Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

दुई दर्दनाक हार, जसले पुरै ब्राजिल स्तब्ध, एक्कासी छाएको मृत्युको जस्तै सन्नाटा

दुई दर्दनाक हार, जसले पुरै ब्राजिल स्तब्ध, एक्कासी छाएको मृत्युको जस्तै सन्नाटा


विल सार्प

‘तपाईं खेलाडीहरुलाई केही घन्टापछि नै विश्व विजेताको रुपमा लाखौं देशवासीले पुकार्ने छन्,’ रियो दे जेनेरियोका मेयरले देशको फुटबल टिमलाई सम्बोधन गर्दै भने, ‘यो दुनियामै तपाईंहरुको कोही पनि प्रतिद्वन्द्वी छैन, तपाईंहरुले सबै प्रतिस्पर्धीलाई हराउन सक्नुहुन्छ । त्यसैले तपाईंहरुलाई म अहिले नै विजेताको रुपमा सलाम गर्छु ।’
यी मेयरले सार्वजनिक सम्बोधनमा आफ्नो घमण्डलाई अलि कम गर्नुपर्ने कुनै कारण देखेनन् । ब्राजिलले विश्वकप जित्छ भन्नेमा उनी पूर्ण रुपमा ढुक्क थिए । उनको मुर्खतापूर्ण दावी अतिशयोक्तिपूर्ण थियो र ब्राजिललाई कसैले पनि चुनौती दिन नसक्ने दम्भ झल्किएको थियो । ती मेयर मात्रै होइन पूरै ब्राजिलको दृष्टिकोण यस्तै थियो ।
सन् १९५० को जुलाई १६ को बिहान विश्वकपको फाइनल खेललाई सबैले प्रतीक्षा गरिरहेका थिए । आयोजक ब्राजिल र उरुग्वेबीच खेल हुनु अगाडि देशको पुरानो राजधानी रियो दे जेनेरियोको वातावरण रोमाञ्चक थियो । ब्राजिलीहरुले फाइनल खेल्ने मात्रै होइन उपाधी नै जित्ने आशा राखेका थिए । यो खेल हुन बाँकी नै थियो तर, गोल्ड मेडलमा जीतपछि उनीहरुको घाँटीमा लगाइदिन सबै २२ जना ब्राजिली खेलाडीहरुको नाम कुँदिसकिएको थियो ।
जीतको उत्सव मनाउन ‘ब्राजिल ओस भेन्सेडोर्स’ अर्थात ब्राजिल विजेता हो भन्ने भावमा गीत कम्पोज गरिएको थियो र खेल सकिएको सिठ्ठी बज्नासाथ बजाउने तयारी गरिएको थियो । माराकानाको सडकहरुमा एक उत्सवको तयारी भैरहेको थियो । ब्राजिली अखबार ओ मुन्डोले खेलअघि नै विशेषाङ्क निकालेको थियो जसमा ब्राजिल टिमको तस्वीर राखेर बोल्ड अक्षरमा क्याप्सन लेखेको थियो, ‘हेर्नुहोस् विश्व विजेता’ ।

माराकानाको सडकहरुमा एक उत्सवको तयारी भैरहेको थियो । ब्राजिली अखबार ओ मुन्डोले खेलअघि नै विशेषाङ्क निकालेको थियो जसमा ब्राजिल टिमको तस्वीर राखेर बोल्ड अक्षरमा क्याप्सन लेखेको थियो, ‘हेर्नुहोस् विश्व विजेता’ ।

अखबारमा यस्तो छापिएको देखेपछि उरुग्वेका क्याप्टेन ओब्दुल्लो भारेललाई असहृय भयो । त्यस्तो हर्कतदेखि रिसाउँदै उनले बोक्न सक्नेजति अखबार किनेर त्यसलाई आफ्नो होटलको कोठामा लागे । उनले त्यस अखबारलाई बाथरुमको भुईंभरी बिच्छ्याए र आफ्ना सबै साथीहरुलाई बोलाएर सबैलाई उक्त तिरस्कृत अखबारमाथि पिसाब गर्न लगाए । ब्राजिलीहरुले आफ्नो टिममाथि यति धेरै विश्वास त्यत्तिकै गरेका थिएनन् ।
यसको अघिल्लो वर्ष देशले दक्षिण अमेरिकी च्याम्पियन्सिप आयोजना गरेर सबै खेल धेरै ठूलो अन्तरले जित्दै उपाधी चुमेको थियो । ब्राजिलले इक्वेडरलाई ९–१, बोलिभियालाई १०–१, कोलम्बियालाई ५–०, पेरुलाई ७–१ र उरुग्वेलाई ५–१ को फराकिलो गोल अन्तरले धुलो चटाएको थियो भने फाइनलमा पाराग्वेमाथि ७–० को जित हात पारेको थियो । यस प्रतियोगितामा ब्राजिललाई रोक्न असम्भव जस्तै देखिएको थियो । त्यतिमात्रै होइन विश्वकपको सुरुवाती चरणमा पनि ब्राजिलले मेक्सिको र युगोस्लाभियालाई हराएको थियो ।
स्वीट्जरल्याण्डसँग भने बराबरी खेलेपछि उसले स्वीडेनलाई ७–१ र स्पेनलाई ६–१ को फराकिलो अन्तरले पछारेको थियो । यता उरुग्वेले भने स्पेनसँग बराबरी गरेको थियो भने स्वीडेनलाई अन्तिम समयमा दुई गोल गरेर हराएको थियो । उनीहरुसँग ब्राजिलसँग जस्तो केही पनि गुण थिएन । आयोजकको आत्मविश्वासले सीमा नाघेको थियो र ब्राजिलले हार्ने कसैले कल्पनासमेत गरेका थिएनन् । बहुप्रतिक्षित खेल सुरु भएपछि उरुग्वेको डिफेन्सले ब्राजिली टिमलाई पहिलो हाफमा कुनै मौका नै दिएनन् ।
दोस्रो हाफको सुरुमै फ्रियान्काको गोलबाट ब्राजिलले अग्रता लियो यस्तोमा उनीहरुलाई उपाधी उचाल्न अब गोल नखाएमात्रै पनि पु्ग्थ्यो । राउन्ड रोबिन लिगमा खेलाइएको उक्त विश्वकपको फाइनलमा ब्राजिल जितको नजिक पुगिसकेको थियो । यत्तिकैमा उरुग्वेका जुआन अल्बर्टो स्काफिनोले बराबरी गोल फर्कार्एपछि उरुग्वेको क्षितिजमा आशाको त्यान्द्रो पलायो । ब्राजिललाई भने यसले केही पनि फरक पारेन किनभने यसअघि पनि ब्राजिलले एक गोल खाएपछि झनै तीन चार गोल थपेर जित्ने गरेको थियो ।
त्यसैलै उरुग्वेको बराबरी गोलपछि पनि ब्राजिलको जीतमा कसैले पनि शंका गरेको थिएन । तर, अलसाइडिस घिगियाले उरुग्वेको लागि दोस्रो गोल गरेपछि भने बल्ल सबै झस्याङ्ग भए । ‘जब उरुग्वेले दोस्रो गोल र्गयो त्यसपछि माराकाना रंगशालामा सन्नाटा छायो,’ ब्राजिलका उक्त विश्वकपका उच्च गोलकर्ता अडेमिरले त्यो क्षणलाई सम्झिँदै भने, ‘यो कल्पना गर्न पनि गाह्रो हुन्छ तर, त्यही भएको थियो ।’ माराकानामा त्यो दिन फाइनल खेल हेर्न करिब दुईलाख दर्शक आएका थिए । विश्वकपको एकै खेल प्रत्यक्ष हेर्न धेरै दर्शक आएको कीर्तिमान यही खेलको नाममा छ ।

तर अलसाइडिस घिगियाले उरुग्वेको लागि दोस्रो गोल गरेपछि भने बल्ल सबै झस्याङ्ग भए । ‘जब उरुग्वेले दोस्रो गोल र्गयो त्यसपछि माराकाना रंगशालामा सन्नाटा छायो ।’

उरुग्वेले दोस्रो गोल गरेपछि घरेलु मैदानमा सबै दर्शक स्तब्ध भए र खेलाडीको पनि त्यस्तै हालत थियो । खेल सकिन अझै १० मिनेट बाँकी थियो तर, ब्राजिली खेलाडीहरुले गोल थप्न सकेनन् र उरुग्वेले जित्यो । कसैले नचिताएको कुरा भयो । ब्राजिलीहरुले देखेको सपना एकैक्षणमा चकनाचुर भयो । ब्राजिललाई आफ्नै घरमा नराम्रो हार चखाउँदै उरुग्वेले उपाधी चुम्यो । बेलायती रेफ्री जर्ज रिडरले अन्तिम सिठ्ठी बजाएको लामो समयसम्म पनि दुवै पक्षका खेलाडीहरु मैदानमै बसिरहे ।
ब्राजिली खेलाडीहरु आफ्नो असफलताबाट निराश थिए भने उरुग्वेका खेलाडीहरुलाई भने ब्राजिललाई हराएर विश्वविजेता बनेकोमा विश्वास नै थिएन । उरुग्वेका खेलाडी रंगशालामा केहीबेर अघिसम्मको उल्लासपूर्ण वातावरणलाई स्तब्ध बनाएकोमा ग्लानी महसुस गरेको जस्तो देखिन्थे । त्यहाँ कसैको मृत्युमा जस्तै सन्नाटा छाएको थियो । त्यसपछि मैदानमा सबैले आँशु बगाउन थाले, उरुग्वेका खेलाडीको आँशु खुसीको थियो भने ब्राजिलका खेलाडीहरुको दुःखको आँशु । त्यस दिनलाई ब्राजिलको राष्ट्रिय विपत्ती मानियो ।
कसैले पनि आजसम्म त्यो दिन बिर्संदैनन् । त्यसलाई माकारान्जो भनिन्छ जसको अर्थ हुन्छ, ‘माकारानाको हार ।’ त्यसपछि विश्वकप १९५० को फाइनललाई नै यही नामले चिनिन थालियो । यो हार यति भयानक र दर्दनाक थियो कि लाखौं ब्राजिलीहरुले आफ्नो आँखै अगाडि सबै सपना चकनाचुर भएको देखे । धेरैले यसलाई ब्राजिलको गौरवपूर्ण फुटबल इतिहासको कालो दिनको रुपमा लिए ।

नयाँ पुस्तामा दोहोरिएको त्यो दिन
माकारान्जाको ठीक ६४ वर्षपछि ब्राजिलको नयाँ पुस्ताले भरिएको एक प्रतिभाशाली टिम घरेलु मैदानमा विश्वकपको सेमिफाइनसम्म आइपुग्यो । करोडौं ब्राजिलीहरुले फेरि एकपटक ब्राजिल विश्व विजेता भएको सपना देखे । तर, यसपटक भने जर्मनीले माराकानामा लागेर निको भइसकेको पुरानो घाउलाई बेलो होरिजोन्टेको शहरको इस्टेडियो मिनेराओ रंगशालामा फेरि बल्झाइदियो ।
सन् १९५० मा ब्राजिलले विश्वकप फाइनल हारे पनि सन् १९५८, १९६२ र १९७० मा गरी तीनपटक विश्वकप जितेर जुलेस रिमेट ट्रफी जित्यो । त्यसपछि १९९४ र २००२ मा फेरि विश्वकप जितेर पाँचपटक विश्वकप जित्ने कीर्तिमान राख्यो । सन् १९५० पछि ब्राजिलले सन् १९९४ र २००६ मा विश्वकप आयोजना गर्ने प्रयास गरेको थियो तर पाएन । पछि सन् २०१४ मा भने विश्वकप आयोजना गर्न ब्राजिल सफल भयो ।

ब्राजिलको जितपछि ब्राजिली समर्थकहरु परम्परागत साम्बा नृत्य गर्दै जीतको खुसीयाली मनाउन थाले । सेमिफाइनलमा ब्राजिलको भेट जर्मनीसँग हुने भयो । जोचिम लोको प्रशिक्षकत्वमा रहेको जर्मनी उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको थियो ।

साओपाउलोमा विश्वकपको भब्य उद्घाटन गर्दै ब्राजिलले क्रोएसियासँग उद्घाटन खेल खेल्यो र ३–१ ले विजयी भयो । त्यसपछि मेक्सिकोसँग गोलविहीन बराबरी खेलेको ब्राजिलले समूहको अन्तिम खेलमा क्यामरुनमाथि ४–१ को जीत हात निकाल्यो । प्रतियोगितामा नेइमारले उत्कृष्ट प्रदर्शन गरे । समूह विजेता हुँदै नकआउट चरणमा उसले चिलीलाई टाइब्रेकरमा हराएर क्वार्टरफाइनलमा पुग्यो । जेम्स रोड्रिगेजको उत्कृष्ट प्रदर्शनको मद्दतले क्वार्टरफाइनलमा आइपुगेको कोलम्बियासँग ब्राजिलको भेट भयो ।
धेरै नै नाटकीय उक्त खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हरायो । ब्राजिलको जितपछि ब्राजिली समर्थकहरु परम्परागत साम्बा नृत्य गर्दै जीतको खुसीयाली मनाउन थाले । सेमिफाइनलमा ब्राजिलको भेट जर्मनीसँग हुने भयो । जोचिम लोको प्रशिक्षकत्वमा रहेको जर्मनी उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको थियो । विश्वकप नै जित्ने आश गरेको ब्राजिललाई दुई मुख्य खेलाडीहरुको अनुपस्थितिले अलि गाह्रो बनाएको थियो ।
क्याप्टेन थियागो सिल्भाले दोहोरो पहेँलो कार्डको कारण त्यस खेल गुमाएका थिए भने कोलम्बियाका जुआन जुनिगाले लडाइदिएपछि घाइते भएका नेइमार अस्पतालमा थिए । उनीहरुको अनुपस्थितिमा पनि धेरैले ब्राजिललाई आफ्नो गृहमैदानको फाइदा हुने र सहजै जर्मनीलाई हराउने विश्वास गरेका थिए । जर्मनी र ब्राजिलको विश्वकपमा दुईपटक मात्रै भेट भएको थियो । जसमा सन् २००२ को विश्वकप फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले हराएर विश्वकप जितेको थियो ।
सेमिफाइनलमा २६ मिनेट समय बितेको थियो । क्यामेराले मैदानबाट समर्थकहरुतिर घुम्दै ब्राजिलकी एक युवतीलाई देखायो । उनको पहेँलो र हरियो रंगमा ब्राजिलको झण्डाको चिहृन पोतिएको गालाभरी आँशु थियो । के भइरहेको छ भनेर उनले पत्याउनै सकेकी थिइनन् र भावविहृवल भएकी थिइन् । आफ्नो लाज छोप्न उनले आफ्नो हात अनुहारमा ल्याएकी थिइन् र एक युवकले उनलाई सम्झाउने प्रयास गरिरहेका थिए । भावविहृवल ब्राजिली दर्शकहरुको आवाजले गर्दा इजोनाथन पियर्सको कमेन्ट्री राम्रोसँग सुनिएको थिएन ।

‘ब्राजिल अपमानित भएको छ, जर्मनीले उनीहरुलाई नराम्ररी ध्वस्त बनाइदिएको छ’ जर्मनीको चौंथो गोलको रिप्ले हुँदै गर्दा उनी भनिरहेका थिए । ब्राजिलले किकअफ गरेपछि फेरि जर्मनले बल खोसेर अगाडि लगे ‘खेडिरा, ओजिल, खेडिरा‘ पाँच शुन्य !’ पियर्सले भने, ‘पाँच शून्य ! ठू्लो अपमान !’

‘ब्राजिल अपमानित भएको छ, जर्मनीले उनीहरुलाई नराम्ररी ध्वस्त बनाइदिएको छ’ जर्मनीको चौंथो गोलको रिप्ले हुँदै गर्दा उनी भनिरहेका थिए । ब्राजिलले किकअफ गरेपछि फेरि जर्मनले बल खोसेर अगाडि लगे ‘खेडिरा, ओजिल, खेडिरा‘ पाँच शुन्य !’ पियर्सले भने, ‘पाँच शून्य ! ठू्लो अपमान !’ थोमस मुलरको ११ औं मिनेटको पहिलो गोल पछि केहीबेर खेल तनावपूर्ण भयो र ब्राजिलले आफ्नो आक्रमण बढायो । तर, २३ मिनेटदेखि २९ मिनेटबीच ६ मिनेटमै जर्मनीले ब्राजिललाई केही पनि बाँकी नरहने गरी ध्वस्त बनाइदियो ।
मिरोस्लाभ क्लोजले दोस्रो गोल गरे र विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखे । त्यसपछि टोनी क्रुसले दुईगोल थपे भने खेडिराले गोल गर्दै पाँच गोल बनाए । ब्राजिलले माराकानामा रंगशालामा १९५० मा उरुग्वेसँग लज्जास्पद हार बेहोर्दाझैं स्टुडियो मिनेराओ रंगशालामा पनि सन्नाटा छायो । २९ मिनेटमै जर्मनीले ५–० को अग्रता कायम गरेको थियो र दोस्रो हाफ खेल्नुको कुनै औचित्य नै थिएन । सुन्दर शहरको निलो आकाश कालो बादलले ढाके जस्तो भयो । दोस्रो हाफ सुरु भएपछि लुइज फिलिप स्कोलारीको टिमले केही सुन्दर आक्रमणहरु गरे पनि ब्राजिलले जीत हासिल गर्ने कुरा असम्भव जस्तै देखिन थालेको थियो ।
जर्मनीको गोलरक्षक म्यानुयल नोयरले उत्कृष्ट बचाउ गरिरहेका थिए यस्तैमा ब्राजिलको दुःखमा झनै पीडा थप्न जर्मनीको बेन्चबाट आन्द्रे सरल आइपुगे । उनले दुई गोल गर्दै ७–० को स्थितिमा खेल लगे । अन्तिम समयतिर ओस्कारले ब्राजिलको लागि सान्त्वना गोल फर्काए तर गोलको खुसीयाली मनाएनन् । पोस्टम्याच अन्तवार्तामा जर्मनीका क्याप्टेन फिलिप लामले आफ्नो प्रसिद्ध जीतलाई ‘त्यति खुसीयालीपूर्ण’ नभएको बताए । उनी र उनका साथीहरु आफ्नो जीत मनाउन भन्दा पनि हारको पीडामा आँशु चुहाइरहेका ब्राजिली खेलाडीहरुलाई सम्झाउन थाले ।
भोलिपल्ट ब्राजिलबाट निस्कने अखबार गजेट डो पोभोको हेडलाइन ‘हारमाथिको हार’ थियो भने इस्टाडो डे मिनासले ‘ब्राजिली फुटबलमा सबैभन्दा ठूलो अपमान’ लेखेको थियो । उक्त खेलपछि जर्मनीले फाइनलमा अर्जेन्टिनालाई जित्दै विश्वकप उपाधि जित्यो भने ब्राजिलले तेस्रो स्थानको लागि भएको खेलसमेत नेदरल्याण्डसँग हार्यो । यो हारले ब्राजिली फुटबल समर्थकहरुलाई धेरै भयानक पीडा दियो । यसलाई सन् १९५० को माकारान्जोसँग तुलना गरियो र खेल भएको रंगशाला स्टेडियो मिनेराओको नामबाट मिनेराको भन्न थालियो जसको अर्थ ‘राष्ट्रिय लज्जा’ हुन्छ ।

सन् १९५० र २०१४ मा आफ्नै भूमिमा भएको दर्दनाक हारले उनीहरुलाई अझै पनि झक्झक्याउँछ । घरेलु समर्थकको अगाडि नराम्ररी भएको अपमानको दाग ब्राजिलले अझै पनि बोकिरहेको छ ।

फुटबललाई लिएर भन्ने गरिन्छ, ‘अंग्रेजहरुले आविश्कार गरे र ब्राजिलियनहरुले यसलाई पूर्णता थिए ।’ धेरै समयसम्म सुन्दर खेल र आफ्नै शैलीको कारण फुटबलको दुनियामा राज गरेको ब्राजिलको लागि यो ठूलो अपमानको विषय थियो । ब्राजिलले यसअघि एकै खेलमा सात गोल खाएको थिएन भने घरेलु मैदानमा यति निरिह भएर हारेको थिएन । उनीहरुको जर्सीमा अंकित पाँच ताराले उनीहरुले जितेको विश्वकपको संख्या साथसाथै उनीहरुको सफलताको बारेमा सबैलाई जानकारी दिन्छ ।
तर, सन् १९५० र २०१४ मा आफ्नै भूमिमा भएको दर्दनाक हारले उनीहरुलाई अझै पनि झक्झक्याउँछ । घरेलु समर्थकको अगाडि नराम्ररी भएको अपमानको दाग ब्राजिलले अझै पनि बोकिरहेको छ । र, यी दुवै खेलमा पहेँलो र हरियो जर्सी लगाएका खेलाडीले देखाउने सुन्दर खेल कौशलको अभाव भएको थियो । (फुटबल टाइम्समा रहेको विल सार्पको लेखको भावानुवाद)