Loading... आजः ९ कार्तिक २०७७, आइतवार

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी


राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १७ असार । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उनको आम्दानी तीन गुणाले बढेको हो ।
आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताए ।
‘परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो,’ उनले भने, ‘चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो । चिपवड प्रविधिबाट उखुखेती गर्दा प्रतिबिगाह दुई हजार क्विण्टल उत्पादन हुन थालेको छ ।’
परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगाह १०० क्विण्टल बीउ बढी लाग्ने गर्दछ । आधुनिक तरिकाबाट नर्सरीमा तयार गरिएको उखुका बिरुवा रोप्दा प्रतिबिगाह तीन क्विण्टल मात्रै लाग्ने गर्छ । तर परम्परागत तरिकाबाट उखु रोप्दा प्रतिबिगाह चार क्विण्टल लाग्ने गरेको वडायकले बताए । नर्सरीमा तयार गरिएका बिरुवा प्रतिबिगाह एक हजार ३०० देखि एक हजार ६०० सम्म लाग्ने गरेको उनले जानकारी दिए ।
चिपवड प्रविधिमा उखुको आँखला मेशिनको सहायताले निकाली पोलिथिन ब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ । इन्टरनेटको माध्यमबाट भिडियोमा हेरेर आफूले उखु लगाउने यो आधुनिक तरिका सिँके, वडायकले भने, ‘चार वर्षअघि पहिलो पटक उखुका आँखा निकालेर बिरुवा तयार गरी उखुको नर्सरी तयार गर्न थालेपछि घरकै परिवारले नै विश्वास गरेनन्, खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गर्न थाले तर गालीको प्रवाह नगरी आफूले नर्सरीमा बिरुवा तयार पारेर खेतमा रोपेरै छाडे ।’
पहिलो पटक परीक्षणका रुपमा दुई कठ्ठा क्षेत्रफलमा आधुनिक तरिकाले उखुखेती गर्दा उत्पादन ११० क्विण्टल बढी भयो, खुसी हुँदै उनले भने, ‘थोरै जग्गामा यति बढी उत्पादन भएपछि अहिले चार बिगाह क्षेत्रफलमा यो प्रविधिबाट उखुखेती गरेका छौं ।’ स्वस्फुर्तरुपमा उखुखेती गरी उत्पादन बढाएपछि नगरपालिकाको कृषि शाखाले उनलाई सिँचाइका लागि बोरिङ, स्प्रे मेशिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेशिन अनुदानमा उपलब्ध गराएको छ ।
विद्युतीय र डिजल इञ्जनबाट सिँचाइ गर्दा बढी लागत आउन थालेपछि सिँचाइका लागि उनले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीसमेत जडान गरेको छ । उखु खेतीलाई रोग किराबाट जोगाउनका लागि एकै पटक ट्र्याक्टरको सहायताले खेतमा स्प्रे गर्नका लागि भारतबाट मेशिनसमेत उनले भित्र्याएका छन् । उखुको बीउमा लाग्ने रकम जोगाएर रु दुई लाख खर्च गरी मेशिन खरिद गरिएको वडायकले बताए ।
प्रविधिमा आधारित भएर खेती गर्नोस् उनी भन्नुहुन्छ, ‘नोक्सान हँुदैन, आम्दानी बढ्छ ।’ वडायक सिर्जनशील किसान भएकाले उनको अनुशरण गर्दै अन्य किसानसमेत उखु उत्पादन बढाउने कार्यमा लागेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । उखुसँगै वडायकले मौसमी बेमौसमी तरकारीखेती गरेरसमेत आम्दानी लिँदै आएका छन् । उनी यस वर्ष उत्कृष्ट किसानका रुपमा छनोटमा परी पुरस्कारका लागिसमेत चयन भएका छन् । रासस