सिक्टा र पप्पुबीचको विवादले काममा अन्यौलता, फर्कियो अष्ट्रेलियन विज्ञ टोली

बाँके । सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका विषयमा ठेकेदार कोस्टल पप्पु कन्स्ट्रक्सन कम्पनी र आयोजना कार्यालयबीचको विवादले काममा अन्यौलता छाएको छ । पप्पुले डुुडुवा नहर २०१८ अक्टोबर २० तारिखसम्म सक्नुपथ्र्यो । आयोजनाले डुडुवा शाखा नहर निर्माणका लागि पप्पुसँग २०७३ असार ६ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता गरेको २८ महिना बितिसक्दा पनि कामको प्रगति नदेखिएपछि आयोजना कार्यालयले करिव एक महिना अघि सम्झौता तोडेर कालो सूचीमा राखेको छ । विभागसँगको सम्झौता अनुसार काम नगरेपनि पप्पुले उक्त आयोजनाको करिव ११ करोड रुपैयाँ लिइसकेको बताइएको छ । डुडुवा नहर निर्माणका लागि साउदी विकास कोषले नेपाल सरकारलाई दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
नहर निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने बेला ७ प्रतिशत मात्र काम गरेपछि आयोजनाले पप्पुसँग ठेक्का तोडेर कालो सूचीमा राख्ने निर्णय मात्र गरेन, पप्पुको करिव ७ करोड रूपैयाँ बराबरको बैंक ज्ञारेन्टी समेत जफत गर्ने तयारीमा थियो । आयोजनाको उक्त कदमविरुद्ध पप्पु अदालतमा पुगेपछि अहिले डुडुवा नहरमा उत्पन्न भएको सो विवादले अन्यौलता छाएको हो ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दा सम्मका लागि तत्काल पप्पुको बैंक ग्यारेन्टी जफत नगर्न र कालो सूचीमा नराख्न केही दिनअघि आदेश दिइसकेको छ । कम्पनीका तर्फबाट सुमित रौनियारले दर्ता गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतका न्यायाधीश विष्णुप्रसाद पौडेल र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले आदेश दिएको छ ।
अदालतले ठेक्का सम्झौता बमोजिम विवाद सुल्झाउन असजिलो पार्ने तथा प्रभावमा पार्ने गरी कुनै कार्य नगर्न, नगराउन आदेश दिएको छ । अदालतको आदेशले ठेकेदार पप्पुको मनोबल बढेको छ भने आयोजनाका कर्मचारीहरु अब के गर्ने ? भन्ने अन्यौलमा छन् । स्रोतका अनुसार आयोजना कार्यालयले डुडुवामा नयाँ ठेक्का लगाउने तयारी गरेको छ ।
आयोजनाका निर्देशक कृष्ण नेपालले पप्पुको बैंक ग्यारेन्टी र कालो सूचीका विषयमा अदालतले अन्तरिम आदेश मात्र दिएको बताउँदै भने, ‘डुडुवाको काम अगाडी बढाउने विषयमा अदालतले कुनै रोक लगाएको छैन, नयाँ ठेक्का लगाउने प्रक्रिया अगाडी बढाइरहेका छौं ।’ डुडुवामा करिव २३.२ किलोमिटर लामो नहर बनाउन सिँचाइ विभागले ९८ करोड रुपैयाँमा ठेकेदार पप्पुसँग सम्झौता गरेको थियो ।
नहर सम्पन्न हुनुपर्ने बेलामा काम अधुरो मात्र नभएर मुद्दा मामिला हुन थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँमा डुडुवा नहर बाहेक सिँचाइको अरु कुनै विकल्प नभएका कारण डुडुवा नहरप्रति किसानको आशा धेरै पलाएको थियो । यहाँका किसान आकाशे पानीको भरोसामा खेती गर्दै आएका छन् । सिँचाइ अभावका कारण कतिपय किसानले खेतबारी बाँझै छाड्नुपर्ने बाध्यता छ ।
‘गाउँमा डीप बोरिङ खन्दा पनि सफल हुँदैन, सिँचाइको एउटा मात्रै विकल्प भनेको नै डुडुवा शाखा नहर हो, यो नहरले पनि अहिलेसम्म हामीलाई आशा मात्रै देखाउने काम गर्यो,’ स्थानीय गोमती हरिजनले भनिन् । डुडुवा शाखा नहरबाट खेतबारीमा सिँचाई गर्ने आशा गर्न थालेको बर्षौसाल बिते पनि अहिलेसम्म अधुरै रहेको उनले दुखेसो पोखिन् । सरकारले स्थानीय डुडुवा खोलाको पानीमार्फत किसानको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यले परम्परागत खालको डुडुवा सिँचाइ प्रणाली स्थापना गरेको थियो ।
उक्त नहरको २०२० सालमा राजा महेन्द्रले उद्घाटन गरेका थिए । तत्कालिन समयमा उक्त नहरबाट ३ क्युमेक पानी सञ्चालनमा ल्याइएको थियो । नहर पटक–पटक विग्रिन थालेपछि सिक्टा सिँचाइ आयोजनाले डुडुवालाई आफ्नो सबैभन्दा ठुलो शाखा नहर बनाउने गरी काम अघि बढाएको थियो । आयोजना कार्यालयका अनुसार डुडुवा शाखा नहरबाट सिक्टाको पानी १८ दशमलव ५ क्युमेक छाड्ने गरी डिजाइन गरिएको छ । उक्त शाखा नहरबाट १६ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य रहेको छ ।

फर्कियो अष्ट्रेलियन विज्ञ टोली
अस्ट्रेलियन विज्ञ टोली सिक्टा सिँचाइ आयोजना पश्चिम मुल नहरको निरीक्षणको काम सकेर शुक्रबार काठमाडौं फर्किएको छ । उक्त टोली मंगलबार निरीक्षणका लागि बाँके आईपुगेको थियो । दुई सदस्यीय उक्त टोलीले घुलनशिल माटो अत्यधिक रुपमा प्रयोग भएको पश्चिम मुल नहर अन्तर्गत रहेको ओभरी, बालापुर, ढकेरी तथा अगैयामा रहेको हेडवक्र्स स्थलगतरुपमा निरीक्षण गरेर फर्किएको आयोजना निर्देशक कृष्ण नेपालले जानकारी दिए ।
टोलीले मुल नहरमा प्रयोग भएको घुलनशिल माटोलाई सुक्ष्म रुपले अध्ययन पनि गरेको उनले बताए । ‘उहाँहरु तीन दिनजति बसेर स्थलगत अनुगमनका साथै हामीसँग पनि अन्तरक्रिया समेत गरेर जानुभयो,’ नेपालले भने, ‘फिल्डमा आँखाले देखेको चिजलाई समेटेर रिपोर्ट तयार गर्नुहुनेछ ।’ उक्त टोलीले घुलनशिल माटोको नमुना पनि सँगै लिएर फर्केको छ । आयोजना कार्यालयलाई घुलनशील माटोले उत्पन्न गरेको समस्या समाधानमा उक्त टोलीले सघाउने अपेक्षा गरिएको छ ।
सिक्टामा उत्पन्न समस्या समाधानका लागि माटो परिक्षणका साथै नयाँ ढंगले पुनःनिर्माणको काम थाल्नुपर्ने चौतर्फी रुपमा आवाज उठ्दै आएको छ । अष्ट्रेलियासँग घुलनशील माटोको विषयमा विज्ञता हासिल गरेका दक्ष जनशक्ति र प्रविधिक अनुभव रहेको मानिन्छ । सिक्टा नहरको १७.७ किलोमिटरदेखि ३५ किमीसम्मको बीचमा पर्ने बालापुर–झिझरी खोलासम्मको ५ किलोमिटर क्षेत्रमा घुलनशिल माटो बढी मात्रामा प्रयोग भएको आयोजना कार्यालयले जनाएको छ ।
अख्तियारले आर्थिक अनियमितता गरी सिक्टा नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै केहीदिन अघि कर्मचारी, ठेकेदार र परामर्शदाता कम्पनीविरुद्ध साढे ८ अर्व बराबरको विगोसहित भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । सिक्टाको कुल ४५.२५० किमी पश्चिम मुल नहरमध्ये ‘सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनी’ले ४२ किमी निर्माण गरेको थियो ।
सो खण्डमा घुलनशिल माटो प्रयोग हुनुका साथै कमसल निर्माण भएको स्थानीयले बताएका छन् । कमसल निर्माणकै कारण पहिलो पटक परिक्षण गर्दा २०७३ असार १४ मा ढकेरीस्थित झिझरी खोला छेउमा भत्किएको थियो । त्यसको एकवर्षपछि गत साउन ७ गते पनि परिक्षणकै क्रममा ढकेरीस्थित चंगाई नाला नजिक मुल नहर भत्किएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको