Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

विगतमा बिल गेट्स पनि गरिब थिए

विगतमा बिल गेट्स पनि गरिब थिए


कर्णाली– प्रकृतिको आदिम उपहार ! तर, सत्ताले यसलाई निकम्मा बनायो । बरु अशिक्षा, अभाव, वियोग, भोक, रोग, शोक उपहारमा थमायो । र, यसलाई बनाइएको छ, गरिबीको बिम्ब ! दुःखको ‘कुम्भिपाक’ । म यसलाई बदल्न चाहन्थेँ । अभावलाई नै भावको प्रतीक बनाउन चाहन्थेँ । पीडालाई प्राप्तिको बाधक होइन, साधक बनाउन चाहन्थेँ ।
सुर्खेतको छिन्चुबाट नुन बोकेर झन्डै आठ दिनको बाटो हिँडेर जाजरकोट पुग्थेँ । ढाकरमा नुन बोकेरै बित्यो बाल्यकाल । मेरा लागि त्यौ औधी सुख थियो । सुख यसकारण थियो, तुलना गर्न त्यो भन्दा ठूलो सुख अर्को थिएन । यदि हुन्थ्यो भने मैले त्यसलाई दुःख मान्थेँ होला शायद । कालापहाड जानुपर्ने विवशता जन्मँदै बोकेर आएको ।
झाडापखाला लाग्दा जीवनजल नपाएर मृत्युवरण गर्नुपर्ने अभिशप्त नियति । ज्वरो आउँदा दुई रुपैयाँको सिटामोल किन्न नसक्नु । प्रशव हुँदा २५ रुपैयाँ पर्ने रक्तश्राव रोक्ने सुई नहुनु । सुदूरका सामान्य भाव थिए, अभाव होइन । र त, यी मलाई कहिल्यै दुःखका मानक लागेनन् । गरिबीका आयाम बनेनन् । अचम्म ! यही कुरा काठमाडौँलाई घगडान दुख्ख लाग्दो रहेछ । एनजीओ, आईएनजीका अजेन्डा बन्दा रहेछन् । र, खन्याइँदो रहेछ– त्यहाँका दुःख भन्दा ज्यादा द्रव्य !
० ० ०
सधैँ देखिइरहने पहाड । सधैँ उदाइरहने घाम–जून । निर्मिमेष सुस्केरा छाडिरहने भेरी–कर्णाली । सधैँ भइरहने दिन–रात । यिनै थिए हाम्रा सरकार । साथी–सहेली पनि । आमा–दिदीबहिनीहरूको त स्वर्ग भन्नु नै यत्ति थियो भन्दा हुन्छ । त्यहाँ परको संसार उहाँहरूले शायदै विचरण गर्नुभयो । किनभने हामीले सरकारको रङ्ग कहिल्यै देखेनौँ । देशमा राज्य नामको अमूक चिज पनि छ । सरकार हुन्छ भन्दा दङ्ग पथ्र्यौं हामी ।
युवावयमा पैताला राखेपछि सदैव एउटै व्याकरण रटाइयो– हामी गरिब छौँ । कर्णाली पछाडि पारियो । जाजरकोट पिछडिएको क्षेत्र हो । जहाँ अप्सरातुल्य रारा छिन् । सुदूरको छाती भिजाउँदै बग्ने सुदूर कर्णाली छ । विश्वकै भूखण्डमा उदाउने सूर्य उदाउँछ । जूनको उज्यालो पनि उस्तै छ । बरु विश्वमा कहीँ कतै नभएको दुर्लभ हावापानी, जल, जमिन, जडिबुटी छन् । यत्तिका चिजबीज पाएर पनि हाम्रो जीवन त न्यूनकोटीको पो रहेछ ! मनमा प्रश्न सघन बन्न पुग्यो– हामी साँच्चै गरिब हौँ कि बनाइयौँ ?
त्यसपछि मैले गरिब हुन तालिम लिन थालेँ । ‘केही छैन !’ जीवनको मंगल धून थियो । फगत अभावको आँखाबाट जिन्दगीलाई हेरिनुपथ्र्यो । अगाडि बढ्ने बाटाहरू ठप्प थिए । जीवनको मुक्ति असम्भव छ भन्ने कोणबाट आफूलाई खुम्च्याइनुपथ्र्यो । पहाड फुटाएर बगेको कर्णालीको चिसो पानी पिएर हुर्किएकाहरू क्रमशः विकल्पहीन बने । त्यसले चौपट बनायो, मेरो एउटा उमेर ।
यहाँनेर म त एउटा सुदूरको प्रतिनिधि पात्र हुँ । तथाकथित पिछडिएको क्षेत्रमा जन्मिएका युवाहरूको मनोदशा के हुन्छ र उनीहरू कस्तो लघुताभाषमा बाँचेका हुन्छन् भन्ने जिउँदो दृष्टान्त हो यो । हिजो सक्छौ कलापहाड जाऊ थियो, आज फैलिएर खाडी पुगेको छ तर, जीवनको नियति बदलिएको छैन । पटक्कै छैन ।
० ० ०
कालापहाड– सुदूरको विकल्पहीन विकल्प हो । बाध्यताको ‘भामरी’मा म पनि परेँ । ०४७ सालताक भारतको सडकमा झन्डै ६ महिना माटो सोहोरेँ । १६ भारतीय रुपैयाँ दैनिक वेतन थियो । झन्डै ३३ सय रुपैयाँ लिएर नेपाल फर्किएको हुँ उतिबेला । आज पनि कलापहाड– सुदूरको सुन्दर विकल्प हो । तपाईंसँग जीवनका कुनै बाटो छैन भने कालापहाडले तपाईंलाई पर्खिइरहेको छ ।

नरबहादुर कार्की, लाइफ कोच

सातु–चामल पोको पार्नूहोस् र बाटो तताउनूहोस् । पेटी ठेकेदारसँग जीवन साट्नुहोस् । परिवारले तपाईंको विदाइमा आधा मृत्यु स्वीकारिसकेका हुन्छन् । कारण– तपाईं फर्किएर आउने कुनै ग्यारेन्टी छैन । म पनि चमौली–गढवाल र्पुयाइएँ, ठेकेदारको सहायतामा । अहिले उत्तराखण्डमा पर्छ, कर्णप्रयाग नजिकै । कर्णप्रयागको माथिपट्टि कृषि–सडक खनिँदैथियो । प्रायः नेपालीले माटो फाल्ने र पर्खाल लगाउने काम गर्थे, मेरो भागमा पनि त्यही र्पयो ।

दुई महिनामा एउटा खण्ड सकिन्थो । त्यसपछि अर्को ठेकेदारको सम्पर्कमा पुगिन्थ्यो । यसरी ६ महिना व्यतीत भयो । कालापहाड पुगेपछि नफर्किएका मानिसहरूको सुदूरमा लेखाजोखा छैन । तर म त जिउँदै फर्किएको थिएँ । यसो भनौँ न, त्यहाँ पुगेपछि जीवनबोध भयो । जिन्दगीप्रति अभिप्सा जाग्यो । वास्तवमा नमर्नु मेरा लागि बाटो बन्नु थियो ।
०४६ साल । मुलुकमा भीमकाय परिवर्तन भयो । रेडियोमा खुबै सुनिन्थ्यो, हामी जनता सार्वभौम भयौँ । जनताको हक–अधिकार जनताकै हातमा आयो । रेडियोमा बाहेक त्यसको प्रत्याभूति आम जन–जीवनमा हुन सकेको थिएन । परिवर्तनको बाछिटासम्म पुगेको थिएन त्यहाँ ।
वास्तवमा परिवर्तन कुनै अमूक वस्तु होइन, यो त जनताको जीवनशैलीको बदलाव हो । तर, त्यहाँ त्यसको छनक थिएन । वर्षौंदेखिको मानक बदलिएन । त्यसभन्दा अघि पाँच वर्षमा राजा घुम्न जान्थे । राजा सवारी हुँदा मेला, पर्व, महोत्वस आएजस्तो हुन्थ्यो । पञ्चायतका गुणगाथा, खप्तडबाबाका किताबहरू बाँडिन्थे । परिवर्तन यत्ति भयो– ती बाँडिन छाडे ।
० ० ०
कालापहाडबाट फर्किएको वर्ष प्रवेशिका परीक्षाको फड्के पार भएँ । सुर्खेतकै वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्रमा भर्ना भएँ । जीवनले लय समात्यो । तिनताक सुर्खेतमा चिया पसल खोलेको थिएँ । चिया पसलको आम्दानीले पढाइ र घर खर्च दुवै धानेको थियो । तर मनले मानेको थिएन । किनभने जीवनको लक्ष्य त्यत्तिमात्रै थिएन । जीवनको गन्तव्य पैसा कमाउनुमात्रै होइन ।
औसत मानिसहरूको जीवन परम्परालाई पछ्याउँदै बित्दो रहेछ । तर मलाई औसत जिन्दगी बाँच्नु थिएन । अतः स्वतः मेरो बाटो ‘अपरम्परागत’ बन्यो । अपरम्परागत हुनेको फाइदा यत्ति हो– कहीँ पुग्ने जीवनलाई डोर्होयाएर अन्तै कतै पुर्याइदिन्छ ।२०५२ सालताक म डीएआईडीको एउटा परियोजनामा काम गर्थें । त्यो मेरो जीवनको विशिष्ट परिघटना थिएन ।
जीवन बाँच्न अनुकूलतामात्रै थियो । मलाई प्रतिकूलता झेल्न र समस्यासँग खेल्न मनलाग्यो । चटक्कै छाडिदिएँ जागिर । तपाईं जब निर्विवाद विश्वको हिस्सा बन्न थाल्नुहुन्छ । तपाईं बन्दी बनेको या बनाइएको निस्सा हो त्यो । जब जगतमा तपाईं आफूलाई निर्विवाद हो ठान्नुहुन्छ, विवाद पैदा गर्नुहोस् । निर्विवाद गतिलो कुरा होइन, प्रगतिको बाधक र यथास्थितिको द्योतक हो त्यो ।
जब कुवाले विद्रोह गर्छ, ऊ बगेर सागरसम्म पुग्छ । एउटा अनुभूति सुनाउँ– मलाई मानिसहरूले अंग्रेजीमा संवाद गरेका सुन्दा मुटु काम्थ्यो । अंग्रेजीमा प्रश्न सोध्लान् र जवाफ दिनुपर्ला भनेर भयले कुँजिन्थे । अंग्रेजीसँग डर थियो तर मैले संगत त्यसैको गरेँ । र, दूर गरेँ त्यसलाई ।
० ० ०
तपाईंले जिन्दगीमा हार्नु भयो कि जित्नुभयो भनेर आज निक्र्यौल निकाल्नु निकै ठूलो हतार हुनेछ । जिन्दगी ९०–९४ मिनेटको खेल होइन । जिन्दगी ७० वर्षको खेल हो । ४०–४५ को भइसकेँ, केही गरेको छैन भने विरक्तिनु भएको छ भने पनि आशावादी हुनूहोस् । के थाहा, ५० वर्षमा चमत्कारै हुन्छ कि ? फुटबलको इन्जुरी समयमा बलले जाली चुमेझैँ तपाईंको जीवनमा ‘मिराकल’ पो भइहाल्छ कि ! अहिले नै किन नैराश्यता किन पाल्ने ?
अतः मैले जोड दिने एउटै कुरा हो, अहिले जितेँ भनेर पनि घोषणा गर्न नचटारिनूहोस्, हारेँ भनेर थकित पनि नदेखिनूहोस् । बरु जिन्दगीले ल्याउने परिणामसँग आश्चर्यचकित हुन तयार भएर बस्नूहोस् । किनभने ‘मिराकल’ तपाईंको जीवनमा पनि हुनेवाला छ ! मानव विकासको इतिहास पल्टाउनूहोस्– भोलिको संस्करण सुन्दर छ । यदि पीडा नै आयो भने त्यो मुक्तिको मार्ग हुनेछ ।
मेरो विशेषता लौकिक छ, हिजोको पीडाबाट ताडित भइनँ म । फगत उज्जवल भोलिको प्रतीक्षारत रहेँ । जतिबेला मैले मेरो उज्ज्वल भोलिको कामना गरेँ । त्यतिबेला चीन आफ्नो सैद्धान्तिक दायराबाट माथि उठेर विश्वलाई नै आफ्नो मुट्ठीमा ल्याउने दाउमा थियो । ली क्वान युले सिंगापुर र महाथीर विन मोहम्मदले मलेसियालाई विकासको गतिमा हुइँक्याइसकेका थिए । विकासको सूचकांकमा पछाडि रहेका देशहरू क्रमशः अगाडि आइरहेका थिए ।
विश्वको चिन्तन के छ ? विश्वको उच्च ओहोदामा बसेकाहरू के बोल्छन्, भन्छन् र तिनीहरूको दृष्टिकोण के हो भन्ने मेरो खोजीको विषय बन्न थाल्यो । र, क्रमशः जीवनचेत उजिल्याउँदै लगेँ भनौँ । विश्वमा यस्तो समय आइसकेको थियो– विगततिर फर्किएर पश्चाताप गर्ने होइन, सुन्दर भविष्यको कल्पनामा आश्वादित हुने । जापान त्यसैको उदाहरण थियो । मैले पनि पछ्याएँ ।
नूतन भविष्यको खोजी गर्दै म अमेरिकाको ‘एकेडेमी फर कोचिङ एक्सिलेन्सी’ पुगेँ । डा. मारिया नेमेथसँग अनुशिक्षण लिएँ । उनी भन्थे, तिमी जिन्दगीमा जस्तासुकै कथा या जिन्दगी बाँच, ती कथाहरू कापीमा लेखेर चोकमा राख्यौ भने दुई रुपैयाँमा कसैले किन्दैन । यसकारण कि तिमी को हौ भन्ने कसैलाई चासो छैन । तर, दुई मिनेट चोकमा उभिएर तिमीले म यो बन्न चाहन्छु भन्यौ भने जो–कसैको ध्यान आकृष्ट हुन्छ र उसले एकाग्रतापूर्वक तिमीलाई सुन्छ । चिन्तन–मनन गर्छ !
अमेरिबाट म यस्तै सूचना र जानकारीका पोका–पन्तुरा बोकेर फर्किएँ । म उत्प्रेरक होइन । सकारात्मक सोच र चिन्तन भित्र्याउनु र प्रशिक्षित गर्नु मेरो लक्ष्य होइन । हुँदै होइन । मेरो ध्येय त विद्रोहको आँधी तुफान पैदा गर्नु हो । मेरो सिकाइको अभिष्ट पनि त्यही हो । यथास्थितिमा रुमलिइरहेका, ‘यस्तै हो’, ‘भएकै छ’ भनेर बनेर बसेकाहरूलाई भड्काउँदै हिँड्ने मान्छे हुँ । भड्कावचाहिँ विगतमा अड्किएको जिन्दगीलाई भविष्यतिर समाहार गराउने ।
अभावको आँखाबाट जिन्दगीलाई नियाल्नेहरूलाई समृद्धि र सम्भावनाको आँखातिर डोर्होयाउने । सपनामा कोही पनि गरिब हुँदैन । विगतमा कोही पनि सम्पन्न हुँदैन– मेरो भड्कावको निहितार्थ यही हो । तपाईं पत्याउनुहुन्छ ? विगतमा विल गेट्स पनि गरिब थिए । स्टिभ जब्ससमेत अभावमा रुमलिइरहेका थिए । अल्वर्ट आइन्सटाइन लद्दू विद्यार्थी थिए । अतः भविष्यमा कोही पनि गरिब नहुने नै मेरो सिकाइको सूत्र हो ।
देशव्यापी यही सिकाउँदै हिँडेको छु । मैले लेखाजोखा राखेको छैन– मेरो सिकाइले कसलाई कति फरक र्पायो । कसको जीवनमा के परिवर्तन ल्यायो ? मेरो आग्रह यत्ति हो– मान्छेका दुःख घटून् । मान्छेहरू हौसला पाएर बाँच्न सकून् । म त यत्तिमै खुसी छु– मैले जीवनलाई उपयोग गर्न जानेँ ।
० ० ०
मुटु दुखे चिकित्सककहाँ जाने ? मन दुखे कहाँ जाने ? धेरैजसो जीवनका दुर्घटना यी र यस्ता थुपै जिज्ञासा शमन नहुँदा भएका छन् । यस्तै उत्तरविहीन जिज्ञासा पूर्तिका लागि ‘लाइफ कोच’ बनेँ । तर उपल्लो तहमा रहेका मानिसहरू पनि अचम्ममा परेका छन्, खेलको पो प्रशिक्षक हुन्छ, जीवनको पनि प्रशिक्षक हुन्छ कहीँ ? तर उनीहरू अनभिज्ञ छन्, सबैभन्दा ठूलो खेल नै जीवन हो ।
कलात्मक र जादुयी तरिकाले जसले खेल्छ, सफलता उसैले हात पार्छ । ‘लाइफ कोच’ले के गर्छ ?– धेरैको जिज्ञासा हुने गर्छ । ‘लाइफ कोच’ दर्पण हो । जसले तपाईंको सत्य र सीमितलाई ऐनाझैँ छर्लङ्ग देखाइदिन्छ । र, अगाडिको बाटो पहिल्याइदिन्छ । र, म त्यही गरिरहेको छु । (प्रस्तुती : अक्षर काका, बाह्रखरीबाट)