Loading... आजः ५ कार्तिक २०७७, बुधबार

सुर्खेत घटना सरकारको ‘जङ्गली शैली’ : प्रवक्ता विश्वप्रकाश

सुर्खेत घटना सरकारको ‘जङ्गली शैली’ : प्रवक्ता विश्वप्रकाश

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिका विरुद्धमा नेपाल विद्यार्थी संघले सुर्खेतमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको आरोपमा जिल्ला पार्टी कार्यालयभित्र प्रवेश गरी धरपकड गरेको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।
आन्दोलन सकेर पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ तथा आक्रमण गरेको भन्दै कांग्रेसले प्रहरीले दमन गरेको आरोप लगाएको छ । बिहीबार नेविसंघ सुर्खेतले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।
शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ‘जङ्गली शैली’ देखाउँदै सुर्खेतमा पार्टी कार्यलयभित्र प्रवेश गरी आक्रमण गरेको बताए । सो क्रममा नेविसंघका केन्द्रीय सदस्य हरि शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केन्द्रीय सदस्य अनिलबहादुर शाही गम्भीर घाइते भएका थिए । आन्दोलनको क्रममा अर्का विद्यार्थी गौतम विसीको दाहिने हात भाँचिएको छ ।
त्यस्तै आन्दोलनको क्रममा मिलन विसी, जयन बुढा पनि घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै प्रहरीले गिरफ्तार गरेको थियो । सुर्खेत घटनापछि प्रहरीले पार्टी कार्यालयभित्र प्रवेश गरि धरपकड गरेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यो कार्य ‘जंगली’ भएको प्रतिक्रिया दिए ।
‘सडक लोकतन्त्रको अभिन्न अंग हो । त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालय भित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो,’ प्रवक्ता शर्माले भने, ‘यस्ता घटनाको प्रतिवादमा सिंहदरबारभित्रै पसेर प्रधानमन्त्रीकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ, सरकार गम्भीर बनोस् ।’