ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी


बाँके । ‘गर्भवती जाँच गर्ने बेलामै बर्थिङ्ग सेन्टरमै सुत्केरी हुन आउनु भनेर लेख्छौं,’ नेपालगन्ज उपमहानगरपालिका–२० स्थित मनिकापुर स्वाथ्य चौकीमा कार्यरत सिनियर अनमी निरिक्षक शितला खड्का भन्छिन्, ‘गर्भवती जाँच गराउँ, घरमा सुत्केरी नहोउँ भन्ने सन्देश निकै फलदायी भएको छ ।’
मनिकापुरमा रहेको बर्थिङ्ग सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगन्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ्ग सेन्टरमा गर्भवती महिलाहरु पुग्ने गरेको बताउँछिन्, सिनियर अनमी निरिक्षक खड्का ।
जयसपुरबाट मनिकापुर पुग्दा बीच बाटोमा ठूला र सुविधा सम्पन्न अस्पताल छन् । तर सुत्केरीहरु किन मनिकापुर नै पुग्छन् भन्ने प्रश्नमा उनी भन्छिन्, ‘बर्थिङ्ग सेन्टरप्रति गर्भवती महिलाको बढी विश्वास छ । हुन त हामीले पनि जोखिममा रहेका गर्भवती महिलालाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौं ।’
बर्थिङ्ग सेन्टरमा गत आर्थिक वर्ष २०७४/०७५ मा १२६ जना सुत्केरी भएका छन् । यस आर्थिक वर्षको दुई महिनामै ३६ जना सुत्केरी भइसकेका छन् । यो तथ्यांकले यस आ.व.मा सुत्केरीको संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ । ‘बर्थिङ सेन्टरले २४ सैं घण्टा सेवा दिँदै आइरहेको छ,’ सिनियर अनमी निरिक्षक खड्काले भनिन्, ‘गाउँमा सुत्केरी हुने दर करिब शुन्य जस्तै भएको छ ।
पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास रहेको मनिकापुरमा नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्छ भन्ने चेतना बढेको स्वास्थ्य संस्थाकी अनमी निरीक्षक खड्काले बताइन् । ‘पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ,’ खड्काले भनिन्, ‘भदौ २७ गते तीन जना आए । एकजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्जमा रिफर गर्यौ ।’ दुई जनाले यही बच्चा जन्माए ।’
त्यो दिन रेखा खटिक र जानकी खटिकले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पुर्याएको छ । ‘अब त चेतनास्तर पनि बढेको छ । घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्,’ महिला स्वयंसेविका मिना बोहरा सिद्दिकीले भनिन्, ‘मेरो टोल (राँझा बजार)मा त कोहीले पनि घरमा बच्चा जन्माएका छैनन् ।’
सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको संख्या बढाएको बताइन् । ‘चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकोले पनि सुत्केरी हुन आउनेको संख्या बढेको छ,’ उनले भनिन् । मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन् । नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् । स्वास्थ्य चौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत चेकजाँच गरिरहेका छन् । सो चौकी अन्तरगत १५ जना स्वास्थ्य स्वयंसेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमहरुसमेत सञ्चालन हुँदा गर्भवती महिलाहरु नियमित चेकजाँचका लागि आउने गरेको स्वास्थय चौकी इन्चार्ज सरोजकुमार मिश्र बताउँछन् ।
उनी भन्छन्, ‘बर्थिङ सेन्टरमा स्थानीयहरुले अपनत्व महसुस गरेकै कारण प्रसुति सेवा प्रभावकारी देखिएको छ ।’ यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तिमा पनि तीन जना महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इन्चार्ज मिश्रले बताए । ‘सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढंगबाट सञ्चालन गरी अझै सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने ।
गर्भवती उत्प्रेरणापावत चार पटक गर्भवती जाँच गराए रु.८०० र बर्थिङ्ग सेन्टरमै सुत्केरी हुनेलाई रु.१ हजार पोषणभत्ता दिँदै आएको छ । सरकारले उक्त भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ्ग सेन्टरमै पुग्ने गरेको अनमी आशा सार्कीले बताइन् । ‘नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा लोनियाले भनेजस्तो स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनु पर्छ भन्ने ‘चेतना’ बढेको छ, सार्कीले भनिन् ।
१५ हजार बढी जनसंख्या रहेको मनिकापुरमा १५ जना महिला स्वयंसेविका रहेका छन् । टोलमा को गर्भवती छ र कसले जाँच गराएको गएको छैन भन्ने महिला स्वयंसेविकाले निगरानी गरिरहेका हुन्छन् । ‘त्यति हुँदाहुँदै पनि भदौमा ५ जनाले घरमै सुत्केरी गराए,’ अनमी सार्कीले भनिन्, ‘उनीहरुले बच्चा जन्माइसकेपछि हामीले थाहा पायौं ।’
नियमति चेकजाँचका लागि स्वास्थ्य चौकीमा नेपालगन्ज–२०, मनिकापुरकी शान्ति लोनियाले भनिन्, ‘पहिलो बच्चा पनि स्वास्थ्य संस्थामै जन्माए, अब पनि स्वास्थ्य संस्थामै आएर जन्माउने हो । म स्वास्थ्य संस्थाको नियमित सम्पर्कमा छु । ब्यथा लाग्ने बित्तिकै आइहाल्छु ।’ दोस्रो सन्तानकी आमा हुन थालेकी लोनिया तल्लो पेट दुखेपछि उनी जचाउन स्वास्थ्य चौकीमा आएकी थिइन् । लोनिया नौ महिनाकी गर्भवती हुन् ।

जेनेरेटर नहुँदा समस्या
मनिकापुर स्वास्थ्य चौकीमा जेनेरेटरको व्यवस्था नहुँदा रातीको समयमा सुत्केरी गराउँदा समस्या पर्ने गरेको छ । ‘गर्भवतीले बच्चा पनि पाउनु, बत्ती पनि जानु भयो । टर्चलाइट बालेर मुखमा च्यापरे काम चलायौं,’ अनमी सार्कीले भनिन्, ‘संस्थामा जेनेरेटर वा इन्भर्टर जडान भए रातीको समयमा काम गर्न सहज हुने थियो ।’
२० नं. का वडाध्यक्ष कृष्ण कार्कीले इन्भर्टर या सोलार राख्ने भन्नेमा जिआइजेडसँग छलफल भइरहेको र छिट्टै त्यसको व्यवस्थापन हुने बताए । ‘हामीले सोलार जडान गर्ने सोंच बनाएका छौं । जिआइजेडले इन्भर्टर राख्नका लागि भनेको छ, हामी छलफल गरेर त्यसलाई केहीदिनमै टुङ्गोमा पुर्याएर काम सम्पन्न गर्छौ,’ वडाध्यक्ष कार्कीले भने ।

एम्बुलेन्स नहुँदा लडिया र बुकीको भर
मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगन्जभन्दा केही टाढा रहेकाले सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा), बुकी (टाँगाजस्तै)को भर पर्नुपर्ने बाध्यता छ । त्यसो त उनीहरुलाई एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले लडिया र बुकी नै प्राथमिकतामा पर्दछन् । अनमी सार्कीले भनिन्, ‘एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्यो भन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।’
सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताइन् । ‘कुनै दिन त बुकी र लडियाको लाइन लाग्छ,’ अनमी सार्कीले भनिन् । स्वास्थ्य चौकीका इन्चार्ज सरोजकुमार मिश्रले आफूकहाँ सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताइन् । ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ,’ इन्चार्ज मिश्रले भने, ‘सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।’

प्रतिक्रिया

लोकप्रिय