‘भिआइपी र पर्यटकलाई गिज्याउँदै फोहोर’


बाँके । नेपालगन्जको राँझा विमानस्थल, पश्चिम नेपालको एकमात्र भरपर्दो विमानस्थलका रुपमा लिइन्छ । यही विमानस्थल भएर दैनिकजसो विशिष्ठ व्यक्ति (भिआइपी)हरुको ओहोरदोहोर भइरहन्छ । विमानस्थल भएर निस्किँदै भिआइपीहरु राँझाचोक हुँदै नेपालगन्ज र कोहलपुरतर्फ जाने गर्छन् ।
त्यसो त मानसरोवरको मुख्यद्वार पनि यही हो । यतिबेला नेपालगन्ज विमानस्थल भएर मानसरोवर तीर्थयात्रामा जाने पर्यटकहरुको ओहोरदोहोर निकै चलिरहेको छ । अझ राँझाचोकलाई ‘मानसरोवर गेट–वे’का रुपमा विकसित गरी पर्यटन विकासका लागि गुरुयोजना निर्माण गर्ने नेपालगन्ज उपमहानगरपालिकाले परिकल्पना पनि गरेको छ ।
नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तरगत पर्ने नेपालगन्ज विमानस्थलको प्रवेशद्वार राँझाचोक कै पश्चिमपट्टीको छेउमा नेपालगन्ज उपमहानगरपालिकाले फोहोरको थुप्रो लगाएर दुर्गन्धित बनाएको छ । लाग्छ, विशिष्ठ व्यक्ति तथा पर्यटकहरुको स्वागतका लागि फोहोरको डंगुर नेपालगन्ज विमानस्थलको प्रवेशद्वारमै राखिएको छ । फोहोरले राँझाचोक आसपासमा दुर्गन्ध फैलिएको छ । राँझाचोक ओहोरदोहोर गर्ने सर्वसाधारण मात्र होइन, नेपालगन्ज विमानस्थलमा भित्रिने र बाहिरिने विशिष्ठ व्यक्ति तथा पर्यटकहरुलाई पनि दुर्गन्धका कारण नाक छोपेर हिड्नुपर्ने बाध्यता छ । फोहोरले विशिष्ट व्यक्तिहरु र पर्यटकलाई गिज्याइरहेको हुन्छ । राँझा चोकका स्थानीय व्यवसायी रामदिन यादव भन्छन्, ‘उपमहानगरले सडक किनारमा फोहोर फाल्दा निकै दुर्गन्ध फैलिएको छ । दुर्गन्धले सरुवा रोगको जोखिम बढाएको छ ।’
नेपालगन्ज उपमहानरपालिका वडा नं.२० का अध्यक्ष कृष्ण कार्कीले उक्त सडक किनारमा माटो पटान गर्न रु.५२ लाखभन्दा धेरै पैसा आवश्यक देखिएपछि फोहोरबाटै खाल्डो पटान गर्ने योजना अनुसार फोहोर फालिएको दावी गरे । उनले भने, ‘एकातिर पैसा अभाव टर्ने र अर्कोतर्फ फोहोर व्यवस्थापन पनि हुने भएकाले त्यसो गरिएको हो ।’
फोहोर फालेपछि सँगसँगै माटो पटान गर्ने भन्ने योजना रहे पनि बर्षात्का कारण ढिलाई भएको वडाध्यक्ष कार्कीले बताए । उनले भने, ‘खाल्डोलाई छिट्टै पुर्ने योजना रहेकोले दुर्गन्ध पनि चाँडै हट्छ ।’ माटो पटान गरी सोही स्थानबाट केही समयअघि हटाइएका घुम्ती र टहराहरुलाई व्यवस्थापन गरिने कार्कीको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले घुम्ती र टहराहरुलाई व्यवस्थापन नभई सो स्थानमा वृक्षारोपण गरिने बताए । ‘के गर्ने भन्ने निर्णय भइसकेको छैन । विमानस्थलको प्रवेशद्वार भएकाले वृक्षारोपण गरी हरियाली बनाउँदा उपयुक्त हुन्छ,’ प्रवक्ता रिजालले भने, ‘घुम्ती र टहराहरु राख्ने विषयमा मलाई जानकारी छैन ।’
माटो पटानको कार्य बर्षात्का कारण ढिला भएकाले बर्षा रोकिएलगत्तै काम अघि बढ्ने उनको भनाई थियो । तर प्राविधिकहरुले प्लाष्टिक थुपारेर त्यसको माथि माटो पटान गरी गरिने कुनै पनि काम दिर्घकालिनरुपमा फाइदाजनक नहुने तर्क गर्दै आएका छन् । केही समयका लागि उपयोग हुने भए पनि पछि कुनै काम नलाग्ने प्राविधिकहरुको प्रतिक्रिया छ ।

प्रतिक्रिया

धेरै पढिएको