समाजका डरले असुरक्षित गर्भपतन

बाँके । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको संख्या अत्याधिक छ । गर्भपतन गराउनेहरुमा अविवाहित महिलाको संख्या बढि देखिएको छ । जाजरकोट छेडागाड नगरपालिकाकी एक युवती आफ्नो तीन महिनाको गर्भपतन गराउन भारतको बहराइच पुगिन् ।
उनी नेपालमा गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले आफन्तका साथमा भारत पुगेकी हुन् । भारतको एक निजी क्लिनिकमा गर्भपतन गराएर फर्किएपछि मानकलीको स्वास्थ्यमा गम्भीर समस्या देखापर्यो । अधिक रक्तश्राव भएपछि उनी फेरि भारत गइन् । बारम्बार उपचारका लागि भारत जाने आउने गर्दा समय र आर्थिक क्षति बेहोर्नुपर्यो ।
भारतमा स्वास्थ्य परीक्षणपछि कात्तिक २७ गते नेपालगन्ज फर्किएकी मानकलीले भनिन्, ‘यहाँ गर्भपतन ग¥यो भने समाजले थाहा पाउला भन्ने डरले भारत गएकी हुँ ।’ उहाँको गर्भपतन गराउँदा भारतीय चिकित्सकले अत्याधिक महंगो शुल्क लिए । उहाँले गर्भपतनका लागि मात्र १५ हजार रुपैंया खर्च गरेको बताइन् ।
मानकलीजस्ता थुप्रै गाउँका महिला कानुनी अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन् । सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा १ हजारदेखि १५ सयसम्म मात्र खर्च लाग्छ भन्ने मानकलीलाई जानकारीसम्म भएन । जसका आर्थिकरुपमा त क्षति बेहोरिन् नै अब उहाँको स्वास्थ्यसमेत कमजोर बन्न पुग्यो ।
उनले भनिन्, ‘हाम्रै देशमा गर्भपतन हुन्छ भन्ने मलाई थाहा छैन । गाउँमा घाँस दाउरा गर्छु, पढेलेखेको छैन । हामीजस्ता महिलालाई के थाहा ?’ उनका श्रीमान् नरबहादुर भारतमा मजदुरी गर्छन् । उनलाई पनि नेपालमै गर्भपतन गराउने व्यवस्था छ भन्ने जानकारी नहुँदा र छिमेकीले थाहा पाउलान् भन्ने डरले भारतीय बजारमा पुगेको नरबहादुर बताउँछन् ।
कानुनी अज्ञानता र चेतनाको अभावका कारण गर्भपतन गराउन भारतका शहर पुग्ने महिलाले त्यहाँ अमानवीय ब्यवहारसमेत सहनुपर्छ । गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दाे गर्भपतनको सुविधा हँुदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिलाहरु खर्चिलो र जोखिमपूर्ण गर्भपतन गराउन बाध्य भएका हुन् ।

‘हाम्रै देशमा गर्भपतन हुन्छ भन्ने मलाई थाहा छैन । गाउँमा घाँस दाउरा गर्छु, पढेलेखेको छैन । हामीजस्ता महिलालाई के थाहा ?’

सरकारले सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० लागु गरेपछि देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइरहेको छ । गर्भपतन सेवा प्रक्रिया, २०६० दफा ५ को उपदफा ३ वमोजिम १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । यद्यपि असक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धीत निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि छ ।
नेपालको प्रचलित कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु भनेको कानुन विपरित भनेको छ । पछिल्लो समयमा खुला सीमानाका कारण गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको छ । खुला सीमानाका कारण असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आसमा लिङ्ग पहिचान गरी भारतीय बजार रुपैडिहा, बहराइच हुँदै लखनउसम्म पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
भारतीय बजारमा पुगेर गर्भपतन गराउने महिलाहरुको सङ्ख्या एकीन नभए पनि वर्र्षैपिच्छे बढ्दो क्रममा रहेको जनाइएको छ । नेपालभित्र गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरुले थाहा पाउने भन्दै नेपाली महिलाहरु भारतीय बजारमा पुगेर असुरक्षित गर्न पतन गराउने गरेका छन् । बाँकेबाट मात्र नभई साविक मध्यपश्चिमका जिल्लाहरुबाट समेत गर्भपतनका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । ती मध्ये खासगरी ग्रामीण क्षेत्रका महिलाहरु बढी जाने गरेका छन् ।
लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाए पनि अधिकांश विवाहित महिलाहरुले समेत छोराको आसामा गर्भपतन गराउँदै आएको भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले बताइन् । डा.थापाका अनुसार धेरै पटक गर्भपतन गराउँदा महिलाको पाठेघर गुम्ने खतरा पनि उत्तिकै हुने गरेको छ । उनले भनिन्, ‘छोटो अवधिमा धेरैपटक गर्भपतन गराउ“दा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ ।’
डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालिम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ । कानुनतः तालिमप्राप्त जोकोहीबाट आठ सातासम्मको र विशेष परिस्थितिमा १८ सातासम्मको गर्भपतन गराउन पाइन्छ । यसका साथै १८ साताको गर्भपतन सेवा विशेष स्त्रीरोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ । कतिपयले असुरक्षित गर्भपतन गराउदा ज्यानसमेत गुमाउनुपरेको छ । असुरक्षित गर्भपतनलाई रोक्न सुरक्षित गर्भपतनका बारेमा गाउँगाउँमा चेतना फैलाउन आवश्यक देखिन्छ ।
जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बार्षिक करिब ५ हजारको हाराहारीमा सुरक्षित गर्भपतन गरे पनि असुरक्षित गर्भपतन गर्नेको तथ्यांक भने भेटिँदैन । कार्यालयका सामाजिक स्वास्थ्य प्रमुख सरिता चन्दले भनिन्, ‘असुरक्षित गर्भपतन गर्नेहरुको एकीन तथ्यांक हामीसँग हुँदैन । सीमापरि गएर लुकिछिपी औषधि सेवन गर्ने र निजी स्वास्थ्य संस्थामा असुरक्षित गर्भपतन गराउनेहरु पनि छन् । यसको तथ्यांक हामीसँग हुँदैन ।’
स्वास्थ्यकर्मीहरुका अनुसार यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराहरुको सङ्ख्या बढ्ने र छारीहरुको सङ्ख्या घटेर बैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ । बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चाहनालगायत कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उनले बताइन् । सामाजिक संस्कार, सेवा दिने संस्थाहरु महिला मैत्री नहुनु तथा निःशुल्क सेवा नपाएका कारणले यस क्षेत्रका अधिकांश महिला र युवतीले अझै पनि सीमापारी गएर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
सुरक्षित गर्भपतन सेवा प्रभावकारी कार्यक्रमका रुपमा देखिए पनि यसका कारण परिवार नियोजन गर्ने दर यथावत रहकोले दिर्घकालिन रुपमा असर पर्नसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालमा प्रतिबन्धित गर्भपतन गराउने औषधिहरु नेपालगन्जमा भित्रिरहेकोले समस्या भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा प्रतिबन्धित यस्ता औषधिका कारण महिलाहरुको ज्यान उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको