Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

बढ्यो आत्मविश्वास, ‘मिलेर गरे दुख पनि सजिलै टार्न सकिन्छ’

बढ्यो आत्मविश्वास, ‘मिलेर गरे दुख पनि सजिलै टार्न सकिन्छ’


रितु खड्का पाल/कञ्चनपुर

दुई सन्तानकी आमा चन्द्रा थापा, उमेरले ३० कटिन् । कञ्चनपुरको महाकाली नगरपालिका–६ शान्ति टोलमा बस्दै आएकी चन्द्राका श्रीमान् घरखर्च चलाउनकै लागि विदेशिएका छन् । सन्तानको शिक्षा र भविष्य सपार्न विदेशिएका उनका श्रीमानको कमाइले मात्रै घर धान्न त मुस्किलै पर्छ ।
सन्तानको पालनपोषणमै सिमित रहेकी चन्द्रा भन्छिन्, ‘आर्थिक अभाव भएको वेला सिमित रुपैयाँले पनि ठुलो गर्जो टार्दोरहेछ ।’ सामान्यरुपमा करेसाबारीमा जेनतेन काम गर्ने चन्द्रा नेपाल रेडक्रस सोसाइटीले पुनर्जन्म दिएको महसुस गर्छिन् । उनी रेडक्रसलाई धन्यवाद दिँदै भन्छिन्, ‘समाज सेवा त रेडक्रसले पो गर्दोरहेछ ।’
महाकाली नदि समुदायमा आधारीत समावेशी विपद जोखिम न्यूनीकरण परियोजना सञ्चालन गरेसँगै शान्ति टोलबासीलाई भगवान नै आँगनमा आएजस्तो महसुस भएको चन्द्राले बताइन् । ‘यो परियोजना मेरो लागि मात्रै नभएर टोलबासीकै लागि भगवान भएर आएको छ,’ चन्द्राले प्रशंसा गर्दै भनिन् ।
समुदायमा आधारीत समावेशी विपद जोखिम न्यूनीकरण परियोजना सञ्चालनका लागि शान्ति सामुदायीक विपद व्यवस्थापन समिति गठन भएको छ । परियोजनाले शान्ति टोलबासीलाई सामुदायिक एकतामा समेत बाधिदिएको छ । टोलमा सद्भाव कायम भएको छ, मिलिजुली काम गर्नुपर्छ भन्ने सन्देश फैलिएको छ ।
परियोजना सञ्चालन भएपछि शान्ति टोलबासीहरु सचेत भएका छन् । जैविक तटबन्धनसँगै रेडक्रसले अन्य सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरेपछि समुदायलाई निकै लाभ भएको चन्द्राले बताइन् । परियोजनाले उनीहरुलाई समाजमा मिलेर बस्नुपर्ने सन्देश समेत दिएको छ । चन्द्रा भन्छिन्, ‘रेडक्रसकै कारण हामीहरु समाजमा मिलिजुली बसिरहेका छौं । मर्दा र पर्दा सहयोग गर्ने गरेका छौं ।’

‘रेडक्रसकै कारण हामीहरु समाजमा मिलिजुली बसिरहेका छौं । मर्दा र पर्दा सहयोग गर्ने गरेका छौं । पैसाको महत्व दुख पर्दा थाहा हुँदोरहेछ ।’

चन्द्राका अनुसार समुदायका हरेक व्यक्ति सुखदुखका साथी बनेका छन् । चन्द्राले भनिन्, ‘बैशाख ७ गते कामबाट फर्केर घरभित्र जाँदा सर्पले टोक्यो । आफूसँगै बच्चाहरु पनि बचाउँ भन्दै कराउन थालेपछि समुदायकै पहलमा उपचार खर्चको जोहो गरेर भारतको खटिमा पुर्याएर ३५ दिनको उपचारपछि मलाई समुदायले नै घर फर्कायो । समुदायकै कारण आज म पूर्णरुपमा स्वस्थ भएकी छु ।’
उपचारका लागि आफूसँग पैसा नभएपछि सुदायको पहलमा रेडक्रस सोसाइटीकी सामाजिक परिचारिका करुना थापाको सहयोगमा शान्ति सामुदायिक विपद व्यवस्थापन समितिको बैठक बसालेर उपचार खर्चका लागि आफूलाई सहयोग गर्ने निर्णय गरेकोमा चन्द्राले खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘श्रीमान विदेशमा भएका कारण तत्काल पैसा जुटाउन सम्भव थिएन । रेडक्रस र समुदायले पहल नगरेको भए आज म यो दुनियाँमा हुदैन्थे होला ।’
‘मलाई तत्काल अस्पतालसम्म लैजानका लागि समितिमार्फत २ हजार रुपैयाँ संकलन भएको रहेछ,’ चन्द्राले भनिन्, ‘पैसाको महत्व दुख पर्दा थाहा हुँदोरहेछ ।’ चन्द्राले समितिको सल्लाह अनुसार उक्त रकमको सट्टा सो बराबरको गहुँ दिएको बताइन् । अहिले समुदायमा आइपर्ने विपद् व्यवस्थापनका लागि मुठ्ठीदान अभियान चलिरहेको छ ।
शान्ति सामुदायिक विपद व्यवस्थापन समितिले आगामी दिनमा आइपर्ने विपदमा परेका समुदायका नागरिकहरुलाई राहत दिनका लागि प्रतिघर १ केजी गहुँ उठाएर मुठ्ठीदान अभियान चलाइरहेको छ । ‘रेडक्रस सोसाइटी र समितिका व्यक्तिहरु मुठ्ठीदान अभियान लिएर आउनुभो, मैले १ केजीको सट्टा ४ केजी दिए । मलाई निकै खुसी छु, मेरो जीवन समुदायका लागि हो,’ चन्द्रा भन्छिन् । उनले मिलेर गरे दुख पनि सजिलै टर्नेमा आत्मविश्वास बढेको भन्दै खुसी व्यक्त गरिन् ।