भेरीमा थपियो शैय्या, दरबन्दी अभाव कायमै

बाँके । प्रदेश सरकारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई पाँच सय शैयामा बिस्तार गर्ने भएको छ । यसका लागि आबश्यक प्रक्रिया अघि बढिसकेको छ । तर यहाँ चिकित्सकको दरबन्दी भने स्थापना कालकै रहेको छ ।
दरबन्दी अनुसारका चिकित्सक अहिले पनि भेरीमा छैनन् । शैया त थपियो अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट रूपानन्द अधिकारीले भने, ‘चिकित्सक जनशक्ति पुरानै रहेकोले समस्या छ ।’ उनका अनुसार अहिले पनि अस्प्तालमा दरबन्दी अनुसारका डाक्टर र नर्स लगायतको अभाव नै छ ।
पाँचवटा प्रदेश तहका ठूला अस्पताललाई ट्रसरी अस्पताल बनाउन प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रस्ताव पेस गर्न सैद्धान्तिक सहमति दिएको हो । बहुविशेषज्ञ ६ वटै ट्रसरी अस्पताल केन्द्रीय अस्पतालका रूपमा केन्द्र सरकारमातहतमा सञ्चालन हुनेछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगन्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशिष्ट सेवासहितको अस्पतालमा रूपान्तरण गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।
ती अस्पतालहरू तीन सय शैयाभन्दा माथिका हुनेछन् । प्रदेश तहमा ठूला अस्पताल र पर्याप्त विशेषज्ञ जनशक्ति अभावमा सामान्य रोगको उपचारका लागि पनि अहिले सीमित ठूला सहर र केन्द्रमै धाउनुपर्ने अवस्था हटाउन अस्पतालको स्तर बढाउन खोजिएको हो ।
मन्त्रिपरिषद्को निर्णयमा सामाजिक समितिमा छलफल गरी पेस गर्ने उल्लेख छ । भेरी अञ्चल अस्पताललाई पाँच सय बेडको बनाउने प्रस्ताव २५ कार्तिकमा मन्त्रीस्तरीय निर्णयबाट भएको थियो । उल्लेखित पाँच अस्पताललाई प्रदेशस्तरीय ट्रसरी अस्पताल बनाउने प्रस्ताव तीन मंसिरमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।
हाल भेरी अञ्चल अस्पताल नेपाल सरकारबाट एक सय शैया स्वीकृत भई विकास समितिबाट ५० शैया गरी जम्मा १५० शैयामा सञ्चालन भइरहेको छ । मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्तावअनुसार यो अस्पताल प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमको समेत ट्रसरी अस्पतालका रूपमा छ । विपन्न नागरिकका लागि सहुलियत प्रदान गरिएका सेवाहरू डायलाइसिस, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरीलगायत रोगमा बिरामीको चाप अनुरूपको सेवा प्रदेश तहमै पु¥याउन अस्पतालको स्तरोन्नतिको प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया

धेरै पढिएको