Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

डेढ सातामा तीन सय सात ‘चोर’ पक्राउ !

डेढ सातामा तीन सय सात ‘चोर’ पक्राउ !

काठमाडौं । महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए ।
काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । ‘उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोशाकमा प्रहरी खटाई उक्त अभियान सञ्चालन गरेका हौँ,’ उनले भने ।
सो अवस्थामा प्रहरीले १९ जनाबाट रु २९ हजार ७००, फलामको रड र साइकल दुई दुई थान, मोटरसाइकल र स्कुटर एक एक थान, ३०९ ग्राम चरेश, २१२ थान नुर्फिन, २१२ थान फेनार्गन, २८० थान नाइट्रेपाम, ५०० दरका भारतीय रुपैयाँ दुई हजार थान बरामद गरेको छ । पक्राउ परेकामध्ये ५३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको र बाँकी २५४ जनालाई अनुसन्धानपछि छाडिएको महाशाखाले जनाएको छ ।