Loading... आजः ६ कार्तिक २०७७, बिहीबार

अनैतिक यौन सम्बन्धपछि वडाध्यक्षले नै बहुबिबाह गराएपछि…

अनैतिक यौन सम्बन्धपछि वडाध्यक्षले नै बहुबिबाह गराएपछि…

प्यूठान । प्यूठानको एक वडा अध्यक्षले आफ्नै रोहबरमा बहुबिबाह गराएको घटना सार्वजनिक भएको छ । जिल्लाको उत्तरपूर्वी झिम्रुक गाउँपालिका–२ का नरेश गिरी र सोही ठाउँकी एक महिलाबीच भएको अनैतिक यौन सम्बन्धलाई वडाध्यक्षले काजग नै गराई उक्त महिलालाई गिरीको जिम्मा लगाएपछि सो घटना बहुबिबाहमा परिणत भएको हो ।
झिम्रुक गाउँपालिका–२ का रुपलाल खत्रीकी श्रीमती र सोही गाउँका नरेश गिरी विगत चार महिनादेखि अनैतिक यौन सम्बन्ध हुँदै आएको थियो । तर असार १० गते राती साढे १० बजे उक्त महिलाको कोठामै नरेश रङ्गेहात पकाउ परेपछि यो घटना बाहिरिएको थियो ।

खास घटना के हो त ?


१५ महिनाअघि रुपलाल बैदेशिक रोजगारका शिलशिलामा कतार पुगेका थिए । उनी २०७३ चैतमा कतार गएका हुन् । श्रीमान् रुपलाल विदेश गएपछि उनकी श्रीमती र सोही गाउँका नरेश गिरीबीच चार महिनायता लुकीछुपी यौन सम्बन्ध हुँदै आएको थियो । असार १० गते राती करिब साढे १० बजेको थियो । रुपलालका बुवा देबबहादुर खत्री एक्कासी बिरामी भए ।
अस्पताल लैजान उनकी आमा रेश्मादेवी खत्री दौडिएर बुहारी सुतेको कोठामा पुगेर बोलाइन् । धेरै पटक बोलाउँदा नबोलेपछि ढोका हानिन् । बुहारी र एक पुरुषले ढोका खोलेर उनलाई हुत्याई दिए । रेश्मा भुईमा लडेर चिच्याउन थालेपछि छिमेकी अर्थात रुपलालका जेठा बुवाका छोरा तुलसीराम खत्री त्यहाँ आए ।
बुहारी फेरि सुतेको कोठा खोल्न आग्रह गरे । तर ढोका खोल्न नमानेपछि ढोका फोडेरभित्र हेर्दा बुहारी अर्धनग्न र नरेश गिरी पलङ्गमुनि लुकिरहेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शी तुलसीराम खत्रीले बताए । उक्त घटनापछि गाउँलेहरुलाई बोलाएर भोलिपल्ट बैठकमा छलफल गर्ने गरी आआफ्नो घरमा जिम्मा लगाएको तुलसीरामले बताए ।


असार ११ गते, शुक्रबार बिहान गाउँमा बैठक बस्यो । बैठकमा झिम्रुक गाउँपालिका–२ का वडाध्यक्ष बलबहादुर महतारा र वडा सदस्य रुमलाल गिरीको उपस्थिति थियो । बैठकमा अवैध यौन सम्बन्धमा संलग्न नरेश गिरी र ती महिलालाई बोलाइयो । त्यहाँ सबै गाउँलेहरु पनि जम्मा भएका थिए । त्यहाँ छलफल शुरु भयो, छलफलले अनैतिक सम्बन्ध राख्ने दुबै जनालाई श्रीमान श्रीमतीका रुपमा बस्ने निर्णय गर्यो ।
बैठकले ती महिलाले लगाएको गरगहना र नगद ४० हजार पीडित रुपलालका बुवा देबबहादुरलाई फिर्ता दिने पनि सहमति गरियो । सोही दिन वडाध्यक्ष बलबहादुर महतारा र वडा सदस्य रुमलाल गिरीको रोहबरमा सोही बमोजिमको कागज गरेर वडाध्यक्ष महतारा र वडा सदस्य गिरीको रोहबरमा ती दुवैलाई श्रीमान श्रीमतीका रुपमा नरेशको घरमा भित्र्याइयो ।
तर नरेश विवाहित पुरुष हुन् । उनको श्रीमती सरस्वता गिरी तथा एक छोरी र एक छोरा रहेका छन् । यता ती महिलालाई नरेशका परिवारले स्वीकार नगरेपछि बाग्दुलाको एक होटेलमा दुई दिनसम्म आफूसँग राखी उनलाई माइतीको जिम्मा लगाइएको छ । ती महिला अहिले अलपत्र अवस्थामा माइतीको शरणमा रहेकी छन् ।