Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

सिम्ता विकासको ‘रोडम्याप’ र जनप्रतिनिधिको भूमिकाले उब्जाएको प्रश्न

सिम्ता विकासको ‘रोडम्याप’ र जनप्रतिनिधिको भूमिकाले उब्जाएको प्रश्न


तीन तहका निर्वाचनहरु सकिएका छन् । आम नागरिकको चासो विकास र समृद्धिमा केन्द्रीत भएको छ । नागरिकले चाहन्छन्, अब राजनीतिक विचार र आस्थालाई सबै जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँमा राख्दै समृद्धि र विकासमा जुट्नुपर्छ । २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरुबाट आम नागरिकहरुले जे आशा र अपेक्षा गरेका छन्, त्यसो हुन सकिरहेको छैन । जनप्रतिनिधिले स्थानीय तहको समृद्धि र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्न सकिरहेका छैनन् । जनप्रतिनिधिका रुपमा निर्वाचित भइसकेपछि पनि आफूलाई साझा बनाउन नसक्ने केही त्यस्ता जनप्रतिनिधिका कारण विकासका सम्भावनाहरु टाढिएका छन् भने केही जनप्रतिनिधिहरुले विकासका कामलाई गति दिएका छन् ।
मैले यहाँ सुर्खेतको सिम्ता गाउँपालिकाको बारेमा केही चर्चा गर्न खोजिरहेको छु । सिम्ता भर्खरै मात्र विकासमा बामे सर्दैछ । भौतिक पूर्वाधार विकासको गति काम चलाउ मात्र छ । दिगो बन्न सकेको छैन् । प्राकृतिक स्रोत र साधनमा सम्पन्न भएर पनि सिम्ताले अपेक्षाकृत विकास गर्न सकेको छैन । साविकका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला गाविसलाई बर्ज गरेर सिम्ता गाउँपालिका बनाइएको छ । २५ हजार ८४५ जनसंख्या रहेको यस गाउँपालिकामा नौ वडामा विभाजन गरिएको छ ।
सिम्ता सुर्खेतको पुरानो र परिचित नाम हो । शैक्षिक रूपमा पनि उर्वर भूमिमध्येमा दरिने सिम्ताले कहलिएका धेरै व्यक्ति जन्माएको छ । विकासका लागि आवश्यक स्थानीय स्रोत र साधन तथा थुप्रै आधारसमेत रहेको सिम्तालाई उत्कृष्ट र नमुना गाउँपालिका बनाउन सम्भव छ । तर केही व्यक्ति र जनप्रतिनिधिका कारण विकास र समृद्धिका ‘जेटविमान’हरु विकासका लागि ‘रनवे’मा अवतरण गर्न नपाएरै एकपछि अर्को गर्दै लखेटिएका छन् । करिब २०६० सालतिर सिम्ता गाउँपालिका–१ को बाँखर्क–खनेटा जोड्ने सडक राजनीतिक नेतृत्वको सिकार हुँदै गयो । थुप्रैखाले विवादहरु झेल्यो, नेतृत्वको मनपरीकै कारण कहिले प्राविधिक लखेटिए भने कहिले सडक नाप्दै गरेका डोरीहरु चुँडाइए । कहिले डोजर काण्ड त कहिले भ्रष्टाचार काण्ड ।

जनप्रतिनिधिकै कारण विकास बजेट फिर्ता जानु उपयुक्त होइन । आम नागरिकले सक्षम जनप्रतिनिधिका रुपमा चयन गरिसकेपछि आफ्नो भूमिकालाई दल विशेषको छाँयामा पार्दै विकासलाई प्रभावित गर्दा पक्कै पनि सिम्ता विकासको ‘रोडम्याप’लाई पूर्ण गर्न जनप्रतिनिधिको भूमिका के हुने भन्ने प्रश्न उब्जिएको छ ।

सडक निर्माण सुरु भएयता सडकलाई नेतृत्वले कमाइखाने भाँडो बनायो । कहिले यो बहाना त कहिले त्यो बहानामा पहुँच भएकाहरुले सडक निर्माणका नाममा ब्रह्मालुट मच्चाइरहे । उनीहरुको विरुद्धमा बोल्नेहरुलाई यो या त्यो नामका धम्की दिँदै त्रसित बनाइरहे । करिब १२ वर्षसम्म पनि सडक निर्माणले गति लिन नसक्नुका पछाडी गलत नेतृत्व र भ्रष्ट स्थानीय नेता नै कारण हुन् भन्ने कुरा घामजस्तै छर्लंगै भएको छ । यो त एउटा सामान्य उदाहरणमात्रै हो । उनै भ्रष्ट स्थानीय नेताहरुले खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा ब्रह्मलुट मच्चाइरहे । अशिक्षित र निम्न वर्गका नागरिकहरुका आवाजलाई डर, धम्की र त्रासका नाममा दवाउन बाध्य पारियो । जब गाउँमा सचेत युवाहरुको जमात बढ्दै जानथाल्यो र उनीहरुले गर्ने गलत कामका विरुद्ध आवाज उठ्न थाल्यो । विकासका हिमायती भन्ने भ्रष्ट स्थानीय नेताहरुकै कारण विकासमा पछि परेको साविकको एउटा गाविस हो घोरेटा ।
स्थानीय तहको निर्वाचनपछि नागरिकका आशा र अपेक्षाहरु बढे । स्थानीय तहको निर्वाचन सकिएसँगै सिम्ताबासीले जनप्रतिनिधि चुने, सिम्तालीहरूले नयाँ विकासका सम्भावनाहरूको खोजी गरे । स्वभाविक थियो, प्राकृतिक सुन्दरता, सांस्कृतिक एकता र सामाजिक सद्भावको थलो सिम्तामा नागरिकहरुले विकास र समृद्धि खोज्नु । स्थानीय तहको निर्वाचनमार्फत् जनप्रतिनिधि आइसकेपछिको अवस्थामा सिम्ताको सामाजिक विकास, पूर्वाधार विकास र समृद्धिका व्यापक अवसरहरूको खोजी भइरहेका छन् । तर जनप्रतिनिधिहरु भने कुनै दल विशेष भएर अघि बढ्न खोज्दा समस्याहरु देखा पर्न थालेका छन् । जनप्रतिनिधिकै कारण विकास बजेट फिर्ता जानु उपयुक्त होइन । आम नागरिकले सक्षम जनप्रतिनिधिका रुपमा चयन गरिसकेपछि आफ्नो भूमिकालाई दल विशेषको छाँयामा पार्दै विकासलाई प्रभावित गर्दा पक्कै पनि सिम्ता विकासको ‘रोडम्याप’लाई पूर्ण गर्न जनप्रतिनिधिको भूमिका के हुने भन्ने प्रश्न उब्जिएको छ ।


हिजो जुन दल र पार्टीको नेता कार्यकर्ता जे भए पनि जनप्रतिनिधि अब सबैको साझा व्यक्ति हो । घोरेटाको विद्युतीकरणमा गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ वडाध्यक्षकै कारण फिर्ता जानुले जनप्रतिनिधि विकास विरोधि नै हुन् भन्ने ठहरिन्छ । आफू अनुकुल उपभोक्ता समिति बनाउन नसक्दा बजेट फिर्ता गर्ने अधिकार जनप्रतिनिधिलाई छैन । जनतासँग भोट माग्दा तपाई जनप्रतिनिधिले आफू अनुकुलका व्यक्तिले मात्रै भोट हालेर जितेको हो र ? यदी त्यसो होइन भने तपाईको भूमिका कस्तो हुनुपर्ने ? पदीय जिम्मेवारी के हो ? पद र प्रतिष्ठालाई कसरी जोगाउनुपर्छ भन्ने हेक्का तपाई जनप्रतिनिधिलाई हुने कि नहुने ? यदी तपाईलाई यी र यस्तै कुराहरुको हेक्का नै छैन भने तपाई पाँच वर्ष त के अहिले नै राजिनामा दिएर राजनीतिबाटै सन्यास लिए हुन्छ । अनि तपाईका आसेपासे र छिचिमिराहरुलाई अराजक नबनाउनुस्, उनीहरु अराजक बन्दा तपाईको पद र प्रतिष्ठामा आँच आउँछ । जनप्रतिनिधि यस्ता कुरामा हेक्का राख्नुभएको छ ।
अर्को कुरा, मैले माथि पनि भनिसके तपाई साझा व्यक्ति हो । तपाई कुनै दल विशेषका व्यक्तिहरुका आडमा तपाईको आलोचना गर्ने या विरोध गर्नेहरुलाई निषेध गरेर अघि बढ्न खोज्ने कोशिष पनि गर्नुहुँदैन । किनकी त्यसले तपाईको पद र प्रतिष्ठा दुवै गुमाइदिन सक्ने तिनै तपाईलाई भोट दिएर निर्वाचित गराएका मतदाता नै हुन् । राम्रो सल्लाह र समृद्धिका योजनाहरु जो कोहीसँग पनि लिन सकिन्छ, जनप्रतिनिधिका नजिकका आसेपासे र भरौटेहरुले दिएका राम्रा नराम्रा योजनाहरु ग्रहण गर्ने तर विपक्षीले दिएको सकारात्मक सुझाव, सल्लाह र योजनालाई ग्रहण गर्नै नहुने तपाईले कुन दशा र ग्रहले छोपेको छ ? तपाई जनप्रतिनिधि भइरहँदा तपाईसँग राजनीति चरित्र छ कि छैन भन्ने कुरा पनि जोडिन्छ र त्यसले तपाईको आगामी राजनीतिक भविष्य, मान र प्रतिष्ठा कस्तो हुने भन्ने निर्धारण गर्छ । विपक्षीलाई सधैं निषेध गर्दा कसनै बेला तपाईले आफ्नो पद र प्रतिष्ठा गुमाउनुपर्छ भन्ने हेक्का जनप्रतिनिधिले पनि राख्नुपर्छ ।

हामी गाउँमा सिंहदरबार पुगेको कुरा गरिरहँदा जनप्रतिनिधिका भूमिका पनि त्यही अनुरुप हुनुपर्छ । न की नारायणहिटी दरबाट गाउँ पुगेको होस् । यदि त्यसो हो भने पनि नारायणहिटी नै गाउँमा आएको महसुस गरी निरंकुशता प्रदर्शन गर्ने तपाई जनप्रतिनिधिलाई नागार्जुनतिर लखेट्ने ताकत नागरिकसँग छ ।

हामी गाउँमा सिंहदरबार पुगेको कुरा गरिरहँदा जनप्रतिनिधिका भूमिका पनि त्यही अनुरुप हुनुपर्छ । न की नारायणहिटी दरबाट गाउँ पुगेको होस् । यदि त्यसो हो भने पनि नारायणहिटी नै गाउँमा आएको महसुस गरी निरंकुशता प्रदर्शन गर्ने तपाई जनप्रतिनिधिलाई नागार्जुनतिर लखेट्ने ताकत नागरिकसँग छ । अब तपाईले स्थानीय तहको समृद्धिका लागि नयाँ खाका कोर्ने या निरंकुशता देखाएरै अघि बढ्ने ? छनौट तपाईकै जिम्मामा छ । तपाई जनप्रतिनिधिले अवसरहरूको पहिचान, परिचालन र दिगो संरक्षण गर्न सक्षम हुने कि नहुने ? स्थानीय तहको नेतृत्व राजनीतिक धरातलबाट माथि उठेर विकासको नयाँ यज्ञमा आहुती दिन तयार हुने कि नहुने ? वर्तमान राजनीतिक शक्तिहरूले स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिहरूलाई विकास र समृद्धिमा समाहित हुन प्रशिक्षित गरेका छन् कि छैनन् ? स्थानीय तहको नेतृत्व आर्थिक समृद्धि र विकासका सम्वाहक बन्ने कि नबन्ने ? अर्थात् अबको दिनमा स्थानीय तहको नेतृत्वले पक्षपातपूर्ण होइन साझा नेतृत्वका रुपमा आफूलाई विकास गर्न जरुरी छ ।
स्थानीय तहलाई समृद्ध बनाउने जिम्मा गाउँपालिकाको नेतृत्वकर्ताका काँधमा छ । यी सबै कामलाई नियाल्दा नेतृत्वलाई अवसर र चुनौती दुवै छन् । निर्वाचित नेतृत्वले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष अर्थात् वडाध्यक्ष मात्र बन्ने होइन । अब सिम्ताको विकास र समृद्धिका लागि गाउँपालिकाले अघि सारेका योजना र ठोस मार्गचित्रलाई मुर्तरुप दिनका लागि तपाई कुनै व्यक्ति विशेषको भएर लाग्ने वा साझा व्यक्तिका रुपमा उभिन सक्ने ? जतिसुकै साधन स्रोतले सम्पन्न होस्, पूर्वाधार विकास, स्थानीय साधन स्रोतको बहुआयमिक परिचालन र स्थानीय कानुनको तर्जुमा गर्न गतिशील नेतृत्व भएन भने गाउँपालिकाले विकासको गति लिन सक्दैन । त्यसैले तपाई जनप्रतिनिधिहरुले विपक्षीलाई निषेध होइन, उनीहरुसँग विकास र समृद्धिका आवश्यक शर्तहरूमा बहस केन्द्रित गर्नुस् । शुभकामना ।।