बाली बिमा गराउन किसान उदासिन

बाँके । कृषि बिमाप्रति कृषकको आकर्षण हुन नसक्दा बाँकेमा कृषि बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । जिल्लाका कृषकको चासो कृषि बिमापट्टि नभएका कारण नै जिल्लामा योजना लागू भएको तीन वर्ष पुगिसक्दा पनि बिमामा कृषकहरूको आकर्षण न्यून देखिएको हो ।
तीन वर्षको अवधिमा जिल्ला कृषि विकास कार्यालय बाँकी दर्ता गरिएको कृषि व्यवसाय समूह, फार्मको तथ्यांकभन्दा अत्यन्तै न्यूनरूपमा कृषि बिमा भएका छन् । सरकारले बाली बिमालाई प्राथमिकता दिए पनि सर्वसाधारण कृषकहरूले भने चासो नदेखाएको पाइएको छ ।
बिमाको सेवा प्रक्रिया झन्झटिलो भएका कारण कृषकले चासो नदिने गरेको जिल्ला कृषि विकास कार्यालयका बिमा फोकल पर्सन एवं बाली संरक्षण अधिकृत बसिर अहमद खाले बताए । उनका अनुसार चार हजारभन्दा बढी किसान रहेको बाँकेमा बढीमा ३० जना कृषकले मात्र बाली बिमा गराएका छन् ।
सरकारले माछा, तरकारी, धान, मकै, फलफूलको बिमा गराउने नीति अघि सार्दै विशेष सुविधासमेत दिएको छ । कुल बिमा रकमको ८० प्रतिशत सरकारले अनुदान दिने गरेको छ । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमले समेटेका कृषकले पनि बालीको बिमा गराएका छैनन् । मकै जोन कार्यक्रममा ३५ कृषक समूह, उद्यमी र सहकारीका १ हजार ३५१ जना कृषक आबद्ध छन् ।

प्रतिक्रिया

लोकप्रिय