पम्फादेवीको वर पिपल मोह

धौलागिरी अञ्चलमा जन्मिएकी पम्फादेवी थापा, उनी सानैदेखि लगनशील र मेहेनती । १९९० सालमा नेपालमा ठूलो भूकम्प गयो । भूकम्प जाँदा उनी २२ दिनकी थिइन् । संघर्षशील पम्फादेवी अहिले ८६ बर्षकी भइसकेकी छन् । यो उमेरमा पनि उनी कुनै जवानभन्दा कम छैनन् । उनी घरका अन्य सदस्यलाई श्रमका लागि प्रेरित गर्छिन् ।
–––
श्याम गिरी अर्थात् रेडियोप्रेमी वान । उनलाई आमा भन्छन् । थापा र गिरीको नाता बर र पिपलले जोडेको हो । पम्फादेवीले २०५६ सालमा नेपालगन्ज विमानस्थलको प्रवेशद्वारसँगै रहेको नेपाल आयल निगमको गेटमै वर र पिल रोपेकी थिइन् । पम्फादेवीको उमेरले नेटो काटिसकेको छ । वर र पिपल भने भर्खर जवान बन्दैछन् ।
–––
धौलागिरी अञ्चलबाट २०१९ सालमा पम्फादेवीको परिवार बर्दियामा बसाईसराई गरेर आयो । बर्दियामा पनि पम्फादेवीको उस्तै लगनशीलता थियो । व्यवसायको शिलशिलामा उनको परिवार २०४३ सालमा बाँकेको राँझामा बसाई सरेर आयो । होटल व्यवसाय गर्दै आएको पम्फादेवीका श्रीमान भने स्वर्गीय भइसकेका छन् ।
–––
श्रीमानले छाडेपछि चार वटा छोरीहरुको पालनपोषणको जिम्मेवारी पम्फादेवीकै काँधमा आइलाग्यो । छोरीहरु हुर्किए, घरबार गरे । छोरीहरु इष्टमित्रका घरमा गएपछि उनी अहिले पनि आफैले आफ्नो व्यवहार धानिरहेकी छन् पम्फादेवी ।
–––
त्यसो त छोरीहरुले उनलाई आफ्नो घरमा बोलाइरहन्छन् । पम्फादेवी भने सकेसम्म आफ्नै घरमा बसेर जीवन चलाइरहकै छन् । पम्फादेवी भन्छिन्, ‘सबै छोरीहरुको बराबर माया लाग्छ, तर आफुले जीवन सकुन्जेल छोरीहरुलाई दुख दिन सक्छिन ।’
–––
पम्फादेवीको दैनिकी स्वीटर बुनेर बित्ने गर्छ । उनी सानैदेखि उनको धागो लिएर स्वीटर बुन्दै आएको सम्झिँदै भन्छिन्, ‘फुर्सदमा मैले सँधै स्वीटर बुन्दै आएकी छु । कामै नभएको बेला पनि स्वीटर बुनेर व्यस्त हुने गरेकी छु ।’
–––
‘मेरो उमेर त डाँडापारिको जुनजस्तो भयसक्यो, कुन दिन के हुन्छ थाहा छैन । मैले रोपेका वर र पिपल भने भर्खरै जवान बन्दैछन् । यिनै वर र पिपलले म मरेर गए पनि यहाँ मेरो प्रतिनिधित्व गरेर बस्नेछन् ।’ धर्मकर्ममा मायादेवीको खुबै विश्वास छ । त्यसैले पनि उनले वर र पिपल रोपेकी हुन् ।
–––
वर र पिपल हिन्दुहरुले पूजा गर्ने पवित्र रुखको जोडी हो । धार्मिक र वैज्ञानिक महत्व बोकेको वर र पिपलको रुखलाई रोपेर ठूलो भएपछि विवाह गरिदिनाले धर्म हुने हिन्दूहरुमा धार्मिक विश्वास समेत रहेको छ । उनले रोपेका वर र पिपलले सयौं वर्षसम्म बाटोमा हिड्ने यात्रुलाई सितलता दिनेछ ।

प्रतिक्रिया

लोकप्रिय