Loading... आजः ५ कार्तिक २०७७, बुधबार

तरकारी खेतीले फेरियो जीवन, गाउँका महिला दंग

तरकारी खेतीले फेरियो जीवन, गाउँका महिला दंग


सुर्खेत (वीरेन्द्रनगर) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर बजारमा तरकारीका डोका राखेर आफ्नो व्यापार सञ्चालन गरिरहेका महिलाको संख्या पनि कम छैन । पिठ्युँमा तरकारीको भारीले शरीरभरी पसिनाले भिजेकी करिब ४० वर्षीया पवित्रा चौधरी थचक्क भारी बिसाइन् । तरकारी किन्नेको भिड पनि कम थिएन ।
वीरेन्द्रनगर धुलियाविटकी पवित्रा भारी भुईंमा राखी सकेपछि चारैतिर हेरिन र भनिन्, ‘यो ज्यानलाई खान नचाहिँदो हो त काम गर्नै पर्दैन्थ्यो होला । हरे शिव अब कति वर्ष हुन् मेरा दुःखका दिन ।’ पवित्राको कुरा सुन्दै ग्राहकहरू तरकारी किन्न थाले । उनी खुशी हुँदै तरकारी तौल्दै ग्राहकलाई दिन थालिन् । पवित्रा विहान आफ्नो घरमा फलेको उत्पादन गरेको तरकारी बिक्रीको लागि सदरमुकाम वीरेन्द्रनगर आउँछिन् ।
बेलुका बिक्री गरेर आएको रुपैयाँबाट छोराछोरी र आफुलाई खानको लागि खाद्यान्न किनेर घर लाने गर्छिन् । यसरी नै जीवन चलेको छ पवित्रा चौधरीको । दुई छोरा र तीन छोरीकी आमा पवित्राले तरकारी खेतीबाट छोराछोरीको पढाई खर्च राम्रैसँग धानेकी छिन् । वर्षभरि लगाएको खेतीले ३ महिना पनि खान नपुग्ने चौधरीको परिवारलाई तरकारी खेतीमा लागेपछि घर परिवारको सम्पूर्ण कामकाज सञ्चालन गर्न सहज भएको बताउछिन् ।
‘तीन वर्षदेखि तरकारी खेती गर्न लागेपछि अहिले तरकारी खेती जीवन जिउने आधार भएको छ,’ उनले भनिन्, ‘वर्षभरि काम गरेर तीन महिना पनि खान पुग्दैन थियो । अहिले सुन्तला खेती गर्न थालेपछि दिनमा ८ सयदेखि १ हजारसम्म कमाई भएको छ । यसले ५ जनाको परिवार पाल्न सजिलो भएको छ ।’ यसरी तरकारी बेचेर आफ्नो जीविकोपार्जन गर्ने महिला सदरमुकामका छिमेकी गाउँहरुका बढी छन् ।
सुर्खेत तथा मध्यपश्चिमको सदरमुकाम वीरेन्द्रनगर बजारको बिच रोडमा तरकारीले रंगिएको डोका राखेर बेचिरहेकी रोशनी विक पनि तरकारी खेती गर्न थालेपछि आफुलाई राहत मिलेको बताउँछिन् । उत्तरगंगा घर भएकी रोशनीले विगत ५ वर्षदेखि तरकारी खेतीलाई निरन्तरता दिंदै आएकी छन् । ‘तरकारी बेचेको पैसाले छोराछोरीका कापी कलम, लुगा कपडा र अन्य खाद्य सामग्री किनेर जीविको चलाउने गरेको छु,’ उनले भनिन् ।

खेतियोग्य जमिन भए पनि सिँचाईको अभावले यहाँका सबैजसो किसानले परम्परागत खेती नै लगाउने भएकाले बर्षभरी खान नपुग्दा उनीहरु फरक पेशामा लाग्ने गरेका छन् ।

तरकारी खेती गर्नुपूर्व सदरमुकाममा आएर भारी बोकेर दिन गुजार्नुपथ्र्यो । तर यो पेसाले आफुहरूको जीवन नै परिर्वतन गरिदिएकोमा उनीहरू साह्रै खुशी भएका छन् । एक घण्टाको पैदल बाटो हिंडेर महिलाहरू सदरमुकाम वीरेन्द्रनगरमा तरकारी पुर्याउँछन् तर उचित बजारीकरण नहुँदा उनीहरू साह्रै मर्कामा परेको गुनासो गर्छन् । परम्परागत खेतीपातीले परिवार पाल्न धौधौ हुने गरेकोले आफुहरू नयाँनयाँ तरिकाबाट तरकारी खेती गर्न लागेको उनीहरूको भनाई छ ।
खेतियोग्य जमिन भए पनि सिँचाईको अभावले यहाँका सबैजसो किसानले परम्परागत खेती नै लगाउने भएकाले बर्षभरी खान नपुग्दा उनीहरु फरक पेशामा लाग्ने गरेका छन् । कुल खेतियोग्य जमिनको ३० प्रतिशत मात्र सिंचाइको व्यवस्था हुने हुँदा सबै कृषकहरूले आकाशे पानीको भरमा बाँच्नु पर्दछ । एकातिर समयमा पानी नपरेपछि खेति लगाउन नपाएर छाक टार्नकै समस्या हुन्छ भने अर्कोतर्फ पुरानै तरिकाबाट खेती गर्ने हुँदा लगानी गरे जति उत्पादन हुँदैन त्यसैले नै पटक पटक अरुको कामका लागि धाउनुपर्छ ।
सिँचाई आभावले जिल्लामा कम उब्जाउ हुने गरेकाले वर्षैपिच्छे खेती लगाउने मान्छेको कमी हुँदै आएको छ । उनीहरू तरकारी खेतितर्फ बढी आकर्षित हुन थालेका छन् । खेती बाहेक अन्य व्यवसाय सञ्चालन गर्नेको संख्यामा वृद्धि भए पनि गुणात्मक परिर्वतन भने खासै देखिंदैन । उनीहरू आफुलाई तालिम लगायत अन्य आधुनिक प्रविधि र ज्ञान सिपको कमी भएको बताउँछन् ।
त्यस्तै अर्की एक जना महिला दुरपता शाही पनि आफ्नो तरकारी खेतीले जीवनस्तरमा परिवर्तन आएको बताउँछिन् । पहिला पहिला हामीलाई केहि पनि थाहा थिएन बारेमा फलेको तरकारी बारीमै कुहिन्थ्यो, आजभोली गाउँगाउँमा संघसंस्थाको विकास भयो उनीहरूको सहयोगबाट फलफुल र तरकारी खेतितर्फ लाग्यौ र यसलाई व्यवसायतर्फ लिन थालेको उनले भनिन् ।
सदरमुकाम वीरेन्द्रनगरमा तरकारी ल्याउनेको संख्यामा बृद्धि भएको छ । आम्दानीको स्रोत दिन प्रतिदिन बढ्दै गएपछि तरकारी ल्याउनेको संख्यामा बृद्धि भएको हो । तरकारी खेतिबाट संकलन गरेको पैसाले महिलाले छोरा छोरीको पढाई र अन्य सरसमान किन्नमा उनीहरू खर्च गर्ने गर्दछन् । अनि आफुले दिनभर कमाएको पैसाको लेखाजोखा गर्दै साँझपख घरतर्फ लाग्न उनीहरुको दैनिकी नै बनेको छ ।