राप्ती नदीमा अवैध दोहन प्रकरण : उत्खनन् गर्ने मतियारविरूद्ध मुद्दा

बाँके । अवैधरुपमा बालुवा उत्खनन् गरेको अभियोगमा नियन्त्रणमा लिएको सुनिता ट्रेडर्स एण्ड सप्लायर्स विरुद्ध डिभिजन वन कार्यालय बाँकेले मुद्दा प्रक्रिया अघि बढाएको छ । उक्त सप्लायर्स नेकपा बाँकेका एक युवा नेताको भएको खुल्न आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अवैध रुपमा बालुवा उत्खनन् गरेको अभियोगमा राप्ती नदी किनारबाट ३९ वटा ट्रेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले राप्ती नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्दै ३२ वटा बालुवा भरिएका, ५ वटा खाली र एउटा ट्राली नभएको ट्रेक्टरलाई आवश्यक कारबाहीका लागि भन्दै वन कार्यालयलाई पत्राचार गरेको थियो ।
सप्लायर्सले आफ्नै खानीबाट बालुवा निकासी गरेको दाबी गरे पनि प्रहरीले राप्ती नदीबाट अवैध उत्खनन् गरेको पत्राचार गरेपछि मुद्दा प्रक्रियामा गएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निकासीकर्ताको दाबी र प्रहरीले दिएको जानकारी मिलेन । त्यसैले मुद्दा प्रक्रियामा गएका हौं ।’ चालकहरुलाई जमानतमा रिहा गरिए पनि ट्रेक्टर भने वन कार्यालयमै राखिएको छ ।
वन कार्यालयले वन ऐन २०४९ अनुसार बिगो बराबरको जरिवाना गर्ने व्यवस्था छ । कारबाही नै गरिए पनि प्रति ट्रेक्टर ६० रुपैयाँ जरिवाना गर्ने प्रावधान छ । केही दिनअघि अख्तियार दुरूपयोग अनुसनधान आयोगले राप्ती नदीबाट वालुवा ढुवानी गरिरहेका ट्याक्टर र त्यसका चालकलाई मात्रै नियन्त्रणमा लिई जिल्ला प्रहरीमा बुझाएको थियो । तर, अख्तियार भने मतियार खोजी र मतियारलाई कानूनी दायरामा ल्याउने बिषयमा मौन रहदै आएको थियो ।

प्रतिक्रिया

लोकप्रिय