देशैभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन ।
मौसम बदली भएसँगै काठमाडौं लगायतका विभिन्न ठाउँमा जाडो बढेको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ । आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘अबको एक÷दुई दिन मौसम यस्तै रहन्छ,’ नगरकोटीले भनिन्, ‘बुधबार राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।’
मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन । पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने सम्भावना छ । पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थालेको छ । तर, पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेको छैन ।

प्रतिक्रिया

लोकप्रिय