Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

परिवारसँग नबसी अर्कै होटलमा बसेका छन् पूर्व युवराज पारस

परिवारसँग नबसी अर्कै होटलमा बसेका छन् पूर्व युवराज पारस
पूर्वयुवराज पारस शाह बिहीबार नेपालगन्जस्थित सोल्टी होटलमा छोरीहरु पूर्णिका र कृतिकाका साथ ।
पूर्वयुवराज पारस शाह बिहीबार नेपालगन्जस्थित सोल्टी होटलमा छोरीहरु पूर्णिका र कृतिकाका साथ ।

बाँके । पूर्वराजपरिवारका सदस्यहरुसहित नेपालगन्ज पुगेका पूर्व युवराज पारस शाह छुट्टै होटलमा बसेका छन् । पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सबै सदस्य सोल्टी होटलमा बसेका छन् । नेपालगन्जमा आएपछि साँभस्सम्म सोल्टी होटलमा छोराछोरीसँग गफिएका पारस सुत्न भने साथीहरुसँग सिद्धार्थ होटलमा पुगेका हुन् ।
छोराछोरीसँग सोल्टी होटलको परिसरमा निस्केर केहीबेर गफ गरेपछि ‘बाई’ भन्दै उनीहरु सिद्धार्थतिर लागेका थिए । बा १४ च २१३१ नम्बरको गाडीमा पारस सिद्धार्थमा आएर सुतेका हुन् । बिहीबार बिहान साढे दश बजे सोल्टी होटलको गेटमा पुगेका पारस फेरि फर्किएका थिए । होटलमा गेटमा पुगे पनि उनी गाडीबाट उत्रिएनन् ।
पारस शाह नेपालगन्ज आउँदा पनि बाइरोड भएर गाडीमा आएका थिए । गाडीबाट सिधै सोल्टी होटलमा पुगेका उनी साँझ श्री एयरलाइन्सबाट नेपालगन्ज आएका पूर्वराजा, रानी, छोरी, नातिनातिनी केहीबेर समर्थकको ‘स्वागत’ पछि होटलमा पुगेका थिए । हिमानी भने केही घण्टा पहिला नै बुद्ध एयरबाट नेपालगन्ज आएर सोल्टीमा पुगेकी थिइन् ।
काठमाडौंमा घरपरिवारबाट छुट्टै बस्ने गरेका पारस नेपालगन्जमा आएपछि एकै ठाउँम बस्छन् कि बस्दैनन् भन्ने चासोका साथ हेरिएको थियो । स्रोतका अनुसार, उनी सोल्टी साँझ केहीबेर बस्दा पनि बाबु, आमा, श्रीमती र बहिनीबाट अलग भई छोरीहरुसँग मात्रै कुराकानी गरिरहेका थिए ।
होटलमा आउने बित्तिकै पूर्वराजाले स्थानीय दिनेश विष्टसँग गफ गरिरहँदा पारस एकातिर छेउमा छोरीहरुसँग कुराकानी गरिरहेका थिए । केहीबेरपछि उनी दुई छोरीलाई लिएर बाहिर निस्केका थिए । छोरीहरुसँग हाँस्दै गफ गरेका पारस केहीबेर पछि बिदा भएर निस्केका थिए ।
पारस आफ्नै तालले हिड्न थालेपछि यहाँका सुरक्षा अधिकारीहरु चिन्तित भएका छन् । सोल्टीबाट पारस कहाँ गए भन्ने नै धेरैबेरपछि प्रहरीले पत्ता लगाएको थियो । एकथरीले २२ गते साँझ आउने गरी काठमाडौं नै फर्किएको बताइरहेका थिए । पारस बिहीबार दिनभरी पनि सोल्टीमा भन्दा बाहिरबाहिर हिँडेका छन् ।
यही २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन पूर्वराजपरिवारका सदस्यहरु नेपालगन्ज आइपुगेका छन् । यता, पूर्वराजाको जन्म दिनलाई भब्य बनाउनका लागि राजा समर्थकहरु कस्सिएर लागेका छन् । राजालाई अभिनन्दन पत्र चढाउने तयारी भएको छ ।
नागरिक अभिनन्दन मूल समितिका संयोजक दीपकबहादुर सिंहले २३ गते राजालाई नागरिक अभिनन्दन पत्र चढाउने तयारी भएको बताए । उनले त्यस विषयमा बिहीबार बिहान पनि राजाका सचिवसँग छलफल गरेका थिए ।