बल्दैनन् ई–रिक्साका इन्डिकेटर !

दुर्घटनाको जोखिम

बाँके । यतिवेला नेपालगन्जमा ट्राफिकको ‘नो हर्न’ अभियानले ब्यापकता पाइरहेको छ । ध्वनी प्रदुषण न्यून गर्न तथा सडक दुर्घटना कम गर्ने उद्देश्यका साथ थालिएको यो अभियानलाई सक्रिय पारिदैछ । एकातिर नो हर्नको अभियान र अर्कातिर सडकमा गुड्ने सवारीसाधनका कारण सडक दुर्घटना भने उस्तै छ । जसको एक ज्वलन्त उदाहरण ई–रिक्सा हुन पुगेका छन् ।
नेपालगन्जमा गुड्ने अधिकांश ई–रिक्साका इन्डिकेटर बल्दैनन् । ईन्डिकेटर नबल्दा गाडी चालक दोधारमा पर्छन् र दुर्घटना समेत हुनेगर्छन् । दिनहुँजसो नेपालगन्जमा हुने सानाठूलो दुर्घटनाका कारक मध्ये ई–रिक्सामा इन्डिकेटर नबल्नु पनि एक हो । इन्डिकेटर नबालेरै ई–रिक्सा चालकले आफूखूसी बाटो काट्ने, झ्याप्पै रोक्ने गर्नाले समेत दुर्घटना हुने गरेको छ ।
सवारीसाधनमा आएको बढोत्तरी र यसको विकाससँगै यसको सहीरुपमा ब्यवस्थापन हुननसक्नु पनि सडकमा जोखिम बढेको जानकार बताउँछन् । नेपालगन्जमा दिनहँु करिब पाँच सय बढि ई–रिक्सा गुड्छन् । जसमध्ये अधिकांश ई–रिक्साको अवस्था जोखिमपूर्ण रहेको छ । सवारी धनी र चालकले लापरबाही गर्दा दुर्घटनाको जोखिम बढिरहेको हो ।
सडकमा गुड्ने यस्ता थुप्रै ई–रिक्साको गुणस्तरता र तीनका अवस्था कमजोर छ । अझ ई–रिक्सा चालकले त्यसैमा आफूखुसी सडक काट्ने, मनपरि ठाँउमा रोक्ने गर्दा हामी ठूला गाडी चालकलाई समस्या भइरहेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा ५ वर्षदेखि माइक्रो बस गुडाइरहेका चालक ईन्द्रबहादुर थापाले बताए ।
उनले ई–रिसक्साले एक्कासी बाटो काट्छन्, रोक्छन् उनीहरुले इन्डिकेटर पनि बाल्दैनन् यस्तोबेला हामी झुक्किन्छौं र गाडी ठोक्किने कि त दुर्घटना हुने गरेको आफ्नो अनुभव सुनाए । सवारी साधनमा हुनुपर्ने सामान्य स्टाण्डरलाई समेत मध्यनजर नगरी गाडी चलाउनु आफैमा जोखिमपूर्ण कार्य रहेको पैदल यात्रु राजकुमार बर्माले बताए ।
उनले भने, ‘पहिले जस्तो छैन नेपालगन्ज, अहिले सवारीसाधनको चाप बढेको छ, उत्तिकै मात्रामा सर्वसाधरणहरुको पनि भीड लाग्ने गर्छ । यस्तो अवस्थामा ई–रिक्सा चालकले बेप्रवाह रिक्सा चलाउछन् र दुर्घटना बढाइरहेका छन् ।’ जाडोको सुरुवात बढेसगैँ नेपालगन्जमा लाग्ने बाक्लो हुस्सु र कुहिरोमा यस्ता सवारी साधन गुडाउदाँ झन् दुर्घटनाको जोखिम बढ्छ ।
नेपालगन्जमा गुड्ने ई–रिक्साको यस्तो अवस्थाले दिनमा मात्र होइन रातीको समयमा पनि जोखिम बढाएको छ । रातको समयमा चल्ने अधिकांश ई–रिक्सामा हुनुपर्ने इन्डिकेटर र लाईट विना नै गुडीरहेका हुन्छन् । कतिपय ई–रिक्सामा लागेको ठूला डिजिटल फोकस लाईटले अगाडी हेर्न समेत गाह्रो हुन्छ, र पैदल यात्रुमात्र होइन अन्य सवारीसाधन समेत चलाउन हम्मे–हम्मे हुने गरेको मोटरसाईकल चालक प्रदिप गुप्ता बताउँछन् ।
सर्वसाधरणका लागि सहजता लागि ई–रिक्सा एक आरामदायी सवारीसाधन भएता पनि यसमा हुनुपर्ने न्यूनतम मापदण्ड पुरा नगरिदिदाँ दुर्घटना बढिरहेको हो । यसरी इन्डिकेटर विना निर्वाधरुपमा नेपालगन्जमा गुड्ने ई–रिक्साको नियन्त्रणमा भने सम्बन्धित निकायले भने खासै चासो दिन सकेको छैन । नेपालगन्जको ट्राफिक ब्यवस्थापनको जिम्मा पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई–रिक्साको पार्किङ स्पटसमेत बनाएको छैन ।
नेपालगन्जको पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक, गणेशमान चोक, त्रिभुवन चोक तथा भेरी अञ्चल अस्पताल, आँखा अस्पताल, त्रिवेणीमोड, फुल्टेक्रा चोक लगायतका सर्वसाधरणको भीड हुने स्थानमा समेत ई–रिक्साहरु आफूखुसी पार्किङ गर्ने, मनपरि सवारी ओराल्ने र चढाउने काम भइरहेको छ । यी स्थानमा ट्राफिकको उपस्थिति भए पनि यसको व्यवस्थापनमा खासै चासो दिएको पाइदैन ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायका अनुसार नेपालगन्जमा दिनहुँ पाँचसयको संख्यामा ई–रिक्सा गुड्छन् । तर इन्डिकेटर र लाईटविनाका ई–रिक्सा नियन्त्रणमा भने खासै चासो नदिएको उनले स्वीकार गरे । यस्ता सवारी साधनको नियन्त्रण तथा ब्यवस्थापनका लागि सर्वप्रथम सवारीधनि र चालकले ध्यान दिनुपर्ने उनले बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख रोकायले इन्डिकेटर विना चल्ने ई–रिक्सा नियन्त्रण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
‘नगरको ट्राफिक ब्यवस्थापन गर्ने कार्य ट्राफिक प्रहरीको मात्र नभइ सम्पूर्ण नगरबासीको पनि उतिकै जिम्मेवारी हो,’ उनले भने, ‘अब हामी इन्डिकेटर विना गुड्ने ई–रिक्सालाई ब्यवस्थापन गरि समग्र नगरको ट्राफिक ब्यवस्थापनमा ब्यापकता दिन्छौं ।’

प्रतिक्रिया

धेरै पढिएको