Loading... आजः ९ कार्तिक २०७७, आइतवार

चौकुनेमा चार वर्षपछि फेरि फर्कियो छाउपडी प्रथा

चौकुनेमा चार वर्षपछि फेरि फर्कियो छाउपडी प्रथा
सुर्खेतको चौकुनेमा पर्ने भावरस्थित स्थानीयको घरनजिक रहेको छाउगोठ ।
सुर्खेतको चौकुनेमा पर्ने भावरस्थित स्थानीयको घरनजिक रहेको छाउगोठ ।

सुर्खेत १२ असार । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका पूर्णरूपमा छाउपडी गोठमुक्त घोषणा भैसकेको क्षेत्र हो । संघीय संरचनापछि चौकुने गाउँपालिकाभित्र साविकका गुटु, घाटगाउँ, लगाम, वेतान र बिजौरा गाविसहरू पर्दछन् ।
२०७१ सालमा गाविसस्तरीय छाउपडी उन्मुलन समितिको अगुवाइमा ती सबै गाविसहरू छाउपडी गोठमुक्त घोषणा भएका हुन् । २०७१ साल चैत १० गते बृहत औपचारिक कार्यक्रमको आयोजना गरी गुटु गाविसलाई छाउपडी गोठमुक्त भएको घोषणा गरियो । त्यसअघि गुटु गाविसभित्र रहेका १९३ छाउगोठहरू स्थानीय र सरोकारवालाहरूको अगुवाइमा भत्काइएको थियो ।
घरका महिला सदस्य महिनावारी हुँदा घरबाहिर असुरक्षित रूपमा बस्नुभन्दा सरसफाइ गरेर घरभित्रै बस्ने सहमतिका साथ छाउगोठहरू भत्काउन समेत स्थानीयले सरोकारवालहरूको अभियानलाई साथ दिएका थिए । तर, पछिल्लो समय सोही ठाउँका प्राय घरहरूमा पुनः छाउगोठ निर्माण गरिएका छन् ।
सुर्खेतका केही ठाउँहरूका साथै कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा छाउपडी प्रथा व्याप्त छ । घरका महिला सदस्यहरू महिनावारी हुँदा कम्तिमा पाँच दिनसम्म घरभन्दा अलग्गै रहेको असुरक्षित छाउगोठ वा अन्यत्र कतै राख्ने चलन छ ।
चौकुने गाउँपालिका–६, भावरकी अनिता शर्माको माइती घर वडा नं. ८ मा हो । उनी माइतीमा महिनावारी हुँदा घरभन्दा अलग बस्नु पर्थेन । तर आफ्नो घरमा अहिले महिनावारी हुँदा पाँच दिनसम्म घरभन्दा अलग बस्नुपर्छ । ‘म विवाह गरी आएको तीन वर्ष जति भयो, विवाह गरे यता महिनावारी हुँदा घरभन्दा अलग बस्छु,’ अनिताले भनिन्, ‘मेरो माइती र घर लगभग नजिकै हो तर यहाँ र त्यहाँमा यति फरक छ ।’
महिनावारी हुँदा छाउगोठमा बस्दा थुप्रै समस्या खेप्नुपरेको उनी बताउँछिन् । ‘एक त शारीरिक रूपमा निकै पीडा भैरहेको हुन्छ, त्यहीमाथि विभिन्न खाने कुरा बारेर छाउगोठमा एक्लै सुत्नुपर्छ,’ उनले भनिन्, ‘यो समाजको नियम हो हामी छोरीचेलीले नमानी सुखै छैन ।’ छाउगोठमा बस्दै आएका किशोरी तथा महिलाहरूलाई छाउगोठमा बस्नुहुँदैन भन्ने जानकारी नभएको भने होइन ।
तर, महिनावारी हुँदा पनि घरमै बसेमा देउताले गाह्रो पार्छन् भन्ने मानसिकता उनीहरूमा स्थापित भएको छ । घर, समाजका अगुवाहरूले नै देउताले महिनावारीलाई घरमा बस्न दिँदैनन् भनेर भत्काइएका छाउगोठहरू पनि पुनः निर्माण गराएका हुन् । स्थानीय लक्ष्मीदेवी उपाध्याय आफू किशोरावस्थामा महिनावारी हुँदा बर्खामा छाता ओढेर ढुंगामा रात बिताएको सम्झन्छिन् ।
‘पहिलेदेखिको परम्परा हो यो, म आफैँ छुइँ हुँदा त्यतिबेला गोठ पनि थिएनन् बाहिर छाता ओढेर ५ दिन ढुंगामा बिताएकी छु,’ लक्ष्मीदेवीले भनिन्, ‘देवी देवताले गाह्रो पार्छन् त के गर्नु ?’ चेतनास्तरको विकास नहुँदा छाउपडीजस्तो कुप्रथा अन्त्य गर्न मुस्किल परेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
‘गाउँका पहिले गोठहरू भत्काएकै हो, तर अहिले भत्काएको सबै ठाउँमा गोठ भैसके,’ चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘यो कुप्रथा अन्त्य गर्न चेतनास्तरमा स्थानीयलाई अब्बल बनाउनुपर्छ, त्यसका लागि केही समय लाग्छ नै ।’ समाजका सबैमा चेतनाको स्तर नबढेसम्म यो कुप्रथा अन्त्य गर्न सरकारी नीतिले मात्र नसकिने उनको भनाइ छ ।
छाउपडी अन्त्य गर्न सरोकारवालाहरूसँग समन्वय गरी सचेतनामूलक अभियानहरू सञ्चालन गर्न स्थानीय सरकार लाग्ने समेत अध्यक्ष शाहीले बताए । समाजमा रहेको छाउपडी प्रथा अन्त्य गर्न सबैको साथ आवश्यक रहेको चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला राना बताउँछिन् । समाजमा रहने नागरिकहरूमा एकैखालको बुझाई नहुँदा छाउपडी व्याप्त रहेको उनको भनाइ छ ।