Loading... आजः ९ कार्तिक २०७७, आइतवार

ठेकीको व्यापारले घरमै बसेर आम्दानी

ठेकीको व्यापारले घरमै बसेर आम्दानी


सुर्खेत (छिन्चु) । आफूले बनाएका काठका सामग्रीहरूको माग बढेपछि छिन्चु, चेपाङ बस्तीका नरबहादुर प्रजालाई भ्याइनभ्याइ छ । तीन कठ्ठा पाखोबारीको उब्जनीले जसोतसो परिवारको गुजारा चलाउँदै आएका २७ वर्षीय नरबहादुर अहिले खेतको काम छाडेर ठेकी बनाउन व्यस्त छन् ।
आफूहरूले तयार पारेका काठका सामग्रीको बजार फस्टाएपछि चेपाङ बस्तीका दुई दर्जन घरपरिवारका चेपाङ छोराछोरीलाई स्कुल पढाउनसमेत थालेका छन् । यस गाउँका चेपाङले ठेकी, माना, कुरुवा, पाथी, पुङ, पुचई मात्र नभएर सारंगी, मादल, मुखुन्डोलगायत काठबाट तयार हुने सामग्री बनाउँछन् । उनीहरूले बनाएका काठका कलात्मक सामग्री लिन थोक व्यापारीहरू गाउँमै आउँछन् ।
‘पाखोबारीको उब्जनीले छ महिना हातमुख जोर्न समस्या थियो । काठका सामग्रीले बजार पाएपछि हाम्रो दिन फिरेको छ,’ दुई छोराछोरीका बाबु नरबहादुर प्रजा भन्छन्, ‘अब त छोराछोरी पढाउनसमेत सकिने अवस्था छ । नुनतेलका लागि र चाडवाड मनाउन ऋण खोज्नुपर्दैन ।’ काठका सामाग्रीको बिक्री बढेपछि गाउँका सबै चेपाङ यही व्यवसायमा लागेका छन् ।
मुग्लान भासिएका चेपाङ युवाहरू पनि गाउँ फर्किएर काठको काम गर्न थालेको पाइन्छ । एक वर्ष भारतको कोइलाखानीमा बसेर गाउँ फिर्नासाथ काठको हस्तकला बनाउनतिर लागेका चेपाङ बस्तीका बिनोद प्रजा भन्छन्, ‘काठको कामबाट घरमै बसीबसी पैसा आएको छ । त्यसैले कमाउनका लागि कोइलाखानी जान छाडेको छु ।’
‘काठका सामग्रीको कमाइले वीरेन्द्रनगर बजारमा सानो किराना पसल खोल्ने योजना बनाएको छु,’ आफूले बनाएका काठका सामग्रीहरूबाट मासिक चार हजार रुपियाँसम्म कमाइरहेका मंगले प्रजा भन्छन्, ‘अब छोराछोरीको भविष्यका लागि केही गर्न मन लागेको छ ।’ मंगलेका दुई छोरा र एक छोरी गाउँकै स्कुलमा पढ्छन् ।
यस गाउँका चेपाङहरूले तयार पारेका काठका कलात्मक सामग्रीहरू पर्यटकीय नगरीमा अपत्यारिलो ढंगले निर्यात हुन थालेको छ । नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल, गोरखा, धरान, काठमाडौंमा उनीहरूको हस्तकला बढी मात्रामा निर्यात हुने वीरेन्द्रनगरस्थित काठको सामानका थोक व्यापारी मायाराम नेपाली बताउँछन् ।
उनी भन्छन्, ‘यहाँका चेपाङहरूले तयार पारेका काठका कलात्मक हस्तकलाहरू बाह्य पर्यटकहरूका लागि आकर्षण बनेको छ ।’ १० वर्षदेखि काठको हस्तकलाको थोक व्यापारमा लागेका अर्यालले यस गाउँका चेपाङहरूले बनाएका काठका हस्तकला विदेशमा पनि निर्यात गर्न लागेका छन् । ‘विदेशमा सम्पर्क भइरहेको छ । उताबाट अर्डर आउनासाथ यहा“का चेपाङहरूको काठका हस्तकला विदेश पठाइने गरिएको छ,’ नेपाली भन्छन् ।
आफूहरूले बनाएका काठका हस्तकलाको माग बढे पनि सहज रूपमा काठ नपाइने भएकाले चेपाङहरूलाई चिन्ता लागेको छ । नरबहादुर प्रजा भन्छन्, ‘आफ्ना बारीका रूखहरू सकिँदैछन् । जंगलमा जथाभावी काठ काट्न पाइँदैन ।’ दार, साँदन, खवाँरी, करम, कटहर आदि जातका काठ सामग्री बनाउन प्रयोग हुन्छन् । ‘अहिलेसम्म त आफ्नै बारीका रूखहरूले काम चलाइरहेका छौं,’ उनी थप्छन् ।