दुई भीभीआइपी सुकी र हुन सेन काठमाडौंमा

एशिया प्यासिफिक समिट-२०१८

काठमाडौं । भोलि (शुक्रबार)देखि सुरु हुने एशिया प्यासिफिक समिट २०१८ मा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आइपुगेका छन् । अन्य अतिथिहरु पनि धमाधम काठमाडौं आइपुग्दैछन् ।
आज काठमाडौं आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री र म्यान्मारका स्टेट काउन्सिलर विश्व चर्चित व्यक्तित्वका रुपमा चिनिन्छन् । म्यान्मारकी स्टेट काउन्सिलर सुकी नेशनल लिग फर डेमोक्रेसकी नेतृ हुन् । उनले म्यान्मारमा प्रजातन्त्रका लागि खेलेको भूमिकाका लागि सन् १९९१मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।
उनलाई तत्कालीन सैनिक शासनले लामो समय जेल राखेकोमा सन् २०१० मा रिहा गरेको थियो । उनी सन् २०१५को निर्वाचनमा विजयी पनि भइन् । उनलाई एकताका मानवअधिकारको पर्यायको रुपमा समेत लिइन्थ्यो । तर, पछिल्लो समय उनीसमेत रहेको सरकारले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि गरेको ज्यादतीका कारण उनी विश्वभर नै आलोचित छिन् । कतिपय अन्तर्रा्ष्ट्रिय कार्यक्रममा उनलाई निम्तो दिनसमेत छोडिएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसलनले उनलाई मानवअधिकार सम्बन्धी अवार्ड दिएकोमा सो अवार्डसमेत हालै फिर्ता गरेको थियो । उनी विगतमा पनि पटकपटक नेपाल आएकी थिइन् । रोहिंग्यामाथि भएको ज्यादतीको बारेमा अन्तर्राष्ट्रिय निकायले जारी गरेको प्रतिवेदनमा अहिलेको म्यान्मार सरकारलाई कडा आलोचना गरेको पाइने गरेको छ । केही रोहिंग्या शरणार्थी नेपालमा पनि बस्दै आएका छन् ।
आजै नेपाल आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन विश्वकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रधानमन्त्रीका रुपमा चिनिन्छन् । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सेप्टेम्बर महिनामा संयुृक्त राष्ट्रसंघको महासभामा गएका बेलामा न्यूयोर्कमा नै भेटेका थिए । त्यही बेला नै प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका उनी सन् १९८५ देखि क्याम्बोडियामा निरन्तर प्रधानमन्त्री छन् । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि उनी चर्चित थिए । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् । आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने गुण भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ ।
तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालीयन कमाण्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप पनि लाग्ने गरेको छ । खमेरुज पराजित भएपछि सन् १९७९मा भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइएका थिए । सञ्चारमाध्यम र विपक्षीमाथिको नियन्त्रणको आरोप उनी खेपिरहेका छन् ।

प्रतिक्रिया

लोकप्रिय