Loading... आजः १४ कार्तिक २०७७, शुक्रबार

आरन पेशा संरक्षणमा जुट्यो बैजनाथ गाउँपालिका

आरन पेशा संरक्षणमा जुट्यो बैजनाथ गाउँपालिका


काशीराम शर्मा । बाँके (बैजनाथ) । ग्रामीण क्षेत्रमा बालीघरे प्रथामा आधारित आरन पेशा महंगीले खर्च धान्न नसक्ने बन्न थालेपछि दलित समुदायका मानिस पेशा नै छोड्न थालेका छन् । प्रविधिको विकाससँगै आरन व्यवसाय संकटमा पर्न थालेको छ । त्यसो छ पुस्तौदेखि आरन पेशा गरिरहेका दलित समुदायका पाका पुराना व्यक्तिहरुले भने जेनतेन यो पेशालाई निरन्तरता दिइरहेका छन् ।
हँसिया, कुटो, कोदालो लगायतका सामाग्री कृषि कार्यका लागि मात्र नभई आरनबाट उत्पादित ऐतिहासिक तरवार, त्रिशुल, विभिन्न कलात्मक भगवानका मूर्तिहरू मठ मन्दिरमा सजाउनका लागि राखिन्छन् । तर आरन पेशामा संलग्न समुदायले यो पेशाबाट आफ्नो खर्च धान्न सक्ने अवस्था नभएपछि विस्तारै पेशाबाट पलायन हुँदैछन् ।
‘यो पेशालाई हाम्रै बालबालिकाले रुचाउन छाडे,’ बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ का विरे लोहारले भने, ‘यो पेशाबाट परिवार पाल्न नै धौधौं हुने भएपछि प्रायः पेशा नै छाड्न थालेका छन् ।’ तर, केही दलित समुदायका पाका पुस्ताले भने आफ्नो परम्परागत पेशा टिकाइराख्नुपर्ने भन्दै बालीघरे प्रथामै काम गरिरहेका छन् । परिश्रम अनुसारको ज्याला नपाएकै कारण पेशा छोड्ने गरेको लोहारले बताए ।
विगतमा मुख्य आयस्रोतको रुपमा लिइएको आरन व्यवसाय अहिले फाट्टफुट्ट रुपमा देखिने गरेको छ । आरन पेशा संकटमा पर्दा गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालो लगायतका सामान बनाउन समस्या भएको स्थानीयको भनाई छ । नयाँ पुस्ताले यो पेशालाई अंगाल्ने सम्भावना निकै कम भएपनि पाका पुरानाले भने निरन्तरता दिइरहेको लोहारले बताए ।

‘आरन पेशालाई छोड्नु भन्दा पनि अझ राम्रो व्यवसाय बनाउन सके व्यवसाय संरक्षणसँगै आम्दानीमा समेत वृद्धि हुने देखिन्छ । बाउ बाजेले पनि यही पेशा गरे तर अहिलेको पुस्ताले यो पेशालाई जोगाउन चासो दिएको देखिदैन, पुख्र्योली पेशा संकटमा परेको देख्दा दुःख लाग्छ ।’

बैजनाथ गाउँपालिका वडा नं. ८ का नरबहादुर लोहार भन्छन्, ‘६७ वर्षको उमेर भइसक्यो, मेरो परिवारमा आरन पेशा सुरु भएको अहिले पाँच पुस्ता भयो । विगत २५ वर्षदेखि आरन पेशा गर्दै आएको छु ।’ पहिलेको तुलनामा आरन पेशाबाट सोचेजस्तो आम्दानी हुन छाडेको नरबहादुरले बताए । उनले भने, ‘फलामबाट विभिन्न वस्तु निर्माण गर्न नेपाली युवापिढीले सिक्न नसक्दा आरन व्यवसाय दिन प्रतिदिन धरासायी बन्दै छ ।’

महंगी बढेसँगै आरन पेशाले खर्च धान्न मुस्किल भएको नरबहादुर बताउँछन् । ‘आरन पेशा लोप हुँदै जान थालेकोमा दुख लाग्छ,’ बैजनाथ गाउँपालिका–८ कै चक्रबहादुर लोहारले भने, ‘आरन पेशालाई छोड्नु भन्दा पनि अझ राम्रो व्यवसाय बनाउन सके व्यवसाय संरक्षणसँगै आम्दानीमा समेत वृद्धि हुने देखिन्छ । बाउ बाजेले पनि यही पेशा गरे तर अहिलेको पुस्ताले यो पेशालाई जोगाउन चासो दिएको देखिदैन, पुख्र्योली पेशा संकटमा परेको देख्दा दुःख लाग्छ ।’
फलामको हँसिया, कुटो कोदालो लगायत अन्य फलामका भाँडाकुडा बनाएर दैनिक चार देखि पाँच सय सम्मको आम्दानी गरिरहेको उनी बताउँछन् । उनले आरन पेशाबाटै भैपरी आउने घरखर्च चलाउने गरेका छन् । नयाँ पुस्ताले पुस्त्यौली पेशा नअपनाउँदा आरन पेशा लोप हुने अवस्थामा रहेका बेला बैजनाथ गाउँपालिकाले पेशालाई जोगाउन सहयोग गरेकोमा चक्रबहादुर भने खुशी छन् ।
दलित समुदायको पुस्त्यौली आरन पेशा संकटमा पर्न थालेपछि स्थानीय तह त्यसको संरक्षणमा जुटेको छ । बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो पालिकामा आरन पेशा गरेर जिविकोपार्जन गर्ने दलित समुदायको उक्त पेशालाई निरन्तरता दिनका लागि आरन वितरण गरेको छ । गाउँपालिकाका ८ वटा वडामा रहेका दलित वर्गलाई लक्षित गरेर ५३ सेट आरन सामाग्री वितरण गरेको छ ।


गाउँपालिकाले वडा नं. १ मा ६ सेट, २, ३ र ६ मा ८/८ सेट, ४ मा ६ सेट, ५ मा ७ सेट, ७ मा १ सेट र ८ मा ९ सेट आरन सामाग्री वितरण गरेको छ । वडा स्तरमा गठित दलित सञ्जालमार्फत लक्षित परिवार छनौट गरिएको दलित लक्षित समावेशी कार्यक्रमका संयोजक ठगिराम दमाईले बताए । परम्परागत रुपमा आरन पेशा सञ्चालन गरिरहेका र न्यून आय भएका परिवार छनौट गरेर आरन सामाग्री वितरण गरिएको उनले बताए ।
उनका अनुसार प्रतिसेट १२ हजार ६९० रुपैयाँको आरन सामग्री वितरण गरिएको छ । यसअघि दलित लक्षित समावेशी कार्यक्रम अनुसार सिलाईकटाई पेशा गरिरहेका लक्षित वर्गका लागि ४१ वटा सिलाई मेसिन वितरण गरिएको थियो । संयोजक दमाईका अनुसार यही कार्यक्रम अनुसार अर्को चरणमा प्रति परिवारका दरले एक सयवटा बाख्रा वितरण गरिने भएको छ ।
त्यस्तै सोही कार्यक्रम अनुसार दलितभित्र पनि छुवाछुत कायमै रहेको भन्दै जातिय छुवाछुत र छुवाछुत कसुर ऐन २०६८ ले व्यवस्था गरेका विषयहरुका बारेमा जानकारी दिनका लागि वडा स्तरमा आठ वटा तालिम सञ्चालन गरिने छ भने गाउँपालिका स्तरमा एउटा तालिम आयोजना गरिने जनाइएको छ । जस अनुसार ८ वटा वडामा ५० जनाका दरले ४०० जना र पालिकास्तरमा ५५ जनालाई तालिम दिइने संयोजक दमाईले जानकारी दिए ।