जीवन रक्षाको दोसाँधमा राउटे, महामुखिया भन्छन्- ‘आजभोलि धेरै बिमारले च्याप्न थाल्यो’

आलेख

प्रकाश अधिकारी । सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित छन् । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउँ–पखाला, रुघाखोकीले थलिएका देखेर उनी छट्पटिन्छन् । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गरेका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना जनता रोगको शिकार हुन थालेको अनुभव भइरहेको छ ।

‘उसबेला शिकार खेल्दा भिरबाट लडिन्थ्यो, हिँड्डुल गर्दा खुट्टामा ठेस लाग्थ्यो, जडीबुटीले निको भैहाल्थ्यो,’ उनले भने, ‘टाउको दुख्यो भने बल्लेटी र तेजपातको रसले सञ्चो गराउँथ्यौं । आजभोलि धेरै बिमारले च्याप्न थाल्यो ।’ वन जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे जातिमा सरुवा रोगहरुले छुन थालेपछि समुदायका अन्य अगुवाहरुसमेत विस्मयमा छन् ।
मुखिया सूर्यनारायण शाहीको पनि उस्तै पीडा छ, ‘रोगले ज्यादा सताउन थाल्यो । बिमार भैराखे बाँच्न पनि मुश्किलै हुने भो ।’ उता, डाक्टरी उपचारको पनि उनीहरुलाई त्यति विश्वास लाग्दैन । ‘नचाहँदा नचाहँदै पनि डाक्टरसँग जानुपर्छ, अस्पताल त अरुका लागि बनाइएका हुन्,’ उनले भने, ‘हामीलाई जडीबुटीले निको हुनुपर्ने हो ।’ बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरुलाई पछिल्ला केही वर्ष यता गर्मी र जाडो दुबैले उत्तिकै सताउने थालेको छ ।
राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । मानवको तीव्र बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेका छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ । खोला, नदीनालाको पानी नखाने राउटेहरु मुहान सुक्न थालेपछि झनै त्रासमा छन् ।
लोपोन्मुख जाति राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जङ्गलमा बसाइँ सरेका छन् । त्यहाँ ४२ छाप्रामा गरी १४९ जना सदस्य छन् । समुदायमा कुनै सदस्यको मृत्यु भएमा बस्ती सर्ने राउटे संस्कार भए पनि पछिल्ला वर्ष वातावरणीय प्रतिकूलताका कारण बसाइँ सर्न बाध्य छन् । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरुमा अधिकाँश राउटे विभिन्न रोगको सङ्क्रमणबाट थलिन पुगेका बताए ।
‘एक किसिमले राउटे जाति जीवन रक्षाको दोसाँधमा छ,’ उनले भने, ‘यही अवस्था रहिरहे राउटे लोप हुन धेरै वर्ष पर्खनुपर्दैन ।’ अधिकाँश सदस्यहरुको विभिन्न कारणले अल्पायुमै मृत्यु हुने गरेको छ । सत्यदेवीका बुझाइमा राउटेहरुले परिवर्तनदेखि लोभिएर लवाइखुवाइ र रहनसहन अन्य समुदायको जस्तै अपनाउन खोजे पनि आफ्नो पुरानो संस्कार त्याग्न नसक्ने अवस्थामा छन् । राउटेको संख्या वर्षेनी घट्दो क्रममा छ ।
राउटे अगुवाको भनाइमा पहिले ज्वरो, निमोनिया, आउँ हैजा, पखाला, केही रोग लाग्थेन । पछिल्ला केही दशक यता उनीहरुको स्वास्थ्य निकै कमजोर बनेको छ । रोगले कतिपयको त अकालमै मृत्यु भैसकेको छ । घनाजङ्गलमा बस्न रुचाउने राउटेहरु अचेल अन्य समुदाय नजीक र शहरबजार आसपासमा बस्न थालेका छन् । तापक्रम वृद्धिसँगै पहाडका जङ्गलमा समेत लामखुट्टेले टोक्नु, अन्य समुदायसँग बाक्लिंदो घुलमिल हुनु, खानपिनमा परिवर्तन हुनु, कडा एन्टिबायोटिक औषधिको सेवन गर्नुजस्ता कारणले राउटेहरु दिनप्रतिदिन रोगी बन्न थालेको बताइएको छ ।
राउटेहरु पहिले पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे ।  फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रत्तिभर आकर्षित छैनन् उनीहरु । ‘हामी दुनियाँ हुन चाहदैनौं, राउटे भएरै बस्छौं, राज्यले हामीलाई राउटे भएर बस्न देओस्,’ महामुखिया महिनबहादुरले भने, ‘हामीलाई घर, जमीन, धनसम्पति चाहिएन । वनमा बस्न दिए पुग्छ । हामी राउटेले सम्पति थुर्पानुछैन ।’
जङ्गलमा बसेकाले सरकारले आफ्ना समस्या नसुनेको मुखियाहरु गुनासो गर्छन् । अर्का मुखिया डिलबहादुर शाही भन्छन्, ‘ठूला रुखको छायामा परेर सरकारले हामी सानालाई हेपेको छ । सर्प त मानिसले पाल्ने गरेको छ भने हामी राउटेलाई फरक व्यवहार किन हुन्छ ?’ भत्ता दिएर मात्र सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने राउटे अगुवाको तर्क छ ।
सरकारले आव २०६५÷६६ देखि लोपोन्मुख भत्ता दिन थालेको हो । शुरुको एक वर्ष प्रतिव्यक्ति मासिक ५०० र त्यसयता मासिक एक हजार दिन थालिएको छ । भत्ता वितरणमा सहजता ल्याउने उद्देश्यले दैलेखको गुँरास गाउँपालिकाले स्थायी परिचयपत्र बाँड्यो । परिचयपत्र पनि उनीहरुले सदुपयोग गर्न सकेका छैनन् । अहिलेसम्म नागरिकता लिएका छैनन् । राज्यका वैधानिक अनागरिक बनेका छन्, उनीहरु ।
काठका भाँडाकुँडा बनाई साटफेर वा बिक्री गर्नु उनीहरुको मुख्य पेशा हो । तर पछिल्ला केही वर्ष यता उनीहरुले उत्पादन गरेका काठेसामग्री बिक्न छाडेका छन् । यसले गर्दा राउटे अगुवाहरु थप चिन्तामा छन् । ‘जङ्गलका राजा’ दाबी गर्ने राउटेहरु जङ्गलको उपभोग गर्न पाउँदैनन् । उनीहरुको बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यसको लिपि छैन । यो पनि लोपोन्मुख अवस्थामा छ ।
‘टुरिष्ट एरिया’ बनाऔं  
राउटेहरुको जीवन यतिबेला जटिल सङ्क्रमण कालबाट गुज्रिरहेको छ । यो समुदायसँग निकट रहेकाहरु बेग्लै वंश, धर्म, संस्कृति र भाषा भएको सानो मानव जाति राउटे पृथ्वीबाट लोप हुने अवस्थामा पुग्नुलाई दुर्भाग्य ठान्छन् । पृथ्वीमा रहेका जलचर, थलचर, उभयचर प्राणीदेखि वनस्पतिको विश्वव्यापी संरक्षण भैरहेका बेला मानव जाति राउटेको अस्तित्व रक्षाका लागि गम्भीर हुनुपर्ने उनीहरुको सुझाव छ ।
राउटे जातिका सम्बन्धमा लामो अनुसन्धान गर्नुभएका त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा नन्दबहादुर सिंहले राउटेलाई संरक्षित मानव समुदायका रुपमा विकास गरिनुपर्ने बताए । ‘राउटे कला, भाषा, संस्कृति, परम्परा र वेशभूषाको जर्गेना हुनुपर्छ,’ उनले भने, ‘राउटेलाई एनजिओको पोल्टाबाट मुक्त गरौं । भत्ता रकम कुलतमा खर्च हुन नदिन ध्यान दिऔं ।’ उनले प्रजनन दर बढी रहे पनि पाँच वर्ष मुनिका बच्चाहरुको मृत्यु दर बढी रहेको आफ्नो अध्ययनले देखाएको बताए ।
डा सिंहले भने, ‘चौध जनासम्म जन्माउनेका मुश्किलले चार पाँच जना बाँचेको देखियो । यही अवस्था रहेमा दुर्लभ जाति राउटे लोप हुन बेर छैन ।’ राउटे परिभ्रमण क्षेत्रका जङ्गलमा कन्दमूल खेती गर्ने, काठेसामग्रीको बजारीकरणको व्यवस्था गर्ने, बस्तीलाई ‘टुरिष्ट एरिया’को रुपमा विकास गर्ने, जङ्गल मै भएपनि पैसाको साटो आधारभूत आवश्यकता परिपूर्तिको व्यवस्था गरेर लोपोन्मुख राउटे जातिलाई जोगाउनुपर्ने उनको सुझाव छ । राउटेको स्वास्थ्य उपचार लगायतका आधारभूत समस्या समाधान गर्न प्रदेश वा केन्द्र सरकारले ‘एजुकेशनल मोबाइल टिम’ निर्माण गर्न सक्ने उनी बताउँछन् । रासस

प्रतिक्रिया

धेरै पढिएको