राप्ती नदीमा बालुवा भरिरहेका ३९ वटा ट्रयाक्टर अख्तियारको नियन्त्रणमा

फाइल तस्वीर

बाँके । राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवा उत्खनन् भइरहेको उजुरीमा परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजिकैबाट ३९ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौंरले जानकारी दिए ।
अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिल्ला समन्वय समितिको संलग्नता पाइएमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउने बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्रयाक्टर नियन्त्रणमा लिइएको जानकारी दिए । नियन्त्रण गरिएका ट्रयाक्टर जीर्ण सडकका कारण ट्रयाक्टर बीचबाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनाई भएको उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको