Loading... आजः ९ कार्तिक २०७७, आइतवार

बबई नदी तटबन्धको काम तीव्र, जोखिमी क्षेत्रलाई पूर्णरूपमा सुरक्षित गरिँदै

बबई नदी तटबन्धको काम तीव्र, जोखिमी क्षेत्रलाई पूर्णरूपमा सुरक्षित गरिँदै

मेनका चौधरी । गुलरिया (बर्दिया) । बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ । ४८ किलोमिटर दायाँ र ४६ किलोमिटर बायाँ तटबन्ध गर्दै बारवर्दिया गुलरिया जोखिमी क्षेत्रलाई पूर्णरूपमा सुरक्षित गरिँदै आएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरूपमा सुरक्षित गर्ने गुरुयोजनानुसार कटान नियन्त्रण गर्न तटबन्धन हुँदैछ ।
गुरुयोजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किलोमिटर तटबन्धन निर्माण हुने बबर्ई औरही र मानखोला नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय प्रमुख नारायाण सुवेदीले जानकारी दिए । बर्दियामा तटबन्ध राम्रो भए पनि बबई नदीमा दुईतर्फ तटबन्ध निर्माण हुनुपर्ने माग बर्दियावासीको छ । यसले बबई नदी क्षेत्रमा जग्गा कटान र डुबानको समस्याबाट जोगाउनुपर्ने बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए ।
बबई नदी दीर्घकालीन रूपमा नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसेको छ । थारुले भने, ‘गुरुयोजना अनुसार नदी नियन्त्रण र तटबन्ध नियन्त्रणको प्रयास भएको देख्दा खुशी लागेको छ ।’ बबर्ई भादा औरहीको काम शुरुको चरणमा छ । तटबन्ध निर्माण पूर्णता नपाउँदा यसवर्ष पनि गुलरिया नगरसहित चार नगरपालिका बाढीको जोखिममा छन् । गुरुयोजनानुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबर्ईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोास गर्ने जनता सधैँ बाढीको त्रासमा रहिरहने स्थानीयवासीको गुनासो छ ।
बबई भादा नदी ओराही व्यवस्थापन आयोजनाले कतिपय ठेक्का सम्झौताको प्रक्रियामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धको काम शुरु हुन्छ । आयोजना प्रमुख नारायण सुवेदीले भने, ‘बबई नदी नियन्त्रणका लागि संशोधित गुरुयोजनामा रु १३ अर्ब माग गरिएको छ । यसबाट बबई नदीका दुवै किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।’ विसं २०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकामा बर्दियाका बासिन्दा दुःखी छन् ।
बबई परेवा ओढारदेखि भारतको सीमासम्म बबई नदी नियन्त्रणका लागि कार्ययोजना बनाइएको थियो । बर्दियाका चार नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले वर्षेनी यहाँका जनताले दुःख पाएका छन्, घरविहीन हुन बाध्य छन् । जाइकाले बाढी नियन्त्रण गर्ने र स्थानीयवासीलाई जीविकोपार्जन गर्ने विषय समेटिएर योजना बनाइएको थियो ।
एक स्थानीयवासी भन्छन्, ‘जाइकालाई अर्को ठाउँमा लगियो, यहाँका नेताको पहुँच पुगेन, जाइकाले गरेको सर्भे राजनीतिक प्रभावका कारण पूर्व सारियो ।’ लट्कानीय गुरुवा गाउँ, रामपुर टापु, कुसुमडाँँडा, घोरपित्ता, पडनाहा, पण्डितपुर, टरुवा, भैसाही, बालापुर, जब्दीघाट, बिक्री प्रयागपुर, कोठीया ठप्पुवा, पशुहाट बजार, भैसायी, गुलरिया र टडुवा नदी बस्ती पस्ने सम्भावना यस वर्ष टरेको स्थानीयवासीले बताएका छन् ।
तटबन्ध भएपछि एक हजार ९८५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । बगनाहा, ढोढरी, सानोश्री बानिया भार, पडनाहा, धधबारमा गुरुयोजना अनुरूप काम अघि बढेको छ । अघिल्लो वर्ष बबर्ईमा आएको बाढीले नगरपालिकाका अधिकांश बस्तीमा क्षति पुर्याएको थियो । बाढीले बगाउँदा ३४ जनाको ज्यान गएको तथ्यांक छ । नदीले कटान गर्न थालेको वर्षाैँ बितिसक्दा पनि दीर्घकालीन तटबन्धनको योजना बबई नदीमा नपरेको गुलरिया नगरपालिकाका बासिन्दा मोहनकुमारी फुयाँलले बताइन् ।
बाढीलगत्तै जिल्लाका सबै तहतप्काका मानिस गम्भीर बन्दै गुलरिया बचाऔँ अभियानमा लाग्ने गरेका छन् । स्थानीयवासीले वर्षांैदेखि दुवैतर्फ तटबन्ध लगाउनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । बबई नदी नियन्त्रण गर्न दुईतर्फ तटबन्धन गुरुयोजना स्वीकृत नहुँदा बर्खामा नगरवासी सुरक्षित महसुस गरेर बस्न सक्दैनन् । गाउँ र नगर सुरक्षित गर्न दुईतर्फ बजेट छुट्याउन जरुरी रहेको बताइन्छ ।
स्थानीयवासी प्रदेश सांसद तिलक शर्माले भने, ‘यहाँका थारु मात्र नभएर गुलरिया वारबर्दियावासी, ठाकुरबाबा, मधुवन नगरपालिकावासी पहिले राज्यको बेवास्ताले पुस्तेनी ठाउँ छाडेर अन्यत्र हिँड्न बाध्य भए । बबई नदी नियन्त्रण गर्न सके खेतीयोग्य पाँच हजार बिघा जमीन उकासिने र बर्दियाको सदरमुकाम सुरक्षित हुनेछ ।’ रासस