बिष्ट रिहाइपछि प्रहरी अनुसन्धान नै शंकाको घेरामा


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान नयाँ मोडमा आइपुगेको छ । घटनाको २४ दिनपछि मुख्यअभियुक्त भन्दै प्रहरीले दीलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गर्यो । प्रहरीको कथन थियो, बिष्टले अपराध स्वीकार गरेका छन् । उनी नै मुख्यअभियुक्त हुन् ।
तीन हप्तापछि प्रहरीको त्यो कथन गलत सावित भएको छ । सरकारीको वकिलको कार्यालयको आदेशपछि मंगलबार बिष्ट रिहा भएका छन् । निर्मलाको शरिरमा फेला परेको डिएनए बिष्टको डिएनएसँग नमिलेपछि उनी रिहा भएका हुन् । सोही घटनामा पक्राउ परेकी निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबार नै रिहा भएका छन् ।
छोरी मारिएको दुई महिना हुन लाग्दा पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका बुवाआमा न्याय खोज्दै मंगलबार काठमाडौं आइपुगेका छन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई भेटेर छोरीका हत्यारा खोजिदिन आग्रह गर्ने उनीहरूको योजना छ । प्रहरीलेनै अभियुक्त भनेका बिष्ट रिहा भएपछि अब अनुसन्धान कहाँ केन्द्रित हुन्छ ? स्वभाविक रूपले अगाडि दुइटा बाटा छन् ।
पहिलो, बिष्टले प्रहरीलाई सुरूमा दिएको बयान आफैं भनेका थिए वा कसैले सिकाएको थियो ? त्यो अनुसन्धान गर्नुपर्छ । बिष्टले निर्मलाको बलात्कार र हत्याबारे वर्णन गरेका कुरा पोष्टमर्टम रिपोर्टसँग मिलेको बताइएको थियो । यहाँसम्मकी, उनले लगाएका भित्री कपडाको बयान पनि बिष्टले मिलाएकोले उनै अभियुक्त भएको निष्कर्षमा आफू पुगेको प्रहरीले बताएको थियो ।
डिएनए परीक्षणबाट उनी निर्दोष देखिएपछि यसले दुइटा सम्भावनातर्फ संकेत गर्छ । पहिलो, बिष्टलाई कसैले प्रलोभनमा पारी घटनाको सबै विवरण सिकाएर अपराध स्वीकार्न लगाएको । यदि त्यस्तो हो भने, प्रहरीले बिष्टलाई कसले प्रलोभनमा पारेको थियो ? अनुसन्धान गर्नुपर्यो । त्यो अनुसन्धानको सुरूआत बिष्टबाटै गर्नुपर्यो ।
यदि बिष्टले अपराध स्वीकारेका थिएनन् र प्रहरीले बाहिर झुठो विवरण भनेको थियो भने त्यो खास अपराधी बचाउनका लागि प्रहरीले अपनाएको हतकण्डा हो भन्ने प्रमाणित हुन्छ । त्यसो हो भने सुरूमा अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि अब अनुसन्धान केन्द्रीत गर्नुपर्यो । नेपाल प्रहरीका एक अधिकृतले भने अहिले पनि प्रहरीले अपराधी बचाउन झुठ बोलेको भन्ने स्वीकार्ने अवस्था नरहेको जिकिर गरे ।
त्यसो भए अनुसन्धान बिष्टलाई कसले उपयोग गर्यो भन्नेमा किन केन्द्रीत नगर्ने भन्ने प्रश्नमा ती अधिकृतले उनको मानसिक अवस्था स्थिर नभएकाले उनीमाथिको थप केरकार र अनुसन्धानमा भर पर्न नसकिने बताए । ‘तर पनि हामीले उनलाई अनुसन्धानकै घेरामा राखेका छौं, उनी निगरानीमै हुनेछन्,’ उनले भने । २० दिनअघि अनुसन्धानपश्चात बिष्टलाई मुख्य अभियुक्त भन्ने प्रहरीले अहिले उनीमाथि थप अनुसन्धान गर्ने अवस्था छैनभन्दा त्यसले थप शंका जन्माउँछ ।
ती अधिकृतका अनुसार अब निर्मलाको बलात्कार र हत्या उखुबारीमा नै भएको हो कि होइन भन्नेबारे पनि अनुसन्धान थालिएको छ । ‘उनको शव उखुबारीमा भेटिएको थियो । तर बलात्कार र हत्या त्यहीँ भएको हो वा शवमात्र त्यहाँ ल्याएर फालिएको हो भन्नेबारे पुनःआँकलन गर्दैछौं,’ उनले भने । उनले बिष्ट दोषी नभएपछि शंकास्पद सबैलाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए । हिरासतमुक्त भए पनि बम दिदीबहिनी पनि प्रहरीको निगरानीमै छन् ।
‘तर यो नै हो भनेर खुट्याउन अझै सकेका छैनौं,’ उनले भने । प्रहरीले अनुसन्धान केन्द्रीत गर्नुपर्ने अर्को पनि ठाउँ छ । अहिले निर्मलाको शरीरमा भेटिएको डिएनएको प्रोफाइल तयार भइसकेको छ । स्थानीयवासीले केही मानिसको नामै किटेर उनीहरू घटनामा संलग्न भएको बताउँदै आएका छन् । यस्तोमा प्रहरीले ती संदिग्धलाई पक्रेर डिएनए परीक्षण गराएर अनुसन्धानलाई टुंग्याउन सक्छ । तर प्रहरीले त्यसो गरेको छैन ।
‘हामीले शंकास्पद ठानेका अरू ब्यक्तिबारे न्युनतम प्रमाण जुटाएपछि मात्र डिएनए परीक्षणमा लैजानु उपयुक्त हुन्छ,’ ती अधिकृतले भने, ‘केही प्रमाण नजुटाई डिएनए परीक्षणमा लगिहाल्न हतार नगरौं भन्ने हाम्रो धारणा छ ।’ यसअघि पनि बिष्टलाई सार्वजनिक गर्नुअघि उनको र निर्मलाको शरीरमा भेटिएको डिएनए परीक्षण गरेको भए उनी दोषी हुन् कि होइनन् पत्ता लागिहाल्थ्यो । त्यतातिर नलागी प्रहरीले उनलाई सार्वजनिक गर्न हतार गर्यो । बिष्ट नै अपराधी हुन् भनेर उनीविरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवाआमालाई दबाब दिएपछि प्रहरीको अनुसन्धान नै शंकाको घेरामा परेको पर्यो ।

प्रतिक्रिया

धेरै पढिएको