेवामा नाम निकालेर सरकारी सेवामा जाँदा अस्पताललाई नयाँ जनशक्ति भर्ना गरी राख्नु पर्ने चुनौती छ । नियमित सञ्चालन हुने कक्षाबाट लोकसेवा तयारी गर्ने सिएमए, एचए, स्टाफ नर्सहरुका लागि अत्यन्तै उपयोगी हुँदा यहाँ काम गरेका अधिकाँश ६ महिना एक वर्ष भित्रै लोकसेवामा नाम निकाल्न सफल भएका छन् । तर अस्पतालले पनि प्रयाप्त भवन भए एचए र नर्सिङ पढाइ समेत गराउन सकिने योजना बनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको