Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

बर्षापछि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुट्यो

बर्षापछि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुट्यो

नेपालगन्ज, १८ असार । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापर्बाही गर्दा आवतजावत प्रभावित भएको हो ।
पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर गएरातिदेखि आवतजावत ठप्प भएको हो । ‘ठाउँठाउँमा पुल बनिरहेका छन्, तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी पर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोखे ।
वर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भए पनि सुनुवाइ नहुँदा यो अवस्था आएको उनले बताए । ‘अब न भारततिर जान सक्ने अवस्था छ, न नेपालगन्ज आउने अवस्था छ, आफ्नो २ नं वडामा रहेको घरबाट गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन,’ अध्यक्ष शाहले भने ।
यस सम्बन्धमा रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अस्थायी भए पनि नेपालगन्जसँग नरैनापुर क्षेत्रको सडक सम्पर्क जोड्न निर्माण कम्पनी र आयोजना कार्यालयमा निर्देशन दिएको बताए । यसैगरी, मनसुन शुरु भएसँगै बाँके जिल्ला विपत् व्यवस्थापन समितिअन्तरगतका कलस्टर समूहलाई उच्च सतर्कताको स्थितिमा राखिएको पनि उनले बताए ।
भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्र नजिक बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी त्यहाँका गाउँ डुबानमा पर्ने गरेका छन् ।
यसैबीच, अविरल वर्षापछि बाँके जिल्ला कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका करीब ६० घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण घर डुबानमा परेका हुन् ।
डुबानमा परेका घरका सदस्यको उचित राहतका लागि स्थानीय प्रशासन कार्यालयले अहिले उच्च सतर्कताका साथ काम गरिरहेको प्रजिअ केसीले बताए । कार्यालयले पानी अझै पर्ने सम्भावना रहेकाले विभिन्न नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।