सौर्य एयरलाइन्सको उडान बन्द गरिँदै

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले विमानस्थल सेवाशुल्क वापतको बक्यौता रकम तिर्न आलटाल गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बारम्बार ताकेता गर्दा पनि एयरलाइन्स कम्पनीले पुरानो बक्यौता चुक्ता गरेको छैन ।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयरलाइन्सले अझै २ करोड रुपैयाँ तिर्न बाँकी छ । रकम भुक्तानीमा ढिला गरेपछि एयरलाइन्सको अब उडान नै बन्द गराउने तयारी भएको उनको भनाइ छ । एयरलाइन्सको उडान बन्द गराउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको विमनस्थल कार्यालयले जनाएको छ ।
‘एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ । अब तिर्न बाँकी दुई करोड छ । रकम तिर्दा पनि एयरलाइन्स अति नै न्यून रकमका दरले चुक्ता गर्दा समस्या आएको छ,’ उनले भने । विमानस्थल कार्यालयले एयरलाइन्स अब केही समय दिने तयारी गरेको छ ।
अन्तिम पटकसम्म दिँदा पनि रकम नतिरेको अवस्थामा भने उडान नै बन्द गराइदिने विमानस्थल कार्यालयको भनाइ छ । दीपक पोखरलेको स्वामित्वमा रहँदा नै सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने अवस्था थियो । तर, एयरलाइन्समाथि आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोडमा बिक्री गरेका थिए ।
साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो । खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिने सहमति भएको थियो । तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको दुई महिनाा हुँदा पनि बक्यौता चुक्ता गरेको छैन ।
अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ । तर सञ्चालक टिममा भने अरु पनि सदस्य छन् । सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा जहाज छन् । एउटा जहाजले नियमित उडान भरिरहेको छ । अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन । त्यो जहाजको मर्मतपछि उडान सुरु हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको