Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

सय बर्षसम्म अतिक्रमण, डेढ सय वर्षपछि विस्तार

सय बर्षसम्म अतिक्रमण, डेढ सय वर्षपछि विस्तार
नेपालगन्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै ।
नेपालगन्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै ।

कुमार श्रेष्ठ । बाँके । लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगन्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगन्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन,’ उनी भन्ने गर्थे । नेपालगन्जको ‘मुहार फेर्न’ एशियाली विकास वैंक (एडीबी)को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए । यही अभियानमा जोडियो, नेपालगन्जको मुटु सदरलाइन विस्तार । जसलाई व्यवस्थित गर्दा नेपालगन्जीयाको ‘सान’ बढ्छ भन्नेमा नेता, कर्मचारी, स्थानीय अगुवा सबैको मत मिलेको थियो ।
सुनारले स्थानीयसँग पटक–पटक अतिक्रमण हटाउन अनुरोध गरे । नेपालगन्ज उद्योग वाणिज्य संघले पनि साथ दियो । व्यापारीले कहिले बर्खा, कहिले दशैं, तिहार, छठको बाहाना गर्दै हप्ता, महिना र तीन वर्ष गुजारे । सुनारको कार्यकालमा सबैभन्दा जटिल काम सदरलाइन विस्तार भयो । १८ चैत्र २०७१ मा उनी अभियान सफल नहुँदै हार खाएर विदाइ भए ।
सुनारपछिका नगर कार्यकारी अधिकृतहरु विष्णुप्रसाद भुसाल, हेमराज भुसाल, गिरिराज ज्ञवाली, कृष्णप्रसाद चापागाई, भीमबहादुर कुँवर र हरि प्याकुरेलको अधिकांश समय अतिक्रमण हटाउँछु भन्दै बाहना गर्ने व्यापारीलाई फकाउँदैमा बित्यो । नेपालगन्ज–११ का नेपाली कांग्रेसका बुथ सभापति अनिल श्रेष्ठ कार्यकारी अधिकृतले काम गर्न नसकेको आरोप लगाउदै भन्छन्, ‘सदरलाइन विस्तारमा अवरोध पुर्याउने थोरै थिए । कार्यकारीले अतिक्रमण हटाउने आँट नगर्दा समाधानमा ढिलाइ भयो ।’
एडीबी सहमतिमा मात्र काम गर्छ भन्नेबारे स्थानीय जानकार थिए । १४ असार २०७४ मा स्थानीय तह निर्वाचन सम्पन्न हुँदा एडीबीसँग सम्झौताको तीन वर्ष पुग्नै थालेको थियो । निर्वाचित भए लगत्तै नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगन्ज उद्योग व्यापार संघको हलमा आयोजित एक कार्यक्रममा तीन महिनाभित्र अतिक्रमण नहटाए डोजर चलाउने चेतावनी दिए । तत्कालिन भेरी अञ्चल प्रहरीका प्रमुख एसएसपी महेशविक्रम शाहले उनलाई सहयोग गर्ने घोषणा गरे । यो चेतावनीले व्यापारी केही हक्किए ।

एक सयवर्ष अघिदेखि अतिक्रमणको चपेटामा परेर साँघुरिएको नेपालगन्जको सबैभन्दा पूरानो बजार सदरलाइन सडक विस्तारबाट स्वरुप नै फेरिँदैछ ।

सदरलाइनमा रहेका २१९ घरमध्ये १६१ घर भत्काउनुपर्ने थियो । १५३ घरधनी अतिक्रमण हटाउन सहमत थिए । ‘चार÷पाँच जनावाहेक बहुमत व्यापारीले अतिक्रमण हटाउने कागजमा हस्ताक्षर गरेका छन्,’ सहमतिकर्ता प्राध्यापक डा.जनार्दन आचार्यले भने । सहमति भइसक्दा पनि केही व्यापारीले चुनौती दिइरहेका थिए । १४ बैशाखमा पार्वतीदेवी तमोली, जैनेन्द्रकुमार टण्डन लगायत १४ जनाले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा निषेधाज्ञा, प्रतिषेध, परमादेश, उत्प्रेषणसमेतको मुद्दा दायर’ गरे ।
२० बैशाखमा न्यायाधीशद्वय गुणराज ढुंगेल र खुशीप्रसाद थारुको संयुक्त इजलासले उपमहानगरपालिकाको विकास निर्माणमा प्रतिकूल असर पर्नसक्ने भन्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश दियो । त्यसको भोलिपल्टै २१ बैशाखमा मेयर डा. राणा, उपमेयर उमा थापा मगरको नेतृत्वमा उपमहानगरको डोजरले त्रिभुवनचोक दक्षिणतिरका केही पर्खाल भत्कायो । त्यसपछि मात्र विस्तार सुचारु भयो । त्रिवेणीमोडदेखि चारबाहिनीसम्म १४ देखि २१ मिटरसम्म ‘बर्साती’ पछाडिको पिलर नछुने गरी सडक विस्तार भइरहेको छ ।
त्रिभुवन चोक उत्तरमा सडक कालोपत्रे भइसकेको छ । दक्षिण र पूर्वमा निर्माणाधिन छ । उपमहानगरपालिकाको शहरी विकास आयोजनाले एडीबीको सहयोगमा नगरभित्र १ अर्ब ६३ करोड लागतमा काम गरिरहेको इन्जिनियर शैलेन्द्र महर्जन बताउँछन् । उनले भने, ‘यही बजेटमा चारवाहिनीदेखि त्रिवेणी मोडसम्म सदरलाइन विस्तारको काम भइरहेको छ ।’ ‘सदरलाइन व्यवस्थितहुँदा बाह्य पर्यटकले पनि बजारलाई एक चक्कर लगाएर जाने स्थिति बन्छ,’ सदरलाइन विस्तारमा मध्यस्तकर्ताको भूमिका खेलेको नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्यको दाबी छ ।
स्थानीय जयपाली कनोजियाका बुझाइमा सदरलाइन विस्तारले बजारको बेग्लै रौनकता थप्दैछ । डेढ सय वर्षअघि राणा प्रधानमन्त्री जंगबहादुरको निर्देशनमा लखनउको हजरतगन्ज शहरको शैलीमा ऐतिहासिक नेपालगन्ज शहर बसाइएको थियो । ‘सडकपेटी (बर्साती)सहितको बस्ती विकास गरिएको थियो । व्यापारीले पेटी अतिक्रमण गरेका थिए,’ प्राज्ञ सनत रेग्मी भन्छन् । सडक पेटी एकसय वर्षभन्दा बढी समय अतिक्रमणमा पर्यो । सडक साँघुरो हुँदा पैदलयात्री र सवारी साधन आवागमनमा समस्या हुन्थ्यो । सडकपेटीमै व्यापार व्यवसाय गर्न सदरलाइनको सौन्दर्यता हराएको थियो ।
२०४९ नेपालगन्ज नगरपालिकाको मेयर बनेका विजय गुप्ताले रानीतलाउ, न्यूरोड विकासको अवधारणा अघि सारेका थिए । २०५४ मा मेयर भएका धवल शम्शेर राणाले विकासका आयोजना कार्यान्वयनको चरणमा पुर्याएको वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य अनुभव सुनाउँछन् । ‘दुबै मेयरको कार्यकालमा पर्यटकलाई लोभ्याउने योजनाहरु गाँसिएका थिए’, कर्माचार्य भन्छन्, ‘उपमहानगर नेतृत्वमा राणाकै पालामा विस्तारको काम भएकाले सदरलाइनको मुहार फेरिँदैछ ।’ शहर फिचर सेवाबाट