Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

ग्रामीण महिला अल्लो प्रशोधनप्रति आकर्षित

ग्रामीण महिला अल्लो प्रशोधनप्रति आकर्षित

कालीकोट । कुनै जमानामा गाईभैंसीको आहार हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ । यस जिल्लामा महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो ।
शुभकालिका गाउँपालिका– १ छाति (साविकको भर्ता गाविस)मा चार वर्षअघि जनजाति महिलाले सञ्चालन गरेको अल्लो प्रशोधन उद्योगबाट शुरु भएको यो अभियानमा अहिले जिल्लाका विभिन्न क्षेत्रका महिला पनि समाहित हुन थालेका छन् ।
हाल सान्नित्रिवेणीको मुम्रा, नरहरिनाथको कुमालगाउँ, तिलागुफाको चिल्खाया लगायतका क्षेत्रमा अल्लोको कपडा बनाउन महिला सक्रिय भएका छन् । तीन महिनासम्म तालीम सिकेर ती महिलाले अल्लो प्रशोधन गरी कपडा बनाउन थालेका हुन् । जिल्लाको सबैभन्दा बढी अल्लो पाउने नरहरिनाथ गाउँपालिकाको रुप्साका महिला यो सीप सिक्न दत्तचित्त भएर लागेका छन् ।
नरहरिनाथ गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग शाखा कार्यालय कालीकोटको समन्वयमा तीन महिने अल्लो प्रशोधन तालीम पाएका महिला स्वयंले अहिले अल्लोको संरक्षण गर्छन् । सीप सिकेर आफ्नो खुट्टामा उभिनसक्ने भएको बताउने कुमालगाउँ निवासी मयसरा बुढाले अहिले अल्लो लोप हुने क्रममा रहेकाले यस बारेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । तालीममा सहभागी भएका थुप्रै महिलाले अहिले उद्योग सञ्चालनमा ल्याएका छन् ।
पाल्पाबाट अल्लो प्रशोधनको तालीम दिन केही मानिस गाउँमा आउँदा के नै फाइदा होला र भनेर बेवास्ता गरेका शुभकालिका गाउँपालिका–१ निवासी पानसरा रोकामगरले आफूले उत्पादन गरेको अल्लोको कपडा जिल्ला बाहिर बिक्री हुने गरेकामा सन्तोष मान्छिन् । उनी अल्लोको कपडा उत्पादन गरेर काठमाडौँ लगायतका ठाउँमा बिक्रीका लागि पठाउने गर्छिन् । एकमिटर अल्लोबाट उत्पादित कपडाको रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुने गरेको रोकामगरको भनाइ छ । उनी अहिले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्छिन् ।
अल्लो भनेर हेलाँ गर्नु भन्दा अल्लोको प्रयोगका बारेमा बुझ्नुपर्ने पानसरा रोकामगरको भनाइ छ । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले आफूले सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्छिन् । गाउँपालिकाले चेतना अभिवृद्धिमा भन्दा पनि महिलाका लागि सीप सिकार दक्षता हासिल गर्न दिन योजना तथा बजेटको व्यवस्था गरेको उनी बताउँछिन् ।