रोकियो हुलाकी राजमार्ग, पप्पु कन्ट्रक्सनको १० करोड धरौटी जफत

निर्माणमा बदनाम

बाँके । पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तरगत बाँके खण्डको काम ठप्प भएको छ । नेपालगन्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ । पप्पुले यो ठेक्का ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।
गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ । पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ । सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको छ ।
सरकार र पप्पुबीचको लडाईका कारण सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारिका बासिन्दाको सपना टाढा धकेलिएको छ । पैसा नपाएको भन्दै काम रोकेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए । उनले भने, ‘राज्यका कारण हुलाकी सडकको काम रोकिएको छ ।’ हुलाकी सडकको २०७४ माघमा ठेक्का लागेको थियो ।
ठेक्का सम्झौता अनुसार, २०७६ साउनमा काम सक्नुपर्ने सम्झौता छ । ‘जेठदेखि भुक्तानी पाएका छैनौं । कतैकतै अहिले पनि मुअब्जाको विवाद कायमै छ,’ गणपति कन्ट्रक्सनका प्रमुख भण्डारीले भने, ‘सरकारले अहिले पनि भुक्तानी दिने हो भने हामीले साउनसम्ममा काम सम्पन्न गर्छौ ।’ स्थानीय मुस्ताक अहमदले भने, ‘बल्ल बल्ल अगाडि बढेको हुलाकीको काम पनि रोकियो ?’
सन् २००७ मा भारतले हुलाकी बनाउने सम्झौता गरेको थियो । सन् २०१० मा आएर काम सुरु गर्यो । ५ वर्षमा ५ प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भयो । त्यसपछि बल्ल सरकारले हुलाकीको काम अघि बढाएको थियो । यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारिका स्थानीयले शुरु भएको काम रोकिँदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन् ।
हुलाकी सडक कार्यालयका इन्जिनियर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताए । हुलाकी सडकलाई नपार्न जिल्लाका सांसदहरु लागि परेका छन् । सांसद महेश्वर गहतराजले सरकार र पप्पुको विवादले जनता पिल्सिन नहुने बताए । ‘धान मुसा खान्छ, चोट भ्यागुताले पाउँनुहुँदैन,’ सांसद गहतराजले भने ।
सांसद गहतराजले ठेक्का प्रक्रियामा देखिएको समस्याको गाँठो छिटो फुकाएर काम अघि बढाउनुपर्ने बताए । ४४ किलोमिटर टाढा रहेका नरैनापुरका बासिन्दालाई सडक राम्रो नहुँदा सदरमुकाम आउन दिनभरी लाग्छ । नरैनापुर गाउँपालिकाका प्रमुख मो.इस्तियाक अहमद साहले हुलाकीको काम छिटो सुचारु गर्न माग गरेका छन् ।
‘माथिको विवादसँग हामीलाई सरोकार छैन, यहाँ काम रोकिनुहुँदैन,’ उनले भने, ‘छिटो काम थाल्नुस् ।’ हुलाकी सडक नबन्दा अहिलेसम्म राप्तीपारिको जनता सदरमुकामसँग जोडिन सकेका छैनन् । सडक नहुँदा बघौडा क्षेत्र जिल्लाको कर्णाली भनेर चिनिन्छ । भारतसँग सीमा जोडिएका नरैनापुरवासी धेरै कारोबार भारततिर नै हुने गरेको छ ।

पप्पुको धरौटी जफत
पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको रु.९ करोड ९० लाख सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेकाले उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत हुने भएको हो । निर्माण कम्पनीले काम गरेको भन्दा पेश्कीबापत लगेको रकम धेरै भए त्यो पनि फिर्ता गर्नुपर्ने हुन्छ ।
कामको मूल्यांकनका लागि पप्पुलाई पत्राचार गर्ने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर प्रकाशबहादुर कार्कीले बताए । उनका अनुसार, निर्माण कम्पनीले काम गरेको भन्दा बढि रकम लगेको भए फिर्ता गर्नुपर्ने प्रावधान छ । डुडुवा शाखा नहर निर्माणमा ढिलाई गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेपछि टेन्डरमार्फत पुनः ठेक्का सम्झौता हुने भएको छ ।
सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले ८ करोड ३७ लाख रुपैयाँ पेश्की लिइसकेको छ । डुडुवा शाखा नहर निर्माणको जिम्मा पाएको पप्पुले ठाउँठाउँमा नहर खनेको र लाइनिङ गरेकोले मूल्यांकन गर्न गाह्रो भएको बताए । ‘ठाउँठाउँमा काम भएकोले यकिन गर्न गाह्रो छ । कति प्रतिशत काम भएको छ भन्ने मूल्यांकनपछि मात्र थाहा हुनेछ,’ उनले भने ।
पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म करिव सात प्रतिशत काम गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजनाका डिभिजनल इन्जिनियर कार्कीले स्पष्ट पारे । ‘हामीसँग सम्झौता भएको समयमा जम्मा ७ प्रतिशत मात्रै काम भएपछि मन्त्रिपरिषद्ले ठेक्का तोड्ने निर्णय गरेको हो,’ उनले भने ।
डुडुवा नहर निर्माणको काम ०७३ जेठदेखि सुरु गरी ४ पुस, ०७५ मा पूरा गर्ने लक्ष्य थियो । पप्पुले २३.२ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ ।
‘पप्पुले समयमै काम नगरिदिएका कारण उक्त आयोजनाको काम थप दुई वर्ष पछाडि धकलिएको छ,’ कार्कीले भने । यसैबीच, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी बर्षातसम्म पानी छोड्न नसकिने आयोजनाका डिभिजनल इन्जिनियर कार्कीले बताए ।
उनले मुल नहरमा पानी छोड्नासाथ भत्किने गरेकोले मर्मत नहुँदै पानी छोड्न नसकिने स्पष्ट पारे । ‘कारण पत्ता नलाग्दै मर्मत हुन सक्दैन । मर्मत नहुँदै पानी छोड्न मिल्दैन,’ उनले भने । बाँकेको ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई भएपछि यहाँका ६५ हजार कृषक मारमा परेका छन् ।
मुल नहरमै कमजोरी भएपछि बाँकेका कृषकले आगामी बर्षे धानका लागिसमेत आकासे पानीको भर पर्नुपर्ने भएको छ । ‘कुन आधारमा मर्मत गर्ने अझैँ टुंगो लागेको छैन,’ उनले भने, ‘बर्षे धानका लागि समेत नहरमा पानी छोड्न सक्ने संकेत छैन ।’ पूर्वी नहर र सिधनिया शाखा नहरमा काम जारी रहेको छ । डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा गर्न नसकेपछि पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

लोकप्रिय