Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित

राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित


शेरबहादुर सिंह । कञ्चनपुर । कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइकटाइको काम गर्छिन् । आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बनेकी रानाको परिवारको खर्चसमेत सिलाइकटाइबाटै चलेको छ । धनगढी उपमहानगरपालिकाको ‘कैलाली गाउँ’मा माइतीघर छँदा सिलाइकटाइको काम सिकेकी राना विवाहपछि उक्त सीप दैनिकी धान्ने औजार बनेको बताउँछिन् ।
‘विवाहपछि केही समय घरमै बसेर पनि गाउँलेको लत्ताकपडा तथा स्कूल डे«सहरु सिलाइ गरेँ,’ उनले भनिन्, ‘श्रीमान् फर्निचरको काम गर्नुहुन्छ, म सिलाइको ।’ दम्पतीसित भएको सीप नै उनीहरुको परिवारको लालनलापनदेखि खर्च टरेको छ । सिलाइको कामसँगै पछिल्लो समय गाउँका महिलालाई समेत सिलाइकटाइको प्रशिक्षण दिँदै आएकी माया राना पछिल्लो समय राना थारू समुदायका युवतीसमेत सीपमूलक काममा आकर्षित भइरहेको बताउँछिन् ।
‘अहिले मेरै पसलमा समेत राना समुदायका युवती सिलाइको काम सिक्दैछन्,’ उनले भनिन्, ‘आफू सामान्य लेखपढ भएपनि सीपकै कारण अहिले अरूलाई पनि सिकाउने भएँ । परिवारको सामान्य अवस्था हुँदा ५ कक्षामै विद्यालय छाडेँ । पढाइ नसके पनि अभिभावकले व्यावसायिक सीप आर्जन गर्न लगाएँ ।’ गाउँको सिलाइ पसलमा खड्डा, कंकड, धनसिंगा, ‘ख’ गाउँ, बीचफाँटाबाट समेत स्थानीयवासी आउने गरेको उनले बताइन् ।
‘गाउँमा छिटोछरितो सेवाग्राहीको काम गरेकै कारण व्यापारको दायरा बढ्दै गयो,’ रानाले भनिन्, ‘जेठ वैशाखमा स्कूलको भर्नाका बेला निकै कामको चाप हुन्छ ।’ उनले सिलाइकटाइबाट मासिक रु दश हजारभन्दा बढी आम्दानी हुने गरेको बताइन् । ‘सीप भए लगानी थोरै भएपनि आम्दानी राम्रो हुँदोरहेछ,’ रानाले भनिन्, ‘दातृ निकायबाट सहयोग मिले गाउँमा सिलाइको दक्ष प्रशिक्षक बन्ने सोचमा छु ।’ सिलाइबाट आम्दानी भएको रकम उनी मासिक आमा समूहमा बचतसमेत गर्छिन् ।
‘दुईवटा समूहमा मासिक रु ४०० बचत गर्ने गरेको छु,’ उनले भनिन्, ‘हाम्रो समुदायमा सिलाइकटाइको काम गर्ने युवती बढ्दै गएका छन् ।’ उनले राना समुदायमा युवा पुस्तामाझ भने परम्परागत पहिरन लोप हँुदै गइरहेकोप्रति चिन्ता व्यक्त गरिन् । ‘गाउँमा बुढी आमाहरु परम्परागत पहिरन घरमै उत्पादन गरेर लगाइरहेका छन्,’ उनले भनिन्, ‘युवापुस्ताले समेत पहिरन संरक्षणमा ध्यान दिनु जरुरी छ ।’
त्यसैगरी, सोही गाउँकै २१ वर्षीया सुमित्रा राना पनि प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएर सिलाइ कटाइ नै गर्छिन् । विगत सात महिनादेखि सिलाइको काम सिकिरहेको बताउँदै उनले पनि सीप सिकेर व्यापार गर्ने योजना रहेको बताइन् । ‘सीप हातमा भएपछि त केही गर्न सकिन्छ भन्ने मनोबल पनि उच्च हुँदोरहेछ,’ सुमित्राले भनिन्, ‘घरमा बेरोजगार भएर बस्नुभन्दा सीप सिक्न मन लाग्यो ।’ विगतमा घरमा सिलाइकटाइ गरेबापत सिलाउनेलाई अन्न दिने प्रचलनसमेत हट्दै गएको उनले बताइन् ।
‘सिलाइ गरेबापत पहिले दमाईंहरुलाई वार्षिक धान, गहुँ दिने गरिन्थ्यो,’ उनले भनिन्, ‘पछिल्लो दशकयता हाम्रो समुदायमा पनि सीप सिकेर आफैँ सिलाउन थालिसके ।’ त्यसैगरी, स्थानीयवासी देवकी राना पनि सुमित्रासित सिलाइको काम सिक्दैछिन् । ‘थोरै लगानीमा सीप भए व्यवसाय गर्न सकिने भएर सिलाइको काम सिक्दैछु,’ २० वर्षीया देवकीले भनिन्, ‘हातमा सीप भए बेरोजगार हुनुपर्ला र ?’
उनले पनि घरका अभिभावकको सल्लाहमा फुर्सदको समयमा सिलाइको काम सिकिरहेको बताइन् । उनले राना र थारू चौधरी समुदायका युवायुवती सीपमूलक काममा अग्रसर रहेको बताइन् । ‘पहिले अरू समुदायले मात्रै यो काम गर्थे,’ उनले भनिन्, ‘आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सबैको ध्यान सीपमूलक कामले तान्दै गयो ।’