पर्यटक लोभ्याउँदै बर्दियाको सत्खलुवा ताल, जहाँ फुल्छ रातो कमल

बाँके । धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको बर्दियाको सत्खलुवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
पाँच वर्षअघि माछाको ठेक्का रद्द गरी संरक्षण थालिएको सत्खलुवा तालमा अहिले डुंगा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको छ । तालकै कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बारबर्दिया नगरपालिका ९ खैरेनीमा रहेको सत्खलुवा तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटक डुंगामा सयर गर्न पुग्ने गरेका छन् । तालमा पानी खान आउने जंगली जनावरको अवलोकनका लागि पनि पर्यटक आउने गरेका स्थानीयवासी बताउँछन् ।
निकुञ्जभित्रका चुरे पहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यस तालवरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिंगरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समय विशेषगरी चैत–वैशाखको खडेरीमा जंगली जनावर तिर्खा मेट्न यो तालमा आउने गरेका छन् । भर्खरै संरक्षणको सुरुवात गरिएको भए पनि हाल तालवरपर रैथाने चराका साथै आगन्तुक चराको पनि संख्या बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।
यस तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । ६० बिगाहामा क्षेत्रफलमा फैलिएको पूर्वपश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखि झण्डै ४ किलोमिटर उत्तरपूर्वमा रहेको सत्खलुवा ताल संरक्षणमा स्थानीयहरुको सक्रियता निकै बढेको छ । स्थानीय सक्रियतासँगै अहिले त्यहाँ घुम्न जानेहरुको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय स्थानीय बासिन्दाले संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेपछि पर्यटकहरुको आवागमन पनि बढ्न थालेको बताउँछन्, सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाई ।

‘विगतमा माछापालन र सिँचाइका लागि प्रयोग हुँदै आएको यस ताललाई दुई वर्षदेखि पूर्ण संरक्षणका लागि लागिपरेका छौं,’ उनले भने, ‘अहिले माछा मार्न र सिँचाइमा पूर्ण बन्देज लगाइएको छ ।’ सल्खलुवा तालको सहायक तालका रुपमा नजिकै सपदुवा र सतन्ची ताल पनि छन् । ती ताललाई पनि संरक्षण गरिएको छ । ताल संरक्षण गरे वातावरण जोगिने, जीवजन्तुको संरक्षण हुने र स्थानीयहरुले पनि लाभ लिनसक्ने भएकाले संरक्षणमा जुटेको चापागाईको भनाई छ । खुला चरिचरणको रुपमा रहेको ताल वरपरको वनलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर स्थानीयहरुकै पहलमा तारबारसमेत गरिएको छ ।
तारबार निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद अधिकारीका अनुसार नगरपालिकाको आर्थिक समयोग र स्थानीयको जनश्रमदान गरी रु.२८ लाख २८ हजार २३० को लागतमा ताल तथा ताल वरपरको चरिचरण क्षेत्र संरक्षणका लागि तारबार समेत गरिएको छ । चैत बैशाखको खडेरीका बेला बर्दिया राष्ट्रिय निकुन्जदेखि चुरे क्षेत्रका जीवजन्तुको पानी खाने ठाउँ सत्खलुवा ताल नै हो । ताल र आसपासमा बाघ, गैंडा, हात्ती, सालक, अजिंगर र विभिन्न जातका चार अवलोकन गर्न सकिन्छ । तर सत्खलुवा ताललाई सरकारी क्षेत्रबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गर्न स्थानीहरुको माग छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष लगायतले केही सहयोग गरेपनि पर्याप्त नभएको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष चापागाईको गुनासो छ । उनले भने, ‘हामीले आफ्नै पहलमा यतिसम्म गर्न सकेका छौं । सरकारी निकायबाट सहयोग नहुँदा ताल संरक्षणका लागि सोचेअनुसार गर्न सकिरहेका छैनौं । राज्यले नै यसको संरक्षणमा ध्यान दिनुपर्छ ।’ बर्दियाको चिनारीकै रुपमा रहेको सत्खलुवा ताल हेर्न आउने र चरा अवलोकन गर्नेहरु आन्तरिक पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
पर्यावरणीय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर यस तालको बेलैमा संरक्षण गरी सबै सामु चिनाउन राज्यको भूमिका जरुरी रहेको स्थानीयहरुको भनाई छ । अहिले यो ताल वरिपरी दैनिक पिकनिकका लागि पुग्नेहरुको घुइँचो छ । जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको ताल वरपर निकुञ्जका जंगली जनावरको समेत बासस्थान बढ्दै गएको छ । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीमा पानी खान आउने जंगली जनावर सजिलै हेर्न पाइने हुँदा यो तालप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयहरुले गाउँदेखि तालसम्म साप्ताहिकरुपमा सरसफाईसमेत गर्दै आएका छन् ।

तालमा फुल्छ रातो कमल
पौराणिक कथानुसार देवीदेवताले मान्छेसँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । सतपटुवाल शब्द अपभ्रंस भएर सत्खलुवा नाम रहन गएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । बाह्रै महिना पानी नसुक्ने प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको यस तालमा दुर्लभ रातो कमलको फूल फुल्ने गर्दछ । पर्यटकहरुले रातो कमलको फूल हेर्ने र तस्वीर खिँचाउँदै रमाउने गरेको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाईले बताए ।

पर्यटक व्यवस्थापन गर्न होमस्टे
ताल हेर्न र चराहरुको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थापनका लागि स्थानीयहरुले दुई वर्षदेखि होमस्टे सञ्चालन गरेका छन् । होमस्टेले स्थानीयहरुको जीविकोपार्जनमा टेवा पुर्याउनुका साथै पर्यटकहरुलाई घुमफिरपछि सहजरुपमा बास बस्ने व्यवस्था गरिएको होमस्टे सञ्चालक सुरेश आचार्यले बताए । सल्खलुवा ताल नजिकै रहेको खैरेनी गाउँमा अहिले १० वटा होमस्टे सञ्चालनमा रहेका छन् । ताल र पशुपंक्षी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस भनेर खैरनीमा स्थानीयले होमस्टे सञ्चालन गरेको आचार्यले बताए ।
थारु बाहुल्य क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक भेषभुषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्यु, खैजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ । जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण सत्खलुवा ताल नजिक बस्ने स्थानीयमा साँस्कृतिक र जातीय विविधता पाइन्छ । ताल संरक्षणसँग जोडिएका कामले तालमात्रै होइन, थारु लगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भैरहेको छ । खैरेनीमा थारु समुदायका ४ र बाहुन क्षेत्री समुदायका ६ वटा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।

लोभ्याउँदै पर्यटक
स्थानीयहरुको सक्रियताका कारण सत्खलुवा ताल पर्यटकीयस्थलमा परिणत भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भइरहेको छ । राजमार्गनजिकै भएकाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा पर्यटकहरु तालको अवलोकनका लागि पुग्ने गरेका छन् । सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिले ०७२ पुसदेखि ताल घुम्नका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगा सञ्चालनपश्चात् हालसम्म करिब २० हजार आन्तरिक तथा बाह्य पर्यटले तालमा सयर गरिसकेका संरक्षण समितिले जनाएको छ ।
समितिले ताल क्षेत्रमा प्रवेश गरेबापत १० र डुंगा चढेबापत २५ रुपैयाँ शुल्क लिने गरेको छ । सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाईले तालमा उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरिएको बताए ।सत्खलुवा क्षेत्रमा होमस्टेसमेत सञ्चालनमा आएपछि ताल अवलोकनमा आउने पर्यटकको संख्या अझ बढेको छ । होमस्टे सञ्चालक शिवप्रसाद अधिकारीका अनुसार पहिले बास बस्ने व्यवस्था नहुँदा पर्यटकहरु कम आउने गरे पनि होमस्टे सञ्चालनपछि पर्यटक आगमन बढेको छ ।

प्रतिक्रिया

धेरै पढिएको