Loading... आजः ९ कार्तिक २०७७, आइतवार

दिलबहादुर गन्धर्व सारङ्गी रेट्दै भन्छन्, ‘सारंगी रेटेर गाउँदै हिँडेको, गाउँ सहर मितेरी लाउँदै हिँडेको’

दिलबहादुर गन्धर्व सारङ्गी रेट्दै भन्छन्, ‘सारंगी रेटेर गाउँदै हिँडेको, गाउँ सहर मितेरी लाउँदै हिँडेको’


काशीराम शर्मा । बाँके । बाँके जिल्लाको कोहलपुरका दिलबहादुर गन्धर्व ‘गायक’ जब सारङ्गी रेटेर गीत गाउन सुरु गर्छन्, सुन्नेहरुको आङ्ग नै सिरिङ्ग हुन्छ । उनी छाक टार्नका लागि होइन, लोकबाजा सारङ्गीसँगै गन्धर्वको पेशा नै लोप हुन थालेपछि त्यसको संरक्षणमा राष्ट्रप्रेमले भरिएका गीत गाउँदै हिँड्छन् । लोकबाजा सारङ्गीलाई बचाउन आफूले मेची–महाकाली अभियान थालेको उनी बताउँछन् ।

सारंगी रेटेर गाउँदै हिँडेको
गाउँ सहर मितेरी लाउँदै हिँडेको

‘एउटा विदेशी गितार बोकेर सडकमा हिँड्दा म्युजिसियन आयो भन्छन् भने एउटा गन्धर्व सारङ्गी बोकेर हिँड्दा माग्न आयो भन्छन् । यसले पनि नयाँ पुस्तामा सारङ्गी मोह हराउँदै गएको छ ।’

दिलबहादुर गन्धर्वले आफ्नो उपनाम नै ‘गायक’ राखेका छन् । साँच्चै उनी कुनै चर्चित गायककारभन्दा कम छैनन् । उनी सारङ्गी रेटेर ५२ वटा जिल्ला पुगिसकेका छन् । ५२ वटा जिल्लाका गाउँ सहरसँग मितेरी लाइसकेका छन् । उनी भन्छन्, ‘मैले ५२ वटा जिल्लासँग मितेरी लाइसके । लोक बाजा सारङ्गी लोप हुन थालेको सन्देश बोकेर गाउँ सहर छिर्ने गरेको छु ।’

त्यसो त उनी छाक टार्नका लागि नभई सारङ्गी बाजा र गन्धर्वको पेशा संरक्षणका लागि हिँडेको बताउँदै भन्छन्, ‘मैले आफ्नो पेट पाल्नका लागि नभई आफ्नो संस्कृति र मौलिकता बचाउनका लागि अभियानमा हिँडेको हुँ । तर कसैले अभियानलाई सघाउन सहयोग गर्नुभयो भने त्यसलाई स्वीकार गर्ने गरेको छु ।’

 सम्पत्तिको नाममा हाम्रो यही सारंगी बाजा
बज्नै छाड्यो भन्छन् सबैले गाउँघरमा आज

साँच्चिकै गन्धर्वको सम्पत्ति नै सारङ्गी हो । सारङ्गीले नै गन्धर्वको दैनिकी व्यतित हुन्थ्यो । तर नयाँ पुस्ताले यो पेशाप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको छ । दिलबहादुर भन्छन्, ‘नयाँ पुस्ताले पेशा छोडिसक्यो । सामाजिकरुपमै गन्धर्वलाई तिरस्कार गरिन्छ । त्यसैले पनि नयाँ पुस्ता यो पेशाभन्दा टाढा रहन खोज्यो ।’
दिलबहादुरले भनेजस्तै सामाजिक रुपमा गन्धर्वलाई हेप्ने गरिन्छ । उनी भन्छन्, ‘एउटा विदेशी गितार बोकेर सडकमा हिँड्दा म्युजिसियन आयो भन्छन् भने एउटा गन्धर्व सारङ्गी बोकेर हिँड्दा माग्न आयो भन्छन् । यसले पनि नयाँ पुस्तामा सारङ्गी मोह हराउँदै गएको छ ।’ उनले पछिल्लो पुस्ताले यसलाई बजाउने त के हेर्ने पनि छोडेको दिलबहादुरले बताए ।

हिमाल पहाड तराई मधेस सन्देशको माध्यम भई
हर घटना सुनाइ दिन्थ्यौं गाउँका घरघर गई

पुरानो लोक मौलिक सारङ्गी बाजा कुनै बेला एउटा गाउँको खबर अर्को गाउँमा त एउटा जिल्लाको खबर अर्को जिल्लामा पुर्याउने माध्यमका रुपमा थियो । जतिबेला रेडियो नेपालको समेत स्थापना भएको थिएन । एक गाउँको खबर अर्को गाउँमा पुग्न सारङ्गी बोकेर गन्धर्व नै चाहिन्थ्यो । दिलबहादुर भन्छन्, ‘गाउँमा विद्यालय थिएनन्, रेडियो नेपाल थिएन, पत्रकारजस्तै गाउँगाउँमा खबर पर्याउन गन्धर्वहरु चाहिन्थे ।’

‘गाउँमा विद्यालय थिएनन्, रेडियो नेपाल थिएन, पत्रकारजस्तै गाउँगाउँमा खबर पर्याउन गन्धर्वहरु चाहिन्थे ।’

सारङ्गी बोकेर एउटा गन्धर्व गाउँ छिरेपछि गन्धर्व आए भन्दै गाउँभरिका मानिस भेला भएर सारङ्गीको धुनसँगै गीत सुन्थे । ‘घरघरका घटना, गाउँगाउँका खबर, जिल्ला जिल्लाका समाचार हामीलाई थाहा हुन्थ्यो,’ दिलबहादुर भन्छन्, ‘हामीले आफ्नो स्थायी बसोबासको समेत ख्याल नगरेर समाचार पुर्याउने माध्यम बन्यौं । तर अहिले हामीले न स्थायी बसोबास पाएका छौं न त राज्यबाट कुनै सम्मान नै पाएका छौं ।’
विद्यालय तहमै यसको अध्ययन गराउन सकियो भने पनि यसप्रति गन्धर्व मात्रै होइन अन्य समुदायका विद्यार्थीले पनि यो बाजा सिक्ने अवसर पाउनेछन् र यसको संरक्षणमा थप टेवा पुग्नेछ । यसले रोजगारी समेत सिर्जना गर्नेछ । यसका लागि प्रदेशका मन्त्री एवं मुख्यमन्त्री र संघका मन्त्री एवं प्रधानमन्त्रीसँग पनि भेट्ने योजना बनाएको दिलबहादुर बताउँछन् । ‘हामी सहयोग माग्नका लागि नभई सारङ्गीको संरक्षणका लागि पहल गरिदिन मन्त्री ज्यूहरुलाई आग्रह गर्नेछौं,’ दिलबहादुरले भने ।

राष्ट्रका कथा व्यथा गन्धर्वले गाउने
नेपाली भई नेपालमा बस्ने ठाउँ नपाउने

राज्यका सबै कथा र व्यथा गन्धर्वले थाहा पाइरहेका हुन्छन् । तिनै कथा व्यथालाई समेटेर उनीहरु लयवद्व गरी गीत गाउँछन् । राज्यका सबैखाले सूचनामा निरन्तर जानकार भइरहन्छन् र राज्यलाई पीडा पर्दा उनीहरु सान्त्वना दिँदै गीत गाउँछन् । तर राज्यले भने उनीहरुलाई अहिलेसम्म स्थायी बासको व्यवस्था गरेको छैन । ‘तपाईहरुले राम्रो गीत गाउनुभो, हामी बस्ने बासको व्यवस्था गर्छौ भन्ने आश्वासन नेताहरुले दिइरहन्छन् । तर समस्या अहिलेसम्म ज्युँ का त्युँ छन्,’ दिलबहादुरले भने ।

‘हामी सारङ्गीमै रुन्छौं, सारङ्गीमै अरुलाई रुवाउँछौं । हामीलाई आफ्नो गास, बास र कपासको वास्ता भएन । तर हामीलाई राज्यले केही दिएन ।’

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको छ । यसले पनि गन्धर्वहरुको पेशालाई किनारा लगाउने चेष्टा गरिरहेको छ । कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउँदै आफ्नो पेशासँगै मौलिक लोक बाजा सारङ्गीको संरक्षण अभियानमा जुटिरहेका छन् ।
‘बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व निरन्तर घटिरहेका छन्,’ दिलबहादुरले भने, ‘देशभर करिब ४० जनाजति मौ गन्धर्वहरु छौं । जो संरक्षणको अभियानमा निरन्तर लागिरहेका छौं ।’
गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेको उनी बताउँछन् । लोक बाजाको संरक्षण र सम्वद्र्धनका लागि प्रदेशमा कम्तीमा एउटा संग्रहालय बनाउनुपर्छ भन्ने गन्धर्वहरुको माग छ । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको सिको गर्दै नेपालीहरुले आफ्नो संस्कृति र परम्परा बिर्सन लागेको भन्दै दिलबहादुरले दुखसमेत प्रकट गरे ।

न बर्षातको चिन्ता, न उकाली ओरालीको सुर्ता, बस उनीहरु सबैखाले अफ्ठ्याराहरु पार गर्दै देशका कथा र व्यथा सुनाउन गन्धर्वहरु कहिले वल्लो गाउँ त कहिले पल्लो गाउँ चाहरिरहे ।

गन्धर्वको जीवन अनौठो र आश्चार्यपूर्ण छ । उनीहरुको जीवन वास्तवमै सारङ्गीमै रुन्छ । गन्धर्वहरु सारङ्गीमा रुन्छन् र अरुलाई रुवाउँछन् । सधैं सारङ्गीमै रुने गन्धर्वहरुले आफ्नो स्थायी बास, गास र कपासको कहिल्यै वास्ता गरेनन् । ‘हामी सारङ्गीमै रुन्छौं, सारङ्गीमै अरुलाई रुवाउँछौं । हामीलाई आफ्नो गास, बास र कपासको वास्ता भएन । तर हामीलाई राज्यले केही दिएन,’ दिलबहादुर भन्छन् ।

गन्धर्वको जीवन कथा सारंगीमै रुन्छ
भोको पेट नाङ्गो छाती कहिले पुरा हुन्छ

भोको पेटलाई अघि लगाउँदै गाउँगाउँका घटना सुनाउँदै गन्धर्वहरु हिडिरहे । न बर्षातको चिन्ता, न उकाली ओरालीको सुर्ता, बस उनीहरु सबैखाले अफ्ठ्याराहरु पार गर्दै देशका कथा र व्यथा सुनाउन गन्धर्वहरु कहिले वल्लो गाउँ त कहिले पल्लो गाउँ चाहरिरहे । उनीहरुले शिक्षा लिनुपर्छ भन्ने हेक्का पनि राखेनन् । उनीहरुको शिक्षा भनेकै सारङ्गी रेटेर देशका कथा व्यथा सुनाउनु थियो । भोको पेट र नाङ्गो छातीमै रमाउन सके गन्धर्वहरु ।

अशिक्षा र बेरोजगारले पार्नु असर पार्यो
यो देशको कानूनले सधैं हामलाई मार्यो

‘गन्धर्वहरुले सारंगी रेटेर सुमधुर भाकामा यो कर्णप्रिय गीत गाइरहँदा वातावरण नै संगीतमय बन्थ्यो । अहिले भने ती सब हराउन थाले,’ दिलबहादुरले भने, ‘सारंगी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, झ्याम्टा आदी हाम्रा लोकबाजाहरु हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बासुरीको धुनमा रमाउन खोजिरहेका छन् । दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदैछ त्यसैले सरकारले लोकबाजाको संरक्षणका लागि विशेष पहल गर्नुपर्छ ।’
न व्याट्री लाग्छ न चार्चर चाहिन्छ लोक बाजाका धेरै गुणहरु छन् । त्यसमा पनि सारंगीको धुनले अझ मीठास थप्ने दिलबहादुरको भनाइ छ । जनताले चासो गर्दैनन् सरकारले पनि समयमै ध्यान नदिए संस्कृति नै लोप हुने खतरामा रहेको दिलबहादुरले बताए । नेपाली लोकगीत तथा लोक संगीतमा होइन आधुनिकताका नाममा उच्छृंखल गीतहरुमा डिस्को नाचिन्छ । यसो गर्नु पक्कै पनि राम्रो होइन । पश्चिमी मनले नेपालीलाई छोइसकेकाले नेपाली लोकगीत तथा लोक संगीत संरक्षणको अभियानमा जुट्नै पर्ने आवश्यकता देखिन्छ ।