Loading... आजः ७ कार्तिक २०७७, शुक्रबार

झोलुंगे पुल नहुँदा नाम्राबासीलाई सास्ती, चिण्डा र डुंगामा भेरी नदी पार गर्नुपर्ने बाध्यता

झोलुंगे पुल नहुँदा नाम्राबासीलाई सास्ती, चिण्डा र डुंगामा भेरी नदी पार गर्नुपर्ने बाध्यता
पश्चिम सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१, मा पर्ने नाम्रा गाउँ । उक्त गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् । यो गाउँ भने बर्षौदेखि झोलुङ्गे पुल नहुँदा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट करिब ५ महिना बञ्चित नै हुने गर्दछ । पुल नहुँदा बर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् नाम्राबासीहरु । तस्वीर : सत्यपाटी
पश्चिम सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१, मा पर्ने नाम्रा गाउँ । उक्त गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् । यो गाउँ भने बर्षौदेखि झोलुङ्गे पुल नहुँदा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट करिब ५ महिना बञ्चित नै हुने गर्दछ । पुल नहुँदा बर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् नाम्राबासीहरु । तस्वीर : सत्यपाटी

काशीराम शर्मा । बालीखोला (सुर्खेत) । एउटा झोलुंगे पुलसमेत नभएर पश्चिम सल्यानको बनगा कुपिन्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ । हिँउदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्राबासी आउँछन् । नाम्रा गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् ।
तर नाम्राबासीका लागि बर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ । भेरी नदीमा वर्षाले बढाएको पानी सतह नघटेसम्म अर्थात् करिब ६ महिनासम्म नाम्राका स्थानीयबासी नाकाबन्दीसरहको जीवन गुजार्नुपर्ने हुन्छ । उनीहरु राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाटै बर्षमा करिब ५ महिना वञ्चित हुनैपर्ने अवस्था आउँछ ।

‘एउटा सिंगो गाउँ राज्यको उपस्थितिविहीनताको अवस्थामा बर्षौदेखि गुज्रनु लज्जाजनक पनि छ ।’

त्यो आफूहरुका लागि अन्याय भएको स्थानीयहरुको गुनासो छ । वर्षायाम सुरु भएर पानीको सतह बढ्नासाथ नदीमा डुंगासमेत चल्दैन । डुंगासमेत चल्न छाडेपछि उनीहरु घुमाउरो बाटो प्रयोग गरी करिब ४ घण्टाको पैदल यात्रा गर्दै सल्लीबजार पुग्नुपर्ने बाध्यता छ । असारपछिको ५ महिनासम्म कोही सिकिस्त बिरामी भइहाले ‘भाग्यभरोसा’ भन्दै बस्नुपर्ने नाम्राबासीको अवस्था छ ।
आवागमन समस्याकै कारण त्यहाँका बालबालिकाको पढाइ पनि बिथोलिने गरेको छ । गाउँमा प्राविमात्रै भएका कारण निमावि तहदेखि माथिल्लो कक्षा अध्ययनका लागि भेरी नदी नै तरेर विद्यालय जानुपर्ने अवस्था छ । तर बर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिममा राखेर पढ्न चाहँदैनन् नाम्राका विद्यार्थीहरु । सुर्खेतको बालीखोला र नाम्रा गाउँलाई जोड्नका लागि झोलुङ्गे पुल निर्माण अनिवार्य छ ।
नाम्रामा यो समस्या पुस्तौदेखिको हो । एउटा सिंगो गाउँ वर्षको आधा समय सम्पर्कविहीन बन्ने अवस्थामा पुग्दासमेत पुल निर्माणका लागि तदारुकता देखाउन नसक्नु राज्यको कमजोरी भएको स्थानीयको गुनासो छ । स्थानीय गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्मा भन्छन्, ‘एउटा सिंगो गाउँ राज्यको उपस्थितिविहीनताको अवस्थामा बर्षौदेखि गुज्रनु लज्जाजनक पनि छ ।’

‘चिण्डा र डुंगामार्फत भेरी नदी पार गर्नुपर्ने बाध्यता छ । तर पनि अहिलेसम्म पुल निर्माणको विषयले प्राथमिकता पाएन ।’

प्रधानाध्यापक शर्माका अनुसार साउन भदौको उच्च बहावका बेला पनि भेरी नदीको तटिय क्षेत्रका नागरिक ज्यानको जोखिम मोल्न बाध्य छन् । नदीमा पुल नहुँदा नाम्रा बासिन्दा जोखिम मोलेर चिण्डाको भरमा नदी वारपार गर्छन् । नदी वारपार गर्ने क्रममा बर्षेनि नागरिकहरुले ज्यान गुमाउनु परिरहेको बताउँदै उनले भने, ‘चिण्डा र डुंगामार्फत भेरी नदी पार गर्नुपर्ने बाध्यता छ । तर पनि अहिलेसम्म पुल निर्माणको विषयले प्राथमिकता पाएन ।’
पुल निर्माणका लागि स्थानीयले वषौदेखि माग गरिरहेका छन् । पटकपटक सर्वे हुन्छ, तर पुल भने अझै बनेको छैन । ‘सर्वे भए पनि पुल निर्माणको कुराले प्राथामिकता पाउदैन,’ प्रधानाध्यापक शर्माले भने, ‘झोलुङ्गे पुलको टट्कारो आवश्यकता छ ।’ दुई दशकदेखि सर्वे हुन्छ, तर काम कहिल्यै हुँदैन । अहिलेसम्म झोलुङ्गे पुल निर्माणको प्रक्रियाले सार्थकरुप पाउन सकेको छैन ।’ विभिन्न समयमा यहाँ तत्कालिन जिल्ला विकास समितिले पुल बनाउने योजना पारित गरेपनि निर्माणका विषयमा दलहरूबीच कुरा नमिल्दा अझैसम्म पुल निर्माण हुन नसकेको उनको भनाई छ ।

‘वर्षा बढी भएसँगै भेरी नदीमा पानीको बहाव बढ्छ । तर डुंगामा वारपार गर्ने क्रममा रोकिदैँन । गाउँका नागरिकहरु ४/५ महिना त जोखिममै नदी वारपार गर्छन्,’

दुई पटक विस्तृत सर्वे भइसकेको प्रधानाध्यापक शर्माले बताए । उनले भने, ‘जिल्ला प्राविधिक कार्यालय सल्यान र डोलिडारले विस्तृत सर्वे गरिसके । तर हालसम्म कुनै प्रगति भएको छैन ।’ नदीको बहाव बढेका बेला डुंगा चल्ने घाट बन्द हुने गरेको छ । पटक पटक पुल निर्माणका लागि सर्वे भइरहने तर योजना निर्माणले कहिल्यै गति नलिने भएपछि स्थानीयलाई भने झोलुङ्गे पुल निर्माणको योजना पुरा हुन्छ भन्ने विश्वास छैन ।
‘वर्षा बढी भएसँगै भेरी नदीमा पानीको बहाव बढ्छ । तर डुंगामा वारपार गर्ने क्रममा रोकिदैँन । गाउँका नागरिकहरु ४/५ महिना त जोखिममै नदी वारपार गर्छन्,’ स्थानीय युवा कृष्ण शर्मा भन्छन् । जिल्ला प्राविधिक कार्यालयमा यसबारे बुझ्दा कार्यालय रहने या नरहने भन्ने एकीन नभएका कारण काम अघि नबढेको कर्मचारीको जवाफ आउने गरेको छ ।
जिल्ला प्राविधिक कार्यालय सल्यानका प्रमूखको ९८५५०६५७१७ नम्बरको मोवाइलमा यस विषयमा बझ्नका लागि पटकपटक फोन सम्पर्क गर्दासमेत कुराकानी हुन सकेन । स्थानीयबासीका अनुसार सोही नम्बरमा पुल निर्माणका विषयमा सम्पर्क गरेर कुराकानी हुँदा आफूलाई जानकारी नभएको कार्यालय प्रमूखले बताउँदै आएका छन् ।